निधिसँग लगातार वार्ता गरेपछि शशांक र प्रकाशमानसँग पौडेल असन्तुष्ट

डिसी नेपाल
१६ असार २०७८ २०:५६

काठमाडौं। नेपाली काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन हुने भएपछि पार्टीको नेतृत्व लिन आकांक्षी नेताहरुबीच द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलहरु भइरहेका छन्। काँग्रेसमा हालसम्म तीनवटा समूह क्रियाशील देखिएपछि पछिल्ला केही दिनयता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच नयाँ समूह जन्माउने कसरत भएको छ।

लामो समय सभापति शेरबहादुर देउवा निकट रहेका निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल अगुवाइको समूहमा रहेका कोइराला तथा सिंहबीच लगातार वार्ता भएपछि वरिष्ठ नेता पौडेल कोइराला र सिंहसँग असन्तुष्ट बनेका छन्।

उनले आफ्नो असन्तुष्टि केही दिन अगाडि दियालो होटलमा आफू निकट नेताहरुको छलफलमा पनि पोखेका थिए। मंगलबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँगको छलफलमा पनि पौडेलले कोइराला र सिंहप्रति असन्तुष्टि पोखेका थिए। निधि, कोइराला र सिंहबीच मंगलबार सिंह निवास चाक्सीबारीमा लन्च मिटिंग भएको थियो। त्यसअघि निधि निवास बानेश्वर र कोइराला निवास महाराजगञ्जमा पनि लन्च मिटिंग भएको थियो।

यसरी लगातार तीन नेताबीच छलफल भएपछि पौडेलले बुधबार कोइराला निवास महाराजगञ्जमा भएको आफू निकट नेताहरुको छलफलमा पनि असन्तुष्टि पोखेको बैठकमा सभागी एक नेताले जानकारी दिए। पौडेलले पार्टीको महाधिवेशन निष्पक्ष बनाउन क्रियाशील हुनुपर्ने बेला उम्मेदवारीका लागि बैठक गर्दै हिँडेको भन्दै असन्तुष्टि पोखेको एक नेताले जानकारी दिए।

उनका अनुसार अब यो तीन नेताको बैठक नै संकटमा परेको छ। उता बुधबार बिहान पौडेलसँग छलफलका लागि निधि बोहोराटार पुगेका थिए। तर, पौडेलले यो उम्मेदवारी भन्दा क्रियाशील सदस्यताका विषयमा छलफल केन्द्रित हुनुपर्ने समय भएको भन्दै त्यसमै सहयोग गर्न निधिलाई भनेका थिए। निधिले उम्मेदवारीका विषयमा कुरा गर्न खोजेपछि पौडेल सो विषयमा प्रवेश नै नगरेको पौडेल निकट स्रोतले जनायो।

महामन्त्री डा. कोइराला निकट एक नेताले डिसी नेपालसँग भने, ‘तीन नेताभन्दा अब माथिल्लो तहमा छलफल शुरु भएको छ। यो छलफल अब सक्रिय हुने देखिँदैन।’ बुधबार कोइराला निवासमा महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री सिंह र नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतका नेताहरु सहभागी थिए।

यो बैठकमा पौडेलले अब उम्मेदवारीका विषयमा छलफल गर्नुभन्दा पहिला सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘हामी सबैको एउटै कुरा रह्यो। धेरैले आकांक्षा देखाएका छन्। तर, एकजुट भएर लड्नुको विकल्प छैन। त्यसैले एकजुट हुने वातावरण बनाउन सबैले पहल गर्ने कुरा भएको छ।’ पौडेल समूहमा आधा दर्जनभन्दा धेरै नेताहरु सभापतिका आकांक्षी छन्।

क्रियाशीलमा आशंका

कोइराला निवासमा भएको पौडेल पक्षको यो बैठकमा पार्टीको क्रियाशील सदस्यता छानविनको विषयमा छलफल भएको छ। देशभरका कम्तिमा ४ देखि ५ सय वडामा क्रियाशील सदस्यता वितरणमा विवाद रहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। ती विवादहरुलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको हो। सभापति देउवाले क्रियाशील सदस्यता छानविनका विषयमा छलफलका लागि विहीबार पदाधिकारी बैठक बोलाएका छन्। सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कोइराला निवास महाराजगञ्ज छलफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *