तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण

डिसी नेपाल
१० असार २०७८ २३:०२

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका बिरुवा वितरण शुरु गरेको छ । हरेक वर्ष ५० हजार बिरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य बिरुवा रोप्ने योजना छ । बिरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका बिरुवा मा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका बिरुवाको लगत माग गरेकामा सोही मागअनुसार फलफूलका बिरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायत फलफूलका बिरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा अभियान चलाएको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोहीअनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए । पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उनले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न सङ्घसंस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताए ।

फलफूलका बिरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पु¥याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे। नगर प्रमुख घिमिरेले रोपिएका बिरुवाको उचित हेरचाह गर्न समेत सबैलाई आग्रह गरे । तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच बिरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायत हरियाली प्रवद्र्धनका काम गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *