कोरोना महामारीमा अपाङ्गता भएका व्यक्तिहरुको सकस, प्राथमिकतामा राखेर खोप लगाइदिन आग्रह

तर्कबहादुर थापा
२३ असार २०७८ ७:१५

काठमाडौं। कोरोनाको महामारीले अन्य क्षेत्रका जस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि उत्तिकै प्रभाव पारेको छ। सामान्यतः अपाङ्गता भएका व्यक्तिहरुमा रोग प्रति रोधात्मक क्षमता कम हुने गर्छ, र कोरोनाको प्रकिृति पनि रोग प्रति रोधात्मक क्षमतालाई असर गर्ने भएका कारण पनि उनीहरु बढी जोखिममा परेका हुन्।

विश्व स्वास्थ्य संगठनद्वारा सन २०११ मा प्रकाशित अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदनका अनुसार संसारको कुल जनसङ्ख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गता व्योहोरी रहेका छन्। अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसङ्ख्याको ८० प्रतिशत गरिब तथा अल्पविकसित देशमा वस्छन् ती मध्ये २० प्रतिशत भन्दा बढी गरिबीको रेखामुनी रहेका छन्।

राष्ट्रिय जनगणना २०६८ मा अपाङ्गता भएका व्यक्तिको समेत गणना गर्ने सामान्य व्यवस्था गरिएको थियो। सो जनगणनाको प्रतिवेदनले जनाएअनुसार नेपालको कुल जनसङ्ख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। तर, अपाङ्गता भएका व्यक्तिहरुको संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललका अध्यक्ष मित्रलाल शर्मा यो तथ्याङ्कमा असहमति भएको बताउँछन्।

डिसी नेपालसँग कुरा गर्दै नेपालको पछिल्लो तथ्याङ्क नभएको र सरकारले जारी गरेको राष्ट्रिय जनगणना २०६८ तथ्याङ्कमा पूर्णरुपमा अपाङ्गता भएको व्यक्तिहरुको गणना नभएको उनको तर्क छ।

उनले भने, ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरु विश्व स्वास्थ्य संगठनका अनुसार करिव ३० लाख छन्। तर राष्ट्रिय जनगणना अनुसार त्यो संख्या एकदमै कम छ हामीले त्यो तथ्याङ्कमा असहमति जनाउँदै आएका छौं।’

राष्ट्रिय तथ्याङ्क अनुसार नै अपाङ्गता भएका व्यक्तिहरु भए पनि कोरोनाको खोपको सुनिश्चितता गर्न सरकारसँग अध्यक्ष शर्माले अनुरोध गरेका छन्। शर्माले भने, ‘सरकारकै तथ्याङ्कलाई आधार मानेर भए पनि कोरोनाको खोपको सुनिश्चितता गर्नु पर्छ भन्ने माग हो।’ महिला मन्त्रालयको समन्वयमा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र शेरबहादुर तामाङलाई अनुरोध गरेको उनको भनाइ छ।

नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहाल पनि सरकारले स्थानीय निकायसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोपको सुनिश्चितता हुन पर्ने बताउँछिन्। डिसी नेपालसँगको कुराकानीमा दाहालले भनिन्, ‘स्थानीय निकाय संगको सहकार्यमा सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई कोरोनाको खोप प्राथामिकतामा राखेर लगाउनु पर्छ।’

अहिले सरकारले उमेर समूहलाई आधार बनाएर खोप लगाइरहेको छ। तर, महासंघका अध्यक्ष शर्माले भने अपाङ्गता भएका व्यक्तिहरुलाई उमेर समूह वा अन्य कुनै कुराले नरोकेर प्राथामिकतामा पारी खोप दिनु पर्ने बताउँछन्।

अपाङ्गता भएका व्यक्तिहरुलाई खोप प्राथमिकतामा किन ?

महासंघका अध्यक्ष शर्माले भने, ‘हामी कारणसहित अपाङ्गता भएका व्यक्तिहरुलाई खोप प्राथमिकतामा राख्नु पर्छ भनेर गएका हौं।’ अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर खोप लगाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि सरकार तथा स्वास्थ्य मन्त्रालयलाई निर्देश गरिसकेको शर्माले बताए।

‘स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यको मापदण्ड दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरुले कसरी पालना गर्ने?’ अपाङ्गता भएका व्यक्तिहरुलाई खोप प्राथमिकतामा किन राख्ने भन्ने कारण खुलाउँदै शर्माले भने, ‘उनीहरुलाई दुई मिटर टाढा बस्न कसरी सम्भव हुन्छ। उहाँहरु कसरी मेजरमेन्ट गर्नु हुन्छ कि दुई मिटर कहाँ हो भनेर।’

यो उदाहरण हो श्रवणशक्ति सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुले कसरी सुन्ने सूचनाहरु, सरकारले रेडियो र टेलिभिजनमा प्रशारण गरेको सूचनाहरु पनि अपाङ्गमैत्री छैनन् त्यसो हुँदा पनि अपाङ्गता भएका व्यक्तिहरु कोरोनाको बढी जोखिममा परेका हुन्।

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पनि खोपको प्राथमिकताका लागि अनुरोध गरेको बताउँदै शर्माले भने, ‘खोपको अझै सुनिश्चितता भएको छैन। हामीले खोप सुनिश्चित भयो भने मात्र कसरी खोप लगाउने भन्ने बारेमा सल्लाह गर्ने छौं।’

कोरोनाका कारण अपाङ्गता भएका महिलाहरुमा अरु बेलाको भन्दा बढी समस्या सृजना भएको दाहालको अनुभव छ। उनले पनि सरकारले जतिसक्दो चाँडो खोपको सुनिश्चिता गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्टै प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सरकारले सकेसम्म फ्रन्टलाइनरलाई लगाएको बेला नै अपाङ्गता भएका व्यक्तिहरुलाई लागाउनु पर्ने हो। त्यो हुन नसके पनि अब उमेरहद न तोकेर सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *