भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत, थप ४३ हजार सङ्क्रमित

डिसी नेपाल
२५ असार २०७८ १४:४७
156
Shares

काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

त्यसैगरी कुल सङ्क्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पछिल्लो एक दिनमा पनि नयाँ सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको छ। मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन। सोही अवधिमा अरु ४४ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रबार विहान जानकारी दिएको छ। योसँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार ९३९ रहेको छ।

देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीबारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ। ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *