विपदग्रस्त क्षेत्रका विद्यालय सञ्चालन गर्न शिक्षामन्त्रीको सक्रियता

डिसी नेपाल
२३ भदौ २०८३ १८:४४

काठमाडौं।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित विद्यालयहरूको वस्तुस्थिति बुझ्न नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। गत भदौ १० गते आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिन मन्त्री पोखरेल नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको हो।

मन्त्री पोखरेलसँगै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि सम्मिलित टोलीले शिक्षा विकास तथा समन्वय इकाइ (विदुर) बाट अनुगमन सुरु गरेको थियो।

त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयका भवनको निरीक्षण गरिएको थियो। टोलीले विदुरस्थित नुवाकोट दरबारको समेत अवलोकन गरेको छ।

स्थलगत भ्रमणका क्रममा मन्त्री पोखरेलले स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गर्दै अवरुद्ध शैक्षिक गतिविधिलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन्, जसलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ वटा विद्यालयमा क्षति पुगेको छ भने १६ जना शिक्षक र २१७ जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। बाढीबाट कुल ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *