अफगानिस्तानमा तालिबानले अमेरिकी सेनाका ७ सय सशस्त्र गाडी कब्जा गर्‍यो

डिसी नेपाल
१९ असार २०७८ १४:२८

काठमाडौं। अफगानिस्तानमा तालिबानले अमेरिकी सेनाका ७ सयभन्दा बढी सशस्त्र गाडीहरु कब्जा गरेका छन् । तालिबानीहरुले अफगानी सुरक्षा फौजबाट सयौं ट्रक, हतियारबन्द गाडीहरु र आर्टिलरी कब्जा गरेका हुन् । यी हतियारहरु अमेरिकी सेनाले त्यहाँबाट फर्किने बेला छाडेका थिए । विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै द सनले जनाएअनुसार जून महिनामा मात्रै तालिबानी लडाकुहरुले ७ सय गाडीहरु कब्जा गरेका छन् जुन अब तालिकानीले पुनः अफगानिस्तानमा शक्ति हातमा लिने अभियानमा प्रयोग गरिनेछ ।

अफगानिस्तानका विभिन्न जिल्लाहरुमा अमेरिका समर्थित अफगानी सुरक्षा बल तालिबानीको दबाबका कारण पछि हटिरहेको बेला ठूलो संख्यामा सुरक्षा बलका हतियार कब्जा भएका हुन् । यसले २०१० को दशकको मध्यमा अमेरिका समर्थिक इराकी सरकारबाट आइएसआइएसले हतियार नियन्त्रण गरेको घटनाको स्मरण गराएको छ । ओरिक्स नामको ब्लगमा स्टिन मित्जर र जुस्ट ओलिमान्सले लेखेको एक खुला स्रोत अनुसन्धान ब्लगमा तालिबानले कब्जा गरेको संख्या उल्लेख छ ।

यो रिपोर्टमा तालिबानी लडाकुहरुले सुरक्षा बलबाट नियन्त्रणमा लिएका हतियार प्रदर्शन गरिरहेका सयौं तस्वीरहरु प्रमाणको रुपमा उपलब्ध गराइएका छन् । यो अनुसन्धानले ३० जुनको बेलुकीसम्म ७१५ वाहनहरु तालिबानीले कब्जा गरेको तथ्यांक दिएको छ । यसबाहेक अझै धेरै हतियारहरु पनि तालिबानीले कब्जा गरेको विश्वास गरिएको छ तर ती हतियारहरु कुनै भिडियो वा फोटोमा रेकर्ड नभएकाले यसको पुष्टि हुन सकेको छैन ।

तस्वीरहरुमा तालिबानी लडाकूहरु कब्जा गरिएका हम्वीहरु, ट्रकहरु, आर्टिलरी बन्दूकहरु र एसल्ट राइफलहरुको साथमा देखिन्छन् । अमेरिकी र नाटो सेनाले अफगानिस्तान छाडेसँगै यहाँ तालिकानीको पुनरोदय सुरु भएको हो । २० वर्ष अफगानिस्तानमा रहेपछि शुक्रबार अमेरिकाको अन्तिम सुरक्षा बल पनि अफगानिस्तानको बागरामबाट फर्किएको छ । अधिकारीहरुका अनुसार यो ठाउँ अमेरिकाको अल कायदा र तालिबानसँगको युद्धको इपिसेन्टर थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *