ट्रम्पका वकिलको लाइसेन्स नै सस्पेन्ड गर्ने अदालतको आदेश

डिसी नेपाल
११ असार २०७८ ०:५६

वासिंगटन डिसी। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका विशेष कानुनी सल्लाहकार तथा न्यूयोर्क सहरका पूर्वमेयर रुडी जुलियानीको कानुन व्यवसायी लाइसेन्स सस्पेन्ड गरिएको छ।

मुलुकवासी र सरकारी निकायलाई ढाँटेको अभियोगमा न्यूयोर्कको एक पुनरावेदन अदालतले जुन २४ तारिक विहीबार उनको कानुन व्यवसायी लाइसेन्स निलम्बन गर्ने आदेश दिएको हो।

अदालतको आदेशमा सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पको वकिलको हैसियतमा जुलियानीलाई गलत र झूठो तर्क प्रस्तुत गरेको आरोप लगाइएको छ। अव जुलियानीले सस्पेन्ड फुकुवा नभएसम्म अमेरिकामा कानुन व्यवसाय गर्न पाउने छैनन्।

अमेरिकी संचारमाध्यमहरुका अनुसार, राष्ट्रपतीय निर्वाचनमा ट्रम्प हारेपछि उनको हारलाई उल्टाउन गलत, झूठो र दिग्भ्रमित पार्ने तर्कहरु प्रयोग गरेकोमा जुलियानीको लाइसेन्स सस्पेन्ड गरिएको हो। आदेशमा अमेरिकी प्रजातन्त्रको गहना भनेकै स्वच्छ र निष्पक्ष निर्वाचन भएको र त्यसमा खलल पुर्याउने वा अविश्वास गर्ने अवस्था ल्याउने गरी गरिएका झूठा तर्कहरु र दिग्भ्रमित पार्ने कामले निर्वाचनप्रति जनताको भरोसा गुम्नेमात्र नभई स्वतन्त्र समाजको कार्यप्रणालीलाई नै हानी पुर्याउने भएकाले जुलियानी लाइसेन्स सस्पेन्ड गर्ने गरिएको उल्लेख छ।

जुलियानीले अदालत, जनप्रतिनिधिहरु र जनतालाई दिग्भ्रमित गर्ने काम गरेको भन्दै कानुन व्यवसायीहरुको संस्था एटर्नी डिसिप्लिनरी कमिटीले उनको लाइसेन्स रद्द गर्नका लागि न्यूयोर्क पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *