प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा : आज सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने

डिसी नेपाल
१८ असार २०७८ १०:५४

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख पक्षको बहस सुरु हुने भएको छ। सरकारी पक्षको बहस सकिएपछि सभामुख पक्षको बहस सुरु हुने भएको हो।

आजको चियासत्र अगाडी नै सरकारी पक्षको बहस सकिने भएको छ। गएको सोमबार महान्यायाधिवक्ता रमेश बडालको बहससँगै सरकारी पक्षको बहस सुरु भएको थियो।

सरकारी पक्षबाट महान्यायाधिवक्ता बडाल, नायब महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट नीजि कानून व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, बिजयकान्त मैनाली, अग्नि खरेल लगायतले बहस गरेका थिए।

सरकारी पक्षको बहस सकिएपछि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीले बहस गर्नेछन्। मुद्दामा विपक्षी बनाइए पनि सभामुख पक्षका कानुन व्यवसायीले रिटको पक्षमा बहस गर्नेछन्।

संवैधानिक इजलासले मुद्दाका विपक्षीलाई बहसका लागि दिएको १५ घण्टामध्ये सभामुख बाहेकको सरकारी पक्षलाई १४ घण्टा समय दिइएको थियो। सभामुख पक्षलाई दिएको १ घण्टामा आवश्यकता परे थप गरिदिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *