हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

डिसी नेपाल
७ साउन २०७८ ७:२०
96
Shares

बलेवा । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो।

गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ। भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो। लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए।

“यहाँबाट गएको एम्बुलेन्स तर्न सकेन”, भण्डारीले भने, “दुई दिन रोकिएर ट्र्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याइयो ।” कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि ट्र्याक्टरमा लिएर लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ आफैँ ट्र्याक्टरमा गएका थिए।

“माथिल्लो मुस्ताङमा समस्या छैन, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुःख दिइरहेका छन्”, भण्डारीले भने, “अनेक विकल्प गरी गाउँमा खोप पु¥याएका छौँ ।” खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा समस्या भएको हो । यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि दाउराको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्बिर ‘भाइरल’ भएको थियो ।

स्वास्थ्य निर्देशनालय पोखराले मुस्ताङका स्वास्थ्यकर्मीले ट्र्याक्टरमा खोप ढुवानी गरेको विषयलाई आफ्नो सामाजिक सञ्जालमा साझा गरेको छ। देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *