अमेरिकाको ओहायो राज्यका दुई शहरबाट डा.पुनलाई उच्च सम्मान (पत्र र तस्वीरसहित)

डिसी नेपाल
२४ असार २०७८ ३:२९

ओहायो, अमेरिका। अमेरिकाको ओहायो राज्यका दुई शहरका मेयरहरुले नेपाली बैज्ञानिक डा.महाविर पुनलाई सम्मान गरेका छन्। आफ्नो शहरका तर्फबाट प्रोक्लामेसन पत्र हस्तान्तरण गर्दै दुई मेयरहरुले सामाजिक कार्यमा डा.पुनको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्। उनीहरु दुबैले जुलाई ६ तारिकमा छुट्टा छुट्टै कार्यक्रममा आआफ्नोतर्फबाट सम्मानपत्र हस्तान्तरण गरेका थिए।

डा.पुनको संधर्षमय जीवनको बारेमा समेत उल्लेख गर्दै ओहायो राज्यको पहिलो राजधानी शहर सिटी अफ चिलिकाथीका मेयर ल्युक एम फिनीले सम्मानपत्रमा लेखेका छन्, ‘म चिलिकाथी शहरको मेयर ल्युक एम फिनी डा.महाविर पुनका असाधारण उपलब्धीहरुले नेपाली समुदायमा गरेको उल्लेख्य कामले नेपालमा र अमेरिकामा समेत उत्प्रेरण जगाउने कार्य गरेकोले सम्मान व्यक्त गर्दछु ।’

(हेर्नुहोस् सम्मानपत्र)

मेयर फिनीले डा.पुनलाई आफ्नै कार्यकक्षमा निम्तो गरी सो सम्मानपत्र हस्तान्तरण गरेको ओहायोको नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका डा.दामोदर पौडेलले डिसी नेपाललाई बताए।

डा. पौडेलका अनुसार, फिनीको सम्मान समारोहमा उनीलगायत अमेरिका नेपाल मेडिकल फाउण्डेसनका अध्यक्ष डा.भूपेन्द्र खड्का र डा.सञ्जु महतो पनि निम्त्याइएका थिए।

त्यसैगरी ओहायोकै अर्को शहर सिटी अफ रेनोल्ड्स्वर्गका मेयर जो वेगिनीले सम्मान गर्दै लेखेका छन्, ‘म सिटी अफ रेनोल्ड्स्वर्गको मेयर जो वेगिनी डा. पुनले नेपाली नागरिकहरुको जीवनस्तर उकास्न अनवरतरुपमा प्रतिबद्धताका साथ गरेका कार्यको कार्यहरुको उच्च प्रसंसा गर्दै सलामका साथ सम्मान गर्न चाहान्छु ।’ आफ्नो सम्मानपत्रमा उनले डा.पुनका योगदानहरुको विवरणसमेत उल्लेख गरेका छन्।

(हेर्नुहोस् पत्र)

डा.दामोदर पौडेलले नेतृत्व गरेको सेन्ट्रल ओहायो नेपाली एसोसिएसन(कोना) र मोहन न्यौपाने नेतृत्वको एनआरएनए ओहायो च्याप्टरको संयुक्त आयोजनामा नेपालीहरु र नेपाली भाषी भुटानी अमेरिकनहरुको भव्य उपस्थितिमा सम्पन्न एक कार्यक्रममा मेयर बेगिनीले सो सम्मानपत्र डा.पुनलाई हस्तान्तरण गरेका थिए।

जुलाई ६ तारिकका दिन सम्पन्न सो कार्यक्रममा नेपालीहरुलाई सुख दुखमा अटुटरुपले साथ दिँदै आएको र कोभिड महामारीमा नेपालका लागि मेडिकल सामग्री अमेरिकाबाट पठाउन लाविंग गरेको, आर्थिक संकलन गरी आपतकालीन उद्दारका लागि नेपाल पठाउन योगदान दिएको भन्दै कोनाले नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याललाई पनि सोही कार्यक्रममा सम्मान गरेको थियो।

रेनोल्ड्स्बर्ग शहरको सिटी काउन्सिलमा निर्वाचित काउन्सिल म्यानसमेत रहेका प्याकुर्याललाई ‘गोइङ अभाेव  एण्ड बियोण्ड’ अवार्डबाट सम्मानित गरिएको थियो। त्यसैगरी कोनाको तर्फबाट डा.पुनलाई सेन्टर अफ एक्सिलेन्स अवार्डले सम्मानित गरिएको थियो।

नेपाली र नेपालीभाषी भुटानी अमेरिकी समुदायलाई संबोधन गर्दै डा.पुनले आफू फण्ड रेजिङका लागि अमेरिका नआएको बरु नेपाली र नेपाली भाषी समुदायको मन रेजिङका लागि आएको बताउंदै नेपालमा बैज्ञानिक अनुसन्धानको संस्कृति निर्माण गर्ने आफ्नो अथक प्रयास रहेको जानकारी दिएका थिए।

ओहायोका यी दुई शहरबाट सम्मानित हुनुअघि डा.पुनलाई नेपालीभाषी भुटानी अमेरिकी समुदायले निर्माण गरेको लक्ष्मीनारायण मन्दिरमा दर्शनका लागि लगिएको थियो। काउन्सिलम्यान भुवन प्याकुर्यालको व्यबस्थापनमा डा.पुनले मन्दिरमा पूजा अर्चना गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *