हामीले चाहेको सिंगो र सबै अट्ने एमाले हो : प्रदीप ज्ञवाली

मदन कोइराला
१८ असार २०७८ ७:५४

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विवाद समाधान गर्न भन्दै पार्टीलाई पुरानै अवस्थामा फर्काउने निर्णय पनि भएको छ। जसअनुसार आज नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ।

के केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूह सहभागी होला? अदालतले प्रतिनिसभा पुनःस्थापना गर्‍याे भने के हुन्छ? लगायतका विषयमा नेकपा एमालेका सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीसँग गरिएको संवादको संपादित अंश:

भर्खरै मन्त्री जिम्मेवारबाट बाहिरिनुभएको छ,अहिले दिनहरु कसरी व्यतित हुँदैछ ?

व्यस्तताको हिसाबले कुनै तात्विक फरक भएको छैन। फरक यतिमात्र छ, हिजो सरकार मन्त्रालय ती कुराहरुमा केन्द्रित हुनुपथ्र्यो, अहिले पार्टी भित्रका समस्या समाधानका प्रयास, राष्ट्रिय राजनीतिको विभिन्न कुराहरुले मलाई व्यस्त नै राखेको छ। समग्रमा अहिले पार्टीको काममा नै व्यस्त रहेको छु।

पार्टीे प्रवक्ताको जिम्मेवारमा पनि हुनुहुन्छ, अहिले एमाले विवाद कुन चरणमा छ ? मिल्ने चरणमा छ कि नमिल्ने चरणमा ?

लामो समय देखि पार्टीभित्रको विवाद समस्याको समाधान खोज्ने प्रयत्नमा छौँ। हाम्रो प्रयास पहिले सिंगो नेकपा मिलाउने मै थियो। त्यसका लागि प्रचण्डजीले एउटा टिमको नेतृत्व गरेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध मोर्चाबन्दीमा लाग्नुभयो। त्यति नै बेलादेखि यो अवस्था हानिकारक हुन्छ, कम्युनिष्ट आन्दोलन जोगाउन गाह्राे हुन्छ भनेका थियौँ।

आज कम्युनिष्ट आन्दोलन यस्तो चरणमा पुगेको छ,जसको काँधमा कम्युनिष्ट आन्दोलन मात्र होइन, लोकतन्त्र र राष्ट्रको भविष्यसँग जोडिएको छ। यसलाई एकताबद्ध भएर जोगाउन प्रयत्न गरेका थियौं। यद्यपि हामी निष्कर्षमा पुग्न सकेनौँ।

आगामी निर्वाचनमा कसैको पनि बहुमत आउँदैन तर १२/१५ सिट ल्याएको पार्टीहरुको संसदमा सरकार बनाउन महत्वपूर्ण भूमिका हुन्छ। त्यसैगरेर राष्ट्रिय राजनीतिमा खेलिरहने भन्ने सोच योजना भएको पनि सुन्छु। तर यो सोचहरु दुर्भाग्यपूर्ण हुन्।

अहिले फागुन २३ मा अदालतले नेकपा एमाले पुन : स्थापना गरिसकेपछि त्यो पार्टीको रक्षाका लागि आजसम्म प्रयास मै छौं। यसै सिलसिलामा पार्टीले एउटा महत्वपूर्ण निर्णय गरेको छ, पुरानै केन्द्रीय कमिटिको संरचनामा फर्किने, पार्टीका नेताहरुको पद यथावत रहने र यो बीचका कारबाही भएका नेताहरुको कारबाही फुकुवा हुने निर्णयले पार्टी एकताको बलियो आधार सृजना गरेको छ।

उहाँहरु (माधव नेपाल समूह) ले भन्दै आउनु भएको कुरा पनि ०७५ जेठ ३ गते पछि फर्कँदा एकता हुने कुरा मै आएका छौँ। त्यसकारण एकताको लागि म दृृढ र आशावादी छु।

०७५ जेठ ३ को अवस्थामा आउनु अदालतको बाध्यकारी अवस्था थियो र आउनु भयो भनेर चर्चा पनि हुन्छ। अनि अर्को कुरा यो निर्णय पहिले नै गर्नु भएको भए पार्टी अझ क्षति हुनबाट जोगिन्थ्यो नि!

पहिलो कुरा के भने अदालतको फैसलाले हामी बाध्य भएको होइन। सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसदहरुको विषयमा एउटा फैसला गर्यो। जुन फैसला त्रुटिपूर्ण छ। त्यो फैसला लोकतान्त्रिक प्रणाली विरुद्ध छ।

पार्टीहरुले आफ्नो विधान आफैं बनाउँछन् र सोही अनुसार सञ्चालित हुन्छन्। त्यो पार्टीको सार्वभौम अधिकार भित्रपनि पर्छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार अक्षर भावना विरुद्ध छ।

हामी त्यो भन्दा अगाडि पार्टी अध्यक्षले गत जेठ २३ गते ६ बुँदे प्रस्ताव गरेर पार्टी विवाद मिलाउन ०७५ जेठ ३ गते प्रवेश गर्ने भनेर औपचारिक घोषणा गर्नुभएको थियो। त्यसकारण अदालतको फैसलाले बाध्यात्मक भएको होइन।

०७५ जेठ ३ गते फर्किने निर्णय भएसँगै शुक्रबार बैठक बोलाइएको छ। तर, माधवनेपाल समूह बैठकमा उपस्थित हुनुहुन्छ भनेर कत्तिको विस्वस्त हुनुहुन्छ?

वास्तवमा नेपालको राजनीतिमा बिगत केही समयदेखि जे प्रवित्ति र घटनाक्रम देखा परेका छन्। ती साँच्चै नै गम्भिर र चिन्ताजनक छ। यो एमालेमा देखा परेको हुनाले हामी मात्र चिन्तित हुनुपर्ने विषय होइन। लोकतन्त्रमा यो खाले समस्या देखियो भने त्यस्ले लोकतन्त्र कमजोर बनाउँछ।

लोकतन्त्र चलाउने पार्टीहरु विधिहरु आधार स्तम्भहरु खण्डित भए भने लोकतन्त्र ती पार्टीको जगमा उभिएको हुनाले खतरा हुनसक्छ।
त्यस्तो बेला सहजतापूर्वक आफ्नो छुट्टै दल खोल्न सकिन्छ। बिचार मिल्नेहरुसँग एकतावद्ध रहन सकिन्छ। यी राजनीतिमा स्वभाविक विषयहरु हुन्।

अस्वभाविक के हो भने एउटै पार्टीभित्र बस्नु भएको छ। एउटा पार्टीको सदस्यमा हुनुहुन्छ। एउटा पार्टीको नेतृत्वमा हुनुहुन्छ तर विपक्षीसँग मिलेर त्यही पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहनुभएको छ। यो एमालेको समस्यामात्र होइन, लोकतन्त्रको कुनैपनि विषमा स्वीकार्य विषय होइन।

संसदीय दलको निर्णय विरुद्ध फ्लोर क्रस गर्नुभएको छ। पार्टीको आधिकारिक उमेद्धार विरुद्ध विपक्षीसँग मिलेर हराउने काम भएको छ। केन्द्रमा जसका विरुद्ध लडेर चुनावमा विजयी भयौं, उनीहरुसँग मिलेर उनलाई नै प्रधानमन्त्री बनाउन लागि परेका छन्।

उहाँहरुको यो काम लोकतन्त्र बिरुद्ध छ। तर पनि हामी पार्टी एकताको लागि भनेर उहाँहरुले भने बमोजिमनै निर्णय गरेका छौँ। त्यसकारण बैठकमा आउनुहुन्छ, भनेर आशावादी छु।

अहिले राजनीति वृत्तमा के चर्चा हुन्छ भने माधवकुमार नेपालसँग भन्दा पनि नेपाल समूहका केही प्रभावशाली युवा नेताहरुसँग मात्र एकता गर्ने र नेपाललाई एक्ल्याउने प्रयास हो?

हामी सिंगो नेकपा एमाले चाहन्छौँ।अहिले कसैलाई बाहिर राखेर र कसैलाई मात्र पार्टी भित्र ल्याउने हाम्रो समग्र छलफलको आशय होइन। यहाँलाई निवेदन गर्न चाहन्छु, जे जस्ता घटनाक्रम यो बीचमा भए, त्यो तहसम्म पुगेका नेताहरु र साथीहरु पार्टी एकताको भावना छ र? भन्ने प्रश्न मलाई उठ्छ तर विश्वास गर्ने प्रयासमा छु।

अर्को कुरा के सुन्दै छु भने आगामी निर्वाचनमा कसैको पनि बहुमत आउँदैन तर १२/१५ सिट ल्याएको पार्टीहरुको संसदमा सरकार बनाउन महत्वपूर्ण भूमिका हुन्छ। त्यसैगरेर राष्ट्रिय राजनीतिमा खेलिरहने भन्ने सोच योजना भएको पनि सुन्छु।

तर यो सोचहरु दुर्भाग्यपूर्ण हुन्। बलियो पार्टीको मजबुद सरकार बनाउने होइन, एउटा सानो चुल्हो,चौका खडा गरेर त्यसमा सधैं बार्गेनिङ गरिरहने खालको सोचमा जानुभनेको आफैंमा एउटा दुर्भाग्यपूर्ण कुरा हो। तर हामीले चाहेको सिंगो एमाले र सबै अट्ने एमाले हो।

ज्ञवालीसँग गरिएकाे भिडियाे संवाद:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *