ओलीले ढोका बन्द गरेपछि बाम गठबन्धनको किस्सा सुरु

डिसी नेपाल
१ साउन २०७८ ११:२५

काठमाडौं। पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट पुगेर बार्दलीबाट लल्कार्दै पार्टीको ढोका बन्द गरेपछि एमाले वरिष्ठ नेता माधव नेपाल कम्युनिष्ट मोर्चा बनाउनेतिर सक्रिय देखिएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट बाहिरिएका ओलीले आफ्नो बहिर्गगमनको प्रमुख कारण माधव नेपाल नै रहेको भन्दै उनको लागि पार्टीको ढोका बन्द भएको बताएका छन्। ओलीले प्रधानमन्त्रीको सरकारी निवास छाडेर आफ्नो निवास बालकोट पुगेपछि गरेको सम्बोधनमा समेत माधव नेपालले एमालेविरुद्ध अपराध गरेकोले उनलाई क्षमा दिन नसकिने बताएका थिए ।

अहिले माधव नेपाल एमालेमा फर्किन सक्ने अवस्थामा छैनन् किनकि अध्यक्ष ओली उनीसँग निकै रुष्ट छन्। एमालेमा फर्किने वातावरण बनाउनका लागि सबैभन्दा पहिले माधव नेपाल नै ओलीसँग झुक्न तयार छैनन् भने ओली नेपाललाई सहजै स्वीकार गर्न तयार छैनन्।

ओलीलाई हटाउन प्रमुख भूमिका खेलेका उनी अब ओलीकै अगाडि झुके भने उनको जनतामा जाने नैतिक धरातल निकै कमजोर बन्नेछ। तर, नेपाललाई सबैभन्दा ठूलो संकट के हो भने आफैंले दशकौं नेतृत्व गरेको पार्टी ओलीलाई जिम्मा लगाएर हिँड्नु पर्नेछ।

माधव नेपालले अहिले एमाले छाड्न सक्दैनन् किनकि पार्टी विभाजन गरेर बाहिरिन उनको पक्षमा पर्याप्त सांसद र केन्द्रीय सदस्य छैनन्। राजनैतिक दलसम्बन्धी कानुनले तोकेजति सांसद र केन्द्रीय सदस्य नपुगी बाहिरिएमा त्यो कानुनी रुपमा पार्टी विभाजन नभइ एउटा गुट बार्टीबाट बाहिरिएको ठहरिनेछ।

यस्तो अवस्थामा कानुनअनुसार पार्टी परित्याग गरेका सांसदहरुको सांसद पद जान्छ। सांसद पद जाने गरी माधव नेपाल एमालेबाट बाहिरिन सक्दैनन्। यदि सांसद पद त्याग्नु नै थियो भने त उनले निर्वाचन नै हुन दिन्थे। प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालत जाँदैनथे। डेढ वर्षको लागि प्रतिनिधिसभा ब्युँताइसकेपछि त अब जसरी पनि उनलाई सांसद कायम रहनुपर्ने हुन्छ। यसका लागि नेपालले एकैपटक २ चाल चलेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाएर अध्यादेशमार्फत राजनैतिक दलसम्बन्धी कानुन संशोधन गर्ने। यसो गर्दा नयाँ कानुनअनुसार उनीसँग अहिले भएका सांसद र केन्द्रीय सदस्यहरुको गुटले एमाले विभाजित भएर गठन भएको नयाँ पार्टीको मान्यता पाउन सक्छ।

पहिलो, प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाएर अध्यादेशमार्फत राजनैतिक दलसम्बन्धी कानुन संशोधन गर्ने। यसो गर्दा नयाँ कानुनअनुसार उनीसँग अहिले भएका सांसद र केन्द्रीय सदस्यहरुको गुटले एमाले विभाजित भएर गठन भएको नयाँ पार्टीको मान्यता पाउन सक्छ।

यसो भएमा उनको समूह नयाँ राजनैतिक दलको हैसियतमा हुनेछ र उनीपक्षका सबै सांसदहरुको पद कायम रहनेछ। यसको लागि देउबा पनि तयार हुनु स्वभाविक नै हो। आफ्नो प्रमुख प्रतिद्वन्द्वी नेकपा एमाले विभाजित भएर कमजोर हुनु देउबाको लागि पनि फाइदाकै ‘डील’ हुनेछ।

दोस्रो, केपी ओलीको समूहबाहेकका वा केपी ओलीलाई छाड्न सक्ने एमालेकै नेताहरुसहित माओवादी, विप्लव नेकपा लगायतका कम्युनिस्ट दलहरुसँग वृहत कम्युनिस्ट एकता गर्ने र त्यो एकीकृत दललाई विघटित नेकपाको हैसियतमा उभ्याउने।

यसका लागि उनीहरुले पूर्वमाओवादीहरु बाबुराम भट्टराई, सम्भवतः उपेन्द्र यादवलाई समेत एकीकृत हुन आह्वान गर्न सक्छन्। यसको संकेत शुक्रबार बिहानै भएको बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द विप्लवको भेटवार्ताले पनि दिन्छ। किनकि यसको एक दिन अघि बिहीबार मात्र माधव नेपाल, प्रचण्ड र विप्लवबीच वार्ता भएको थियो।

माधव नेपालले वृहत कम्युनिस्ट एकतापछि त्यहाँ आफूले चित्तबुझ्दो, पावर, पोजिसन र स्पेस पाउने ठानेका छन्। तर, उनले विघटित नेकपाभित्र विवाद कहाँबाट सुरु भएको थियो वा २ वर्षअगाडि स्वयं आफू र प्रचण्ड कुन स्थानमा थिए भन्ने कुरा बिर्सिएका छन्।

नेकपाभित्रको विवाद र विभाजनको पृष्ठभूमिदेखि अहिलेसम्म भएका घटनाहरु तथा गर्ने तयारी गरिएका कामहरु हेर्दा वृहत कम्युनिस्ट एकता माधव नेपालका लागि निकै घातक हुनेछ। जहाँ उनको अस्तित्वलाई प्रचण्डले निष्क्रिय पारिदिनेछन्, जसरी यसअघि विघटित नेकपामा प्रचण्डलाई केपी ओलीले निस्तेज पारिदिएका थिए।

एमाले र माओवादीको एकताका बेला ठूलो र सानो दलको हैसियतमा पद बाँडफाँड गरियो। २ जना अध्यक्ष बनाइए तर ठूलो दल र सानो दलको आधारमै केपी ओलीलाई १ नम्बर अध्यक्ष र प्रचण्डलाई २ नम्बर अध्यक्ष बनाइयो।

पावर शेयरिङ, पोजिसन शेयरिङका सहमतिहरु पनि भए तर ठूलो दलकै कारण यी सबै कुरामा पहिलो प्राथमिकतामा ओली परे। एकताकै दिन प्रचण्ड पनि सबैथोक ओलीलाई दिन तयार भए। २ वर्षसम्म ओलीले मजासँग ‘पावर एक्सरसाइज’ गरे। यो अवधिमा प्रचण्डले पनि खासै रोकटोक गरेनन्।

माधव नेपालले वृहत कम्युनिस्ट एकतापछि त्यहाँ आफूले चित्तबुझ्दो, पावर, पोजिसन र स्पेस पाउने ठानेका छन्। तर, उनले विघटित नेकपाभित्र विवाद कहाँबाट सुरु भएको थियो वा २ वर्षअगाडि स्वयं आफू र प्रचण्ड कुन स्थानमा थिए भन्ने कुरा बिर्सिएका छन्।

अब मेरो पालो भन्ने बेलामा प्रचण्डलाई पावर दिन केपी ओली तयार भएनन्। जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सुप्रिम कमाण्डरको रुपमा शक्तिसँग खेलेका तथा आफू पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रपतिलाई नै बाइपास गरेर प्रधानसेनापतिलाई बर्खास्त गर्ने आँट गरेका प्रचण्ड यसरी बस्न सकेनन्। पावरलेस बस्न नसक्ने प्रचण्डले त्यसपछि विद्रोह सुरु गरेका थिए।

र, एमालेको नेतृत्वमा १४ वर्ष हालिमुहाली गरेका र पछिल्लो महाधिवेशनमा केपी ओलीसँगै पराजित भएका माधव नेपाललाई पनि त्यतिबेला शक्ति चाहिएको थियो। केपी ओलीलाई पल्टाइदिए शक्ति पाइने देखेका यी दुईको गठबन्धन यसरी शक्तिकै लागि भएको थियो जसले देशको राजनीतिलाई आजको मोडमा ल्याएको छ।

अब वृहत कम्युनिस्ट एकताको नाममा अर्को दल बनाइयो भने त्यहाँ माधव नेपालको हैसियत पनि २ नम्बरकै हो। एक नम्बरको निर्विवाद दावेदार प्रचण्ड नै हुन्। अहिलेलाई प्रचण्डलाई १ नम्बर अध्यक्ष मान्न र पार्टीको ‘मोस्ट पावरफुल’ व्यक्ति मान्न माधव नेपाल पनि तयार होलान्।

२०७५ जेठमा यही कुरा केपी ओलीलाई दिन प्रचण्ड पनि तयार भएका थिए। तर, त्यसपछि के हुन्छ भन्ने प्रमुख र महत्वपूर्ण हुन्छ। माओवादी नेकपामा विलय भएको समयमा बाहेक माओवादी अस्तित्वमा रहँदासम्म प्रचण्ड सुप्रिम कमाण्डर थिए र छन्। र, उनी पनि अरुसँग पावर शेयरिङ गर्न रुचाउँदैनन्।

एक दशकसम्म सत्तामा रहँदा पनि सत्ताबाहिर रहँदा पनि ‘किंगमेकर’को रुपमा नेपालको राजनीतिको केन्द्रमा रहेका प्रचण्डले पार्टीमा र पार्टीले सत्ता पाएको बेला सत्तामा अर्को कसैलाई प्रमुख कार्यकारी भूमिका दिन्छन् भन्ने नसोचे हुन्छ।

उनले माधव नेपाललाई यसरी घुमाइदिने छन् कि माधव नेपालको अस्तित्व नै धरापमा पर्नेछ। प्रचण्ड आफैं चतुर खेलाडी हुँदाहुँदै त केपी ओलीले यसरी घुमाएका थिए भने अब चतुर प्रचण्डले माधव नेपाललाई कसरी घुमाउलान् ? त्यो भविष्यले देखाउला।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *