नेपालमा कोरोना : संक्रमण घट्यो, जोखिम कायमै

तर्कबहादुर थापा
१६ असार २०७८ ९:२३

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा १ दशमलव ५ प्रतिशत संक्रमणदर रहेको छ। नेपालमा निको हुनेको प्रतिशत पनि अन्य देशहरुभन्दा बढी रहेको पाइन्छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३ प्रतिशत रहेको छ।

प्रदेश अनुसार होम आइसोलेसनमा बस्नेहरुको संख्यामा आएको कमीका कारण नेपालमा कोरोनाको संक्रमण कम भएको भन्न सकिने अवस्था छ। हाल जम्मा ३२ हजार ३ सय ४९ जना होमआइसोलेसमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना, आइसीयूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना रहेका छन्।

कोरोना संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने अझै कायम रहेका जनस्वास्थ्यविद्हरुको भनाइ छ। लामो समयसम्म गरिएको निषेधाज्ञा खुकुलो हुनु, असारमा खेतिपातिको काम पनिसँग भएकाले पनि जोखिम कायम रहेको उनीहरुको तर्क छ।

‘कोरोना संक्रमणको दरमा कमी आएको हो,’ भक्तपुर अस्पतालका डा. सुनिल डङ्गोलले भने, ‘आजभोलि पहिला जस्तो कोरोनाका विरामीहरुको फ्लो छैन।’

कुनै बेला ठाउँ नपाइने भक्तपुर अस्पतालमा आजभोली कोरोनाकै विरामी कम आउने गरेको उनको भनाइ छ। ‘हामीले कोरोना कम भयो भन्ने सोचेका छौं। तर जोखिम कायम छ,’ डा. डङ्गोलले भने, ‘वर्षा याम छ। मान्छेहरु खेतिपातिमा व्यस्त हुन्छन्। यो बेलामा पानीमा भिजेर पनि आउछन्। हल्का खोकीलाग्यो भने, ज्वरो आयो भने काम गरेर वा भिजेर हो भन्ने ठानेर घरमै बसिदिन सक्छन्। त्यसो भयो भने भित्रभित्र कोरोना फैलिने डर अत्याधिक रहन्छ।’

लामखुट्टेको पनि समस्या हुने, डेँगु र कोरोनाको लक्षण मिल्दो जुल्दो हुने भएका कारणले पनि पहिले भन्दा अत्याधिक सजक रहन उनले अनुरोध गरेका छन्। उनले भने, ‘कोरोना मात्र होइन्, यो बेलामा डेँगुको पनि प्रकोप हुने भएकाले अरु बेला भन्दा धेरै सचेत र सजग हुनु पर्ने अवस्था छ। हामी लामखट्टले नटोकोस भनेर शरिर ढाक्ने लुगा र कोरोना नफैलियोस भनेर मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य नै भएको छ।’

कोरोना संक्रमणको दोश्रो लहर नेपालमा आउनु पूर्व पनि लकडाउन, निषेधाज्ञा जस्ता टुल्सहरु प्रयोग गरिएका थिएनन्। राजनीतिक कार्यक्रमहरु बढी गरिए, विभिन्न ठाउँबाट मान्छेहरुलाई काठमाडौं ल्याइयो, अथवा भनौं नेपालभरीका मान्छे जम्मा पार्ने काम भएपछि कोरोना भुसको आगो झै भित्रभित्र फैलियो र दोश्रो लहरमा महामारीको रुप लियो।

संक्रमण घट्यो, गाडी खुले भन्दैमा कोरोना सकिएको हो भनेर नबुझ्न सबैलाई डा. डङ्गोल अनुरोध गर्छन। उनले भने, ‘हामीले पुरानो गल्तिहरु दोहोरिन दिनु हुँदैन्। जसरी पनि स्वास्थ्यको मापदण्डलाई पालना गर्नु नै पर्छ। गाडी खुले, ब्यापार खुल्यो वा निषेधाज्ञा भएन भनेर स्वास्थ्यको मापदण्ड अपनाउन छोडेको अवस्थामा पुनः अर्को लहरले आक्रमण नगर्ला भन्न सकिदैन।’

भारतमा भेटिएको डेल्टाप्लस भेरियन्टले तेश्रो लहरको अनुमान गरिएको छ। नेपाल र भारतको खुल्ला सीमाना भएका कारण र कोरोना सरुवा रोग भएकाले पनि नेपाल उक्त जोखिमबाट टाढा नभएको विज्ञहरुको भनाइ छ। विज्ञहरुले खोपको दुई वटै मात्र शतप्रतिशत नागरिकलाई नलगाइ कोरोना महामारीको अन्य भयो भन्न नसकिने बताएका छन्।

डा. डङ्गोलले भने, ‘हामीलाई थाहै छ। नेपालमा अहिलेसम्म १० प्रतिशतले पनि खोप लगाउन पाएका छैनन्। कोरोना भेरियन्टहरु म्यूटेन्ट भएर देखा परिरहेका छन्। हामीले शतप्रतिशतलाई खोप लगाएपछि मात्र महामारी कम भएको, डराउनु पर्ने अवस्था नरहेको भन्ने बुझ्छौ। खोप नलगाउदासम्म त महामारी पनि कायम छ। डराउनु पनि अत्यावश्यक छ।’

नेपालमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै हालसम्म ९ हजार बढीले ज्यान गुमाएका छन्। कोरोना मृत्युको कारक बन्ने गरेको छ। रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्ने भएकाले कोरोना संक्रमण भएपछि अन्य रोगहरुले आफूलाई अझै बलियो बनाएर लैजाने र मान्छेको मृत्यु हुने डा. डङ्गोलको भनाइ छ।

हालसम्म नेपालमा ७ लाख ५४ हजार ५ सय ४२ जनामा दोश्रो डोजको खोप लगाएका छन् भने २५ लाख ९९ हजार ५ सय ५३ जनाले पहिलो डोजको खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो डोजको खोप लगाएका धेरैले दोश्रो डोजको खोप लगाउन पाएका छैनन्। गत माघमा खोप अभियानको सुरुवाति भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको सुरुवातिमा ३ महिनाभित्र शतप्रतिशत खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *