अमेरिकाबाट लाखौं अमेरिकी खोप यसरी नेपाल पठाइँदै छ

डिसी नेपाल
२७ असार २०७८ ०:४४

वासिंगटन डिसी। अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिने र सो खोप चाडै नै नेपाल पुग्ने भएपछि अमेरिकावासी नेपालीहरु खुसी भएका छन्। यो खुसीयाली सँगसँगै खोप दिलाउन सफल भएको भन्दै जस लिने होड पनि कम रोचक छैन। तर, कसरी पुग्यो त नेपालमा अमेरिकी खोप?

अमेरिकाको न्यू ह्याम्सायरका सिनेटर साहेनले पहिलोपल्ट नेपालका लागि खोप अति आवश्यक भएको भन्दै नेपालका लागि खोपको मुघद्दलाई अमेरिकाको सिनेटमा प्रवेश गराएका थिए। त्यसैगरी अमेरिकी कांग्रेसको खोप उपसमितिमा कंग्रेसम्यान ब्राड वेन्स्ट्र्यापले नेपाललाई खोपको आवश्यकता रहेको भन्दै नेपाली मुलका अमेरिकी डा.दामोदर पौडेलको सन्दर्भसमेत उल्लेख गरेर कुरा उठाए। कंग्रेसम्यान ब्राड ओहायोका जनप्रतिनिधि हुन् र डा.पौडेल पनि ओहायोमै कार्यरत चिकित्सक हुन्।

डा.पौडेल र डा. सञ्जु महतोले ओहायोबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई नेपालका लागि खोपको आवश्यकताबारे पटक पटक लविंग गरेका थिए। परिणामस्वरुप ओहायोकै सिनेटर शेर्रड ब्राउन र रबर्ट पोर्टम्यानले सिनेट र ह्वाइट हाउस दुबैमा नेपाललाई प्राथमिकतामा राखेर खोप पठाउन ठूलो प्रयत्न गरेका थिए। त्यसैगरी पेन्सिलभेनियाका कंग्रेसम्यान ब्रायन फिजप्याट्रिक, मेरिल्याण्डका सिनेटर क्रिस भ्यान हाउलान् र बेन कार्डिनले पनि कोभिड महामारीको चपेटामा परेको नेपाललाई अमेरिकाले यथाशक्य चाँडो र बढीमात्रामा खोप उपलब्ध गराउन लविंग गरेका थिए। त्यसैगरी भर्जिनियाका कंग्रेसम्यान जेरी कन्लेले कंग्रेसमा भारतलाई सहयोग गर्नेसम्बन्धी प्रस्तावमा नेपालको नामसमेत थप गरेर पारित गराउन सहयोग गरेका थिए।

अमेरिकी नेताहरुलाई उनीहरुका मतदातासमेत रहेका स्थानीय नेपाली अमेरिकन समूदायको पनि राम्रै दवाव परेको थियो। नेपाली मूलका अमेरिकी जनप्रतिनिधिहरु मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारी, ओहायोको रेनल्ड्स्वर्ग शहरका नेपाली भाषी भुटानी काउन्सिलम्यान भुवन प्याकुरेल, कनेक्टिकटका काउन्सिल मेम्वर राम श्रेष्ठ, भर्जिनियाका काउन्सिलम्यान प्रदीप ढकालले नेपाललाई अप्ठेरो परेका बेला अमेरिकी सहयोग पुर्याउन भरमग्दुर प्रयास गरेका थिए। डेलिगेट भण्डारीले त सामाजिक सञ्जाल फेसबुकमै एउटा स्ट्याटस लेखी आफ्नो प्रयास सफल भएको भन्दै खुसी प्रकट गरेका छन्।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाल पठाइएको हो। र, यो खोप सोमबार नेपाल पुग्दैछ। यो खोप एक डोज लगाए पुग्ने भएकाले अरु खोप ३० लाख डोज सरह हो। यसका लागि संयुक्त राष्ट्रसंघको उच्च ओहदामा पुगेका नेपाली व्यक्तित्व कुलचन्द्र गौतमको समन्वयकारी भूमिका पनि उल्लेख्य रहेको छ। उपमहासचिव पदबाट रिटायर्ड भएका गौतम केही समयदेखि अमेरिकाको क्यालिफोर्नियामा छन्। डिसी नेपालसँग कुरा गर्दै गौतमले सबैको साझा प्रयासले यो सफलता प्राप्त भएको बताए। उनले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले विशेष भूमिका खेलेको बताए।

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेण्टमा नेपालको कोभिड महामारीमा मानवीय अवस्था र खोपको आवश्यकताबारे पटक पटक लविंग गरेका थिए भने इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले दूतावासका तर्फबाट खोप नेपाल पठाउने कार्यबारे भएका लाविंगहरुको समन्वय गरेका थिए। त्यसैगरी नेपालको गैरसरकारी तहबाट सुरक्षा विशेषज्ञ चिरनजंग थापाले उल्लेख्य पहल गरेका थिए। त्यसैगरी काठमाडौंबाट हस्ताक्षर संकलन गरी दवाव सिर्जना गर्न सुमना श्रेष्ठसहितका अभियन्ताहरुले उल्लेख्य भूमिका खेलेका थिए।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी आफू निजी कामका सिलसिलामा विदामा अमेरिका आएका बेला पनि नेपालको संबेदनशील मानवीय अवस्थाबारे अमेरिकी सरकारलाई कन्भिन्स गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी खोप नेपाल पुग्ने घोषणा भएपछि ट्विटर र फेसबुकबाटै खुसी व्यक्त गर्ने कुटनीतिज्ञ हुन्। सामाजिक संजालमा उनले अमेरिका संधै नेपालको साथमा रहेको उल्लेख गर्दै खोप नेपाल पठाइन लागेको जानकारी दिएका थिए।

छिमेकी मुलुक भारतमा फैलिएको कोरोना महामारीको दोस्रो वेभ विस्तार हुँदै नेपाल पनि पसेपछि खोपको अभावमा थुप्रै नेपालीहरुले ज्यान गुमाएका छन्। यो दर्दनाक अवस्थाबाट नेपाललाई पार गराउन अमेरिकामा कार्यरत नेपाली संघसंस्थाहरु गैरआवासीय नेपाली संघ, अमेरिका, अमेरिकन नेप्लिज एसोसिएशन एएनए, अमेरिका नेपाल मेडिकल फाउण्डेशन, एन्टालगायतले दवावकारी भूमिका खेलेका थिए। नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच डेलेसीसमेतले नेपाली संघ संस्थाहरुका अध्यक्षसँग मिलेर अमेरिकी राष्टपति तथा उपराष्टपतिलाई खुल्ला पत्र लेख्दै नेपाललाई खोप र स्वास्थ्य सामग्रीको सहयोग अत्यावश्यक रहेकोमा लविंग गरेका थिए। नेपाली संघसंस्थाहरुको नेतृत्वमा हस्ताक्षरसमेत संकलन गरी ३ हजार हस्ताक्षर ह्वाइटहाउसमा बुझाइएको थियो।

खोप नेपाल पठाइएकोमा खुसी व्यक्त गर्दै ओहायोमा कार्यरत चिकित्सक डा.दामोदर पौडेलले आफ्नो मातृभूमिलाई अप्ठेरो परेको बेला सहयोगका लागि पहल गर्ने सबै धन्यवादका पात्र भएको बताए। उनले राजदूत खतिवडा र राजदूत बेरीको सक्रियताको सह्राहना पनि गरे।

प्रभावकारी सैनिक कुटनीति

नेपाली सेनाले पनि आफ्नो सैन्य कुटनीतिमार्फत अमेरिकाबाट खोप भित्र्याउने प्रयास गरेको थियो। लेफ्टिनेन्ट जर्नेल प्रभुराम शर्माले अमेरिकी सेनाको प्यासिफिक कमाण्डद्वारा आयोजित एउटा वेभिनारमा केही महिनाअघि कोभिड महामारीसँग जुध्न नेपालले गरेका प्रयास र नेपाललाई परेको आवश्यकताबारे धारणा राखेलगत्तै अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका मेजर जनरलसँग वान टु वान कुराकानी पनि गरेका थिए। यो कुराकानीमा नेपाललाई खोपको आवश्यकताबारे छलफल भएको र अमेरिकी सैनिक अधिकारीले आफ्नोतर्फबाट पहल गर्ने बचन दिएका थिए। ठूलो मात्रामा कोभ्याक्समार्फत नेपाललाई खोप पठाउनुमा यो सैनिक कुटनीति पनि सहायक भएको थियो।

नेपाल सरकार र विदेशमा भएका नेपाली समूदाय तथा नेपालका विदेशी मित्रहरुले एष्ट्राजेनिका खोप नेपाल पठाउन ठूलो प्रयास गरे पनि सफलता मिलेको छैन। नेपालले क्यानडा, अष्ट्रेलिया, बेलायतलगायतका मुलुकसँग सो खोपका लागि सहयोगको अपील गर्दै प्रयास गरेको भए पनि अन्य देशबाट अझै सकारात्मक नतिजा हासिल गर्न सकेको छैन। अमेरिका सरकारले जोन्सन एण्ड जोन्सनको १५ लाख डोजको यो खोप हालसम्म कुनै पनि मित्र देशहरुले दिएको सबैभन्दा ठूलोमात्राको सहयोग हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *