साहित्यकार बन्न उद्देश्य प्रष्ट हुनुपर्छ : प्रगति राई

तर्कबहादुर थापा
१२ असार २०७८ ७:१६

नेपाली साहित्यको उपन्यास विधामा कलम चलाउने श्रष्टाहरुमा प्रगति राई पनि एक हुन्। साहित्यमा कविता र उपन्यासलाई एउटै बाटोमा लैजान सक्ने उनका उपन्याससँगै कविता संग्रह पनि बजारमा छन्।

कविता तत्कालको प्रतिक्रिया जनाउने माध्यायमका रुपमा लिने श्रष्टा राईका २०६२ सालमा बादी विज्ञप्ति कविता संग्रह, २०६९ सालमा लेखककी स्वास्नी उपन्यास र २०७४ मा बिर्सिएको मृत्यु प्रकाशित छन्। उनको थाङ्ग्रा उपन्यास प्रकाशनको क्रममा छ।

साहित्यकार बन्नका लागि उद्देश्य प्रष्ट हुनु पर्छ भन्ने धारणा राख्ने राईले लेखककी स्वास्नीकै निरन्तरताको रुपमा थाङ्ग्रा बजारमा ल्याउन लागेकी हुन्। लेखककी स्वास्नी बालापन, थाङ्ग्रालाई युवा अवस्था बताउने राईले उक्त कृतिकै बुढ्यौली पनको पनि परिकल्पना गरिरहेकी छन्।

विदेशमा रहेकाहरुको वास्तविकतामा आधारित बिर्सिएको मृत्युको पनि अर्को संस्करणको तयारीमा छन् राई। उनै श्रष्टा राईसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोनाका कारण भएको निषेधाज्ञा र लकडाउनमा प्रगतिको के प्रगति भयो त?

कोरोनाका कारण भएको लकडाउनले पाठकलाई दिन लागेको थाङ्ग्रा अझै माझिने अवसर मिल्यो। धेरै शुद्धाशुद्धी हेर्ने अवसर पनि पाएँ। लकडाउन नभएको भए एक वर्ष पहिला नै निस्किने कृति हो।

लकडाउनका कारण निकाल्न सकिएन। बरु त्यसलाई माझ्ने र परिस्कृत गर्दै लैजाने काम भयो। केही दृष्यहरु पनि परिवर्तन गरियो। परिदृष्यसँगै पात्रहरु पनि परिवर्तन भएको छ। अझ यो लकडाउनले मेरो थाङ्ग्रालाई परिपक्क बनाउने अवसर दियो।

भनेपछि लकडाउनको अवधिभरी थाङ्ग्रासँग मात्र खेल्नु भयो?

मेरो बानी नै हो। मैले जहिले पनि आफूसँग भएको समयलाई कसरी सदुपयोग गर्ने भन्नेबारे सोची रहेकी हुन्छु। मैले योजना अनुसार लकडाउनका बेला यही किताबलाई चलाइ रहेँ। यसैसँग खेलेँ।

लकडाउनले अरु योजनाबाट पनि समय बच्यो, मैले त्यो समय पनि थाङ्ग्रामा नै खर्च गरेकी छु। त्यो बाहेक सिक्दै गरेका लेखकहरुलाई पनि सहयोग गर्ने र अन्य सम्पादनका काम पनि गरिरहेकी थिएँ। जे होस् लकडाउन मेरो लागि फलिफाप नै भयो भन्नु पर्छ।

कभर सार्वजनिक गरेपछि पनि थाङ्ग्रा बजारमा आएको छैन, कतिले आउँछ नि ?

मानिसलाई अस्पताल चाहिएको छ, खाने कुरा चाहिएको छ, राहत र सहयोग चाहिएको छ। यो बेलामा सकेको सहयोग त गरेँ। तर, नागरिकलाई चाहिएको एउटा कुरा हामीले अर्को कुरा किन दिने भन्ने लाग्यो।

अहिले किताब बजारमा ल्याउँदा नैतिक जिम्मेवारीको पनि प्रश्न उठ्ने भयो। महामारीलाई टारौं, महामारीबाट मुक्त भयौं कि भन्ने हुन थाल्यो भने ल्याउने कि भन्ने भएको छ। दशैं भन्दा पहिला बजारमा आउँछ थाङ्ग्रा।

श्रष्टाहरुकै शब्दलाई सापटी लिने हो भने लकडाउनमा लेख्ने मुड नै चलेन, यहाँको मुड चलेर हो वा थाङ्ग्रालाई बाध्य भएर खेलाउनु भयो?

म मुडमा भन्दा पनि योजनामा काम गर्थेँ। मलाई विद्यालयमा पढाउँदा लेसन प्लान बनाउने सिकाइएको थियो। ४५ मिनेटको कक्षाको समयावधिमा हरेक १ मिनेटको समयलाई सदुपयोग गर्न सिकेँ अहिले पनि मैले मेरो हरेक समयलाई यसरी नै प्रयोग गर्दै आएकी छु।

यो दिनमा के काम गर्ने, यो हप्तामा के काम गर्ने र यो वर्षमा के काम गर्ने भन्ने योजना हुन्छ। त्यो योजना अनुसार नै मैले काम गर्छु। त्यसमा सजिलोको लागि यो भएन भने त्यो काम गर्ने भन्दै वैकल्पिक योजना पनि बनाउने गरेकी छु।

त्यसैले मलाई मुडले मेरो योजना अनुसारको काममा कुनै प्रभाव पार्दैन। म साथीहरुलाई पनि यही कुरा सुझाउन चाहन्छु कि हामीले मुड भन्दा पनि योजनामा काम गर्नु पर्छ। योजनाले गरेको कामले जीवनलाई पनि सफल बनाउँछ।

कविता संग्रह निकालेको मान्छे उपन्यास तिर आउनु भयो, कसरी जाँगर चल्यो, यता आउनको कारण के होला ?

उपन्यास र कवितालाई एउटै बाटोमा देख्छु मैले। घरी के गर्ने, घरी के गर्ने मात्र न हो। समयको माग र विचार सम्प्रेशण गर्ने तरिका मात्र फरक हो। कविता लेखेर उपन्यासमा आएकी हैन। उपन्यास लेख्दा लेख्दै कविता पनि लेखेकी हुँ। प्रकाशन मात्र पहिला भएको हो।

मैले कवितालाई ‘पकेट मनी’ जस्तै प्रयोग गर्छु। जतिबेला पनि खर्च गर्न मिल्ने। साहित्यकार श्रवण मुकारुङले पनि बेलाबेलामा उपन्यासकारलाई घोचिरहनु हुन्छ, कार्यक्रममा गएर यिनीहरुले उपन्यास पढेर सुनाउँछन् भनेर।

मैले त्यस्तो अवस्थालाई प्रयोग गर्दै कविता लेख्छु। कार्यक्रममा गएको बेला सुनाउन कै लागि पनि कविता लेख्छु। कार्यक्रममा २÷४ वटा कविता बोकेर गयो भने सजिलो पनि हुने गर्छ। कविता सम्भावना प्रफुटन गर्ने माध्याम लाग्छ भने उपन्यास कार्यान्वयन पनि गरेर जान सकिने माध्यम हो। त्यसैले मैले कविता र उपन्यासलाई एउटै बाटोमा लगिरहेकी छु।

कविता र उपन्यास लेख्दा केही फरक अनुभूति हुन्छ ?

कविता लेख्दा आफ्नो अनुभूतिलाई तत्काल रियाक्सन गर्न मिल्छ। हामी मासमा उभिएर बोलेको जस्तै लाग्छ कविता तर, उपन्यासमा नाटकीय रुपमा, भिडियोसहित प्रस्तुत हुनुपर्छ। कविता लेख्दा छोटो समयमै पनि लेख्न सकिन्छ।

तर उपन्यासका लागि धेरै वर्षहरु खर्च गर्नु पर्ने हुनसक्छ। जस्तो तपाईंलाई उपन्यास लेख्न १ वर्ष लाग्छ भने त्यसको तयारी ३ वर्ष पनि लाग्न सक्छ। त्यसैले मलाई एउटा उपन्यास लेख्न ५ वर्ष लाग्ने गरेको छ।

बजारमा आउनै लागेको गरी तीन वटा कृतिहरु लेख्दा कुन कृतिलाई यहाँको हातले न्याय दियो ?

लेखककी स्वास्नी र बिर्सिएको मृत्यु फरक फरक विषयका उपन्यासहरु हुन्। पाठकहरु पनि फरकफरक हुनुहुन्छ। लेखककी स्वास्नीका पाठक र बिर्सिएको मृत्युका पाठकहरुको सबै कुरा फरक छ। एउटा कृतिका पाठकले अर्को कृतिलाई नरुचाउने अवस्था पनि छ।

लेककी स्वास्नी पढेको पाठकले बिर्सिएको मृत्युलाई झुर लेखेको भन्छन्। पाठकहरुले हो न्याय दिएको कुरा छुट्याउने। आफूले लेखेका सबै कृतिलाई उत्तिकै मेहेनत परेको हुन्छ। थाङग्रालाई लेखककी स्वास्नीको निरन्तरताको रुपमा लिएको छु।

प्रतिक्रिया कस्तो आउँछ त्यसपछि यहाँ निर अन्याय भएछ भनौंला। लेखककी स्वास्नी कुनै व्यक्तिको बाल्यकाल हो भने थाङ्ग्रा यसको युवा अवस्था हो।

यहाँको लेखाइमा के कुराले अवरोध गर्छ ?

मैले भने नी, म योजनामा काम गर्छु। मैले योजनामा काम गर्ने बेलामा धेरै कुराहरु केही पनि सोच्दिन। आफ्नो बच्चाहरुको स्वास्थ्य र आफूलाई कसरी स्वास्थ्य राख्ने भन्ने कुरा सोच्ने हो। लेखनको हिसाबमा यति मुर्ख छु।

म कोरियामा हुदाँ होस्, हङ्कङमा हुदाँहोस वा गाउँमा, किताब लेखि नै रहन्थे। किन भने म लेखिरहेको समयमा केही पनि गर्दिन। म योजनामा काम गरिरहेका बेला जसले जे भने पनि मलाई फरक पर्दैन।

नेपाली समकालीन उपन्यासको अवस्था कहाँ छ ?

मलाई लाग्छ साहित्य दुई तरिकाबाट लेखिन्छ। एउटा लेखनले यथार्थतामा लेखेको हुन्छ त्यो तथार्थ जीवनको चित्रणबाट पाठकले धेरै कुरा सिक्ने हुन्छ। अर्को खाले चित्रण गरिएको कुरालाई कसरी समायोजन, परिमार्जन हुँदै समाधानमा जाने भन्ने हुन्छ। अहिलेसम्म नेपाली उपन्यास यथार्थवादमा अघि बढिरहेको देख्छु। यथार्थ चित्रण गरिएका कृतिहरुमात्र बाहिरिएका छन्।

सबैले नेताहरुलाई गाली गरिरहेका छौं। देशको स्थिति यस्तो छ भनिरहेका छौं। तर, हामीले हाम्रो तर्फबाट के गर्न सक्छौं भन्ने कसैले लेख्न सकिरहेका छैनौ जस्तो लाग्छ। समाजका लागि एउटा मान्छेले कति गर्न सक्छ भन्ने खालका साहित्य कम भएका हुन कि झैं लाग्छ। समग्र भन्ने हो भने नेपाली समकालीन उपन्यासले समाजको चित्रण गरेको छ, समाजलाई मार्ग दर्शन गर्न सकेको छैन।

लेखकी स्वास्नीलाई सम्झाना गरौं न!

त्यसमा केही पात्रहरु वास्तविक पनि छन्। म आफै पनि लेखककी स्वास्नी हुँ। काठमाडौंको बसाई, गाडी चड्न, प्लेन चड्न, बिदेश जान सबैका लागि आउने ठाउँ भयो। हाम्रो फ्लाइट त सधैं कार्यक्रम हल जस्तै हुन्थ्यो।

त्यो बेलामा मलाई एउटा तत्वज्ञान आयो। आँफूले बिताएका हरेक पल र अवस्थाहरुलाई अभिलेखीकरण गरेर राख्न सकेको अवस्थमा त्यसले केही महत्व राख्छ। म पनि त्यो अवस्थामा दैनिक हुने ग्यादरिङको परिस्थितिबाट आफूलाई अलग राख्न सकेकी पनि थिएन।

मैले पछि त्यही कुरालाई कथा बनाउँछु भन्ने सोचेँ। पछिल्ला दिनहरुमा सबै कुरा रमाइला हुन थाले। लेककी स्वास्नी साया र लेखककी स्वास्नी भन्ने दुईवटा कथा बनाएकी थिएँ। त्यही आफ्नो अफ्ठेरो परिस्थितिको अभिलेखीकरणलाई मिक्स गरेको हुँ।

थाङ्ग्रालाई कसरी विकसित गर्नु भएको छ त?

लखेककी स्वास्नीकै पात्रहरु छन्। त्यहाँको पात्र सुशान्तले आफूलाई परिपक्व बनाएको छ। उसले उठाएका मुद्दाहरु परिस्कृत हुँदै आएका छन्। अझै परिपक्क भएका छन्। अर्को कुरा त्यहाँ भएका सुशान्तका छोरीहरु पनि हुर्किदै गएका छन्।

उनीहरु उनीहरुले आफूलाई पनि परिस्कृत गर्दै आएका छन्। समाजको दिनै पिच्छेको बाणलाई सहँदै आएका हुन्छन्। अहिले ती छोरीहरुले आएका प्रश्नका बाणहरुलाई सहेर बसेका छन् कि प्रतिकार गरेका छन् कि भन्ने विषयवस्तु नै छ।

कवितालाई मुख्य विधान नबनाएर उपन्यासलाई किन बनाउनु भयो ?

कविताले जे विचार दिनु पर्ने हो त्यो विचारलाई बिम्बहरु प्रयोग गरेर अलिकति बौद्धिक व्यक्तिहरुले मात्र बुझ्ने हिसाबले दिन्छ। उपन्यासमा त्यही विषयवस्तुलाई कथानक तरिकाले बुझाउन सकिन्छ। मैले बुझाउनु पर्ने पाठकहरुलाई विभिन्न खालका प्रलोभनमा पारेर विषयवस्तु बुझाउनु पर्छ।

हसाउँनु पर्छ, रुवाउनु पर्छ, त्यसलाई पढी रहँदा पनि भिडियो हेरिरहेको, वा सोही ठाउँमा आफू उपस्थित भइरहेको अनुभूति गराउनु पर्छ। त्यसैले पनि मैले उपन्यासलाई आफ्नो मुख्य विधा बनाएको हो।

एउटा विवादित विषयवस्तुमाथि कुरा गरौं, पुरस्कार साटासाट हुन्छ भन्छन् नि ?

मैले पुरस्कार पाएकी पनि छैन। सायद साटासाट गर्न नसकेर पनि हो कि? यो विषय पुरस्कार पाइरहने साथीहरुलाई सोधेपछि नै उत्तर आउथ्यो कि? मलाई पनि लागि रहेको हुन्छ। सम्मानहरु पाइरहेका हुन्छन् तर, किन पाए भन्ने विषय पनि थाहा हुँदैन।

किन पाए भन्ने पनि थाहा हुँदैन। व्यक्तिलाई त्यतिकै उपहार दिए कि झैं पनि लाग्छ। त्यो विषयले समाजलाई कुनै अफ्ठेरो पार्ने विषय पनि नभएकाले यसमा धेरै बहस नगरौँ भन्ने लाग्छ।

अन्त्यमा साहित्यकार बन्न के कुरा चाहिन्छ?

मैले देखेको मान्छेहरु २ प्रकारले साहित्यकार हुन्छन्। पहिलो कसैसँग भन्ने कुरा धेरै छ। कथा फरक छ। उसले आफ्नो कथालाई भन्न चाहन्छ। र, अर्को कुरा उसले अरुको हाइहाइ देखेको छ। अरु जस्तै चर्चित हुन चाहन्छ।

साहित्यकार बन्नका लागि उद्देश्य पनि लिनु पर्छ। आफूले लेख्न खोजेको विषयवस्तुले समाजमा कस्तो खालको प्रभाव पार्छ, समाजलाई सकारात्मक तरिकाले डोर्याउन कति सहयोग गर्छ। मैले उदाहरणका लागि राधा पौडेलको नाम लिएँ।

उहाँले महिनावारीलाई उठान गर्नु हुन्छ। महिनावारीले पश्चिम नेपालका महिलाहरुले पाएको दुःखलाई उहाँको साहित्यमा आउँछ र समाजले यो विभेद गर्नु हुन्न भन्ने कुरा सिक्छ। उहाँले महिनावारीलाई प्राकृतिक धर्मका रुपमा समाजलाई बुझाउने कोसिस गर्दै हुनुहुन्छ। त्यसरी हरेक साहित्यकारको पनि आफ्नो उद्देश्य प्रष्ट हुनु पर्छ भन्ने मलाई लाग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *