ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नेपाल पक्षले बहिष्कार गर्ने

डिसी नेपाल
१८ असार २०७८ ७:१६
112
Shares

काठमाडाै। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।

बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो। एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताए ।

बुधबार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

‘१० औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने ।

पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको आरोप नेपाल समूहको रहेको छ ।

एमाले नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेकाले आफूहरू सहभागी नहुने बताए । अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक सर्वसम्मत रूपमा बहिष्कार गर्ने निर्णय भएको बताउँदै उनले यसबीचमा वार्ताको प्रयास जारी नै राख्ने बताए ।

सहमतिका लागि औपचारिक रूपमा वार्ता समिति गठन गरेर पार्टीभित्रको समस्या समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष बैठकको रहेको उनले बताए ।  राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *