विधिको शासन र स्वाभिमानको मार्गबाट एक इन्च पनि पछि हट्दैनौं: रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भदाै २३ र २४ गते भएको युवा (जेन्जी) आन्दोलनको मर्मलाई स्मरण गर्दै कुशासनविरुद्धको नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न आह्वान गरेका छन्।
आन्दोलनको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै उनले अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनका घाइतेहरूको पूर्ण उपचार र पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्ने विश्वास दिलाएका छन्।
नेपाली इतिहासमा उक्त आन्दोलनलाई एउटा नयाँ जागरणको विस्फोटका रूपमा चित्रण गर्दै लामिछानेले वर्षौंदेखि व्याप्त भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र मौलिक अधिकारमाथिको नियन्त्रणविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको उल्लेख गरेका छन्।
परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बग्नु अत्यन्तै पीडादायी भएको बताउँदै उनले परिवर्तनका लागि पुनः कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामनासमेत गरेका छन्। आन्दोलनका क्रममा कर्तव्य पालन गर्दा ज्यान गुमाउने सुरक्षाकर्मीहरूप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
राजनीतिमा चासो नराख्ने ठानिएको युवा पुस्ताको सडक उपस्थिति परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट अस्वीकृति भएको उनको भनाइ छ। यो पुस्ता डिजिटल युगमा हुर्किएको, स्वाभिमानी र देशभित्रै भविष्य खोज्ने भएकाले अब कुशासन स्वीकार्य नहुने सन्देश आन्दोलनले दिएको उनले स्पष्ट पारेका छन्।
उक्त आन्दोलन कुनै दलविशेषको आह्वानमा नभई स्वस्फूर्त जागरण भएकाले यसलाई कुनै पनि राजनीतिक दल वा नेताले सङ्कुचित लाभका लागि प्रयोग गर्न नहुनेमा लामिछानेले जोड दिएका छन्।
हिजो सडकबाट नवयुवाहरूले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा आज आफूहरू पुगेको स्मरण गर्दै उनले नागरिकको रचनात्मक खबरदारी र निर्मम समीक्षा निरन्तर हुनुपर्ने बताएका छन्।
निराशाको भाष्य स्थापित हुन नदिई सबैलाई एकताबद्ध हुन अपिल गर्दै रास्वपा सभापति लामिछानेले आन्दोलनले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment