१० हजार फिटबाट हाम्फालेपछि प्यारासुट खुलेन, नाटकीय रूपमा जोगियो महिलाको ज्यान

डिसी नेपाल
२३ भदौ २०८३ १३:३५

काठमाडौं । सोच्नुहोस्, तपाईं हजारौँ फिटको उचाइबाट हावामा हाम्फाल्नुहुन्छ। तल जमिन तीव्र गतिमा नजिकिँदै छ र त्यतिनै बेला तपाईंको होस हराउँछ। प्यारासुट खोल्ने समय बितिसक्छ र तपाईं नखोलिएको प्यारासुटकै भरमा आकाशबाट तल खसिरहनुहुन्छ।

यस्तो अवस्थामा कोही जीवितै बच्ला भनेर कल्पना गर्न पनि गाह्रो हुन्छ। तर बेलायतकी ३५ वर्षीया एक महिलाको जीवनमा यस्तै घटना घट्यो र उनी मृत्युको मुखबाट जोगिन सफल भइन्।

‘डेली स्टार’ को रिपोर्ट अनुसार यो घटना बेलायतको नटिङ्गम नजिकै रहेको ल्याङ्गर एयरफिल्डको हो। त्यहाँ गत अगस्ट ७ मा स्काइडाइभिङ गर्ने क्रममा होली विफनसँग यस्तो दुर्घटना भयो, जसलाई देखेर जोकोहीको आङ सिरिङ्ग हुन्छ।

अर्का स्काइडाइभरसँग ठक्कर खाँदा होलीको टाउकोमा गम्भीर चोट लाग्यो र उनी हावामै बेहोस भइन्। त्यसपछि उनी प्यारासुट नखोलिकन करिब १० हजार फिट तल खसिरहिन्।

होली एउटा समूहसँग स्काइडाइभिङ गरिरहेकी थिइन्। यस क्रममा ‘ट्र्याकिङ’ नामक प्रविधिको प्रयोग भइरहेको थियो जसमा स्काइडाइभरहरूले शरीरलाई तेर्सो अवस्थामा राखेर तीव्र गतिमा तलतिर यात्रा गर्छन्।

होली र अन्य सहभागीहरूले करिब १२ हजार फिटको उचाइमा रहेको विमानबाट हाम्फालेका थिए। सुरुमा सबै कुरा सामान्य रूपमा चलिरहेको थियो, तर त्यत्तिकैमा अर्का स्काइडाइभरको गोडा होलीको टाउकोमा ठोक्किन पुग्यो। ठक्कर यति जोडदार थियो कि होली लगत्तै बेहोस भइन्। त्यसपछि प्यारासुट खोल्ने अवस्थामा उनी थिइनन् र तीव्र गतिमा तलतिर खस्न थालिन्।

होलीलाई त्यसरी खसिरहेको देखेर अर्का स्काइडाइभरले हावामै उनको पछाडि गएर समात्ने प्रयास गरे। तर करिब ३,००० फिटको उचाइसम्म पुग्दा उनले आफ्नै प्यारासुट खोल्न बाध्य हुनुपर्यो। यसबीच होली भने निरन्तर तल खसिरहेकै थिइन्। दुर्घटनाको केही दृश्य हेलमेटमा जडान गरिएको क्यामेरामा समेत रेकर्ड भएको छ।

रिपोर्टका अनुसार होली करिब १० हजार फिटसम्म नखोलिएको प्यारासुटसहित तल खसेकी थिइन्। त्यस क्रममा आफूलाई के भयो भन्नेबारे उनलाई धेरै कुरा याद छैन। पछि उनले आफूले सपना देखिरहेको र स्काइडाइभिङ गरिरहेको जस्तो मात्रै महसुस भएको बताएकी छन्। आफूलाई जमिनमा पाएपछि मात्रै उनलाई घटनाको स्पष्ट होस आएको थियो।

अन्ततः उनी तोकिएको ल्यान्डिङ स्थलमा नभई एउटा रूखमा गएर ठोक्किएकी थिइन्। रूखले उनको खस्ने गतिलाई कम गरिदियो। सायद त्यही रूख नै उनको जीवन र मृत्युबीचको सबैभन्दा ठूलो ढाल बन्यो।

जमिनमा खसेपछि होलीलाई तत्काल अस्पताल लगिएको थियो। यस खतरनाक दुर्घटनामा होलीको देब्रे खुट्टा भाँच्चिएको छ भने मेरुदण्डको हड्डीमा पनि फ्याक्चर भएको छ। साथै उनको शरीरका विभिन्न भागमा चोटपटक र नीलडामहरू बसेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *