फ्रन्टलाइनरको सम्मानमा बनाइएको चित्र मेट्नु कलाकारको अपमानः काँग्रेस प्रवक्ता

डिसी नेपाल
१७ असार २०७८ १७:४७

काठमाडौं। काँग्रेसले काठमाडौं महानगरपालिका क्षेत्रमा कोरोना विरुद्धको लडाइँका फ्रन्टलाइनरको सम्मानमा बनाइएको चित्र मेटाइएकोमा आपत्ति जनाएको छ। काठमाडौं महानगरले बुधबार फ्रन्टलाइनरको सम्मानमा बनाइएका चित्रहरु मेटाएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार एक विज्ञप्ति जारी गर्दै चित्र मेट्नु निन्दनीय व्यवहार भएको भन्दै आपत्ति प्रकट गरेका छन्।

काँग्रेसले भनेको छ, ‘‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान। ब्यवहार निन्दनीय। महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ। त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ।’

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौको एक पर्खालमा निर्माण गरेका थिए। युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको काँग्रेसले बताएको छ।

काँग्रेसले भनेको छ, ‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ। तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन। काठमाडौंको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *