निगम ‘कोल्याप्स’ गर्न लागेको भन्दै कर्मचारीहरु आन्दोलित

उपेन्द्र शाही
७ साउन २०७८ १२:२३

काठमाडौं। करिब ६५ वर्ष लामो इतिहास बोकेको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) चुर्लुम्मै श्रृणमा डुबेको छ।  चुस्त व्यवस्थापन र सञ्चालन गर्न नसक्दा प्रत्येक वर्ष जस्तो निगमको ऋणभार थपिँदै गई आर्थिक रूपमा धाराशायी बन्दै गएको छ। हाल करिब १० अर्ब सञ्चित घाटामा रहेको निगमले ४७ अर्ब भन्दा बढी ऋण भार बोकिरहेको छ।

सोही कारण नेपालको एक मात्रै ध्वजावाहक वायु सेवा निगमलाई उत्थानको लागि पब्लिक कम्पनीमा रुपान्तरण गर्ने योजना अघि सारिएको छ। निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ। तर, पब्लिकमा रुपान्तरण गरेर निगमलाई निजीकरण गर्न लागिएको र निगमको अस्तित्वनै समाप्त गर्न खोजिएको भन्दै त्यँहाका कर्मचारीहरु भने आन्दोलित भइरहेका छन।

दिन प्रतिदिन विवाद पेचिलो बन्दै जाँदा कर्मचारीहरुले संस्था जोगाउनका लागि धर्ना गरेको बताउँदै आएका छन भने सञ्चालकहरु पनि संस्था जोगाउनकै लागि यो सबै गर्नु परेको बताउँछन्। एउटै कुराका लागि कर्मचारी र सञ्चालक समिति एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका छन।

कर्मचारीहरु आन्दोलित बनेको २१ दिन बितिसक्दा पनि सरकार पक्षले बेवास्ता गरिरहेको छ। राष्ट्रिय गौरवको संस्थालाई निजीकरण गरी सञ्चालक समितिले निगमको अस्तित्व नै समाप्त गर्न खोजेको आन्दोलनमा सहभागी कर्मचारीकाे गुनासाे छ।

कर्मचारीहरु आन्दोलित बनेको २१ दिन बितिसक्दा पनि सरकार पक्षले बेवास्ता गरिरहेको छ। राष्ट्रिय गौरवको संस्थालाई निजीकरण गरी सञ्चालक समितिले निगमको अस्तित्व नै समाप्त गर्न खोजेको आन्दोलनमा सहभागी कर्मचारी केशव पौड्यालले बताए।

उनले भने,  ‘निगम निजीकरणका लागि सञ्चालक समितिबाट पठाएको निर्णय हामीले फेला पार्‍याैं एक त उहाँहरुले हामीहरुसँग छलफल नगरी चोर शैलीमा सुटुक्क निर्णय मन्त्रालयमा पठाउनु भएछ। त्यसपछि हामीले सञ्चालक समितिलाई ध्यानाकर्षण गरायौँ। उहाँहरुले सुरु सुरुमा यो कुरा लागू हुँदैन भनेर कर्मचारीहरुलाई विभिन्न बहाना बनाएर ढाक छोप गर्न खोज्नु भयो। मौखिक रुपमा नसुनेपछि हामीले लिखित रुपमा ध्यानार्कषण गरायौँ। र वार्ताका लागि आग्रह गर्‍याैं। तर, उहाँहरुले हामी तपाईहरुसँग वार्तामा बस्दैनौ। तपाईंहरुलाई जे जे मन लाग्छ गर्न भन्नु भयो। त्यसपछि हामी आफ्ना माग लिएर आन्दोलन गर्न बाध्य भएका हौँ।’

‘अघिल्ला आर्थिक वर्षहरुमा फाइदामा संस्थान फाइदामा थियो। तर, अहिलेका संञ्चालक आएपछि निगम आन्तरिक हिसाबमा धाराशायी बन्दै गएको हो। आन्तरिक उडानमा निगमलाई प्रतिस्प्रधि बनाउन नसक्नुको जिम्मेवारी संस्थापक पक्षले लिने कि नलिने ? भन्ने बेलामा नेपाल सरकारको संस्थागत सेयर भन्ने तर, काम गर्दा नेपाल सरकारको न पनि नराखी रातारात मन्त्रालयमा पुर्‍याइयाे। यस्तो कोभिडको महामारीमा महाप्रबन्धकको तलब आधा भन्दा धेरै बढाएर ४ लाख ५० हजार पुर्‍याइएको छ। अन्य कर्मचारीहरुको तलबमान ३० प्रतिशत घटाइएको छ। भन्ने बेलामा संस्थालाई घाटा भयो भन्ने तर, सञ्चालकको तलब वृद्धि गर्न कतिसम्मको लाचारी कुरा हो।’

आन्दोलन सहभागी अर्का कर्मचारीले देवेन्द्र पुनले भने, ’नेपाल सरकारलाई लागेको होला, यो संस्थालाई कम्पनीमा रुपान्तरण गरिदिएमा आफ्नो जिम्मेवारी, दायित्व लगाएतका सबै झण्झट जानेवाला छ। हामीलाई हेयका दृटिकोणले आफ्नो काम आफैं गर्छन् सके खान्छन नसके मर्छ भनेर। तर, हामीले बाढी, पहिरो, भूकम्प जस्ता विपत्ति र महामारीमा राज्यलाई आवश्यक पर्दा जोखिम मोलेर लगाएका गुणहरु सरकारले चटक्कै भुल्न मिल्दैन’

अरु थुप्रै देशका राष्ट्रिय ध्वजावाहक कोरोना कालमा संकटमा गएको बताउँदै उनले अरु देश जस्तै नेपाल सरकारले पनि निगमलाई सहयोग गर्नुपर्ने बताए। उनले निगमलाई अहिलेको व्यवस्थापकले चलाउन नसकेको बताए। यदि अहिलेको व्यवस्थापकले निगम चलाउन नसकेमा क्षमता र कार्यदक्षता भएका अन्य सञ्चालकहरुको कमी नभएको उनको भनाइ छ।

आफूहरुलाई राज्यको अर्बौं सम्पति दुरुपयोग हुने चिन्ता रहेको आन्दोलतरत कर्मचारीहरु बताउँछन्। अमूख पात्रको फाइदाका लागि सञ्चालक समितिबाट चलखेल भएको उनीहरुको आरोप छ। कोभिडको जोखिम लिएर कर्मचरी आन्दोलनमा उत्रिएको भन्दै उनीहरुले कर्मचारीको रोजीरोटी छिन्ने प्रयास गरिएको बताएका छन्।

आन्दोलनमा सहभागी अर्का कर्मचारी श्रृषिकेश पन्थीले भने ‘भाइरस संक्रमणको त्रास हुँदा हुँदै पनि हामी आन्दोलनमा छौँ। हाम्रो रोजीरोटी छिन्ने प्रयास हुँदैछ। जुन मजदुरको जब रोजिरोटी गुम्ने अवस्था आउँछ। त्यसबेला रोगको कुरा हुँदैन। भोकको कुरा हुन्छ।’

आन्दोलित कर्मचारीहरुले ‘निजीकरणको निर्णय खारेज गर’, ‘हवाई माफिया मुर्दाबाद’, ‘भ्रष्ट सञ्चालकहरु राजिनामा दे’ लगाएतका प्लेकार्ड सहितका नाराहरु लगाउने गरेका छन।

उनीहरुले निगमको निजीकरण गर्ने निर्णय खारेज हुनुपर्ने र महाप्रबन्धकको राजिनामा ससर्त राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

डुबेको निगम उत्थानका लागि गरिएको प्रयासमा धमिराहरु सक्रिय भए : महाप्रबन्धक पौडेल

नेपाल वायु सेवा निगमलाई यथास्थितिमा चलाउन सकिँदैन। नेपाल सरकारले सहयोग गर्नुपर्छ। हामीले यही कुरा सरकालाई भनेका थियौँ। त्यसपछि नेपाल सरकारले तपाईहरुलाई सहयोग गर्ने तर, तपाईंहरुले आन्तरिक रुपमा यो यो कामहरु गर्नुस भनेर एउटा गृहकार्य दिएको थियो। सोही बमोजिम हामी अगाडि बढ्यौँ।

निगमको उत्थानका लागि हामीले विभिन्न विकल्पहरुमा छलफल गर्‍याैं। यथास्थितिमा अब यो संस्थालाई सार्वजनिक संस्थानको रुपमा लिन सकिदैँन। र यसलाई कम्पनी मोडेलमा लिनु पर्छ भनेर हामीले विकल्प अघि सर्‍याैं। त्यसपछि सरकारबाट कम्पनी मोडेलमा लिनको लागि प्रबन्धपत्र र नियमावली बनाउन निर्देशन भयो। सोही अनुसार हामीले प्रबन्धपत्र र नियमावली तयार गरेर मन्त्रालयमा पठाएका हौँ। त्यो कहीँ कतै बाट पास गरेका छैनौँ।

त्यो पत्र हामीले पठाएपछि दुखका साथ भन्नु पर्छ, धमिलो पानीमा माछा मार्न विभिन्न खालका तत्वहरु सक्रिय भए। निगम भित्रकै केही धमिराहरु सक्रिय भए। र त्यो परिस्थिति बिगार्नका लागि भूमिका खेन्ने अल्छिहरु, काम नगर्नेहरु, काम चोरहरु, ठगहरु सक्रिय भए। अब कम्पनीमा गएमा मेहेनेत गर्नु पर्ने भन्ने उनीहरुलाई लागेको हुनुपर्छ। ठगि खान पल्केकाहरु मेहेनेत गर्नुपर्छ भनेर निजीकरण भएको, बेचेर खान लागेको जस्ता कथित आरोप लगाउँदै छन्।

म चुनौति दिएर भन्न चाहन्छु। निजीकरण गर्ने निर्णय कहाँ भयो ?  बेच्ने निर्णय कहाँ भयो ?  ८० अर्बको जायजेथा भएको निगमलाई ५० अर्बमा बेच्न लाग्यो भन्ने कथित झुटा आरोपहरु लगाइएको छ। यस्ता अफवाहा फैलाउनेलाई कानुन र व्यवस्थापनले सजाय दिनेछ।

निगम प्रत्यके दिन प्रतिदिन ऋणमा भासिदै जानुको प्रमुख कारण विकृत राजनीतिको प्रभाव र सरकारी जागिर भएपछि काम गर्न नपर्ने मनशाय हो। सोही कारण निगम कोल्याप्स हुने खतरामा पुग्यो।

हामीले अघि सारेको मोडेलमा नेपाल सरकारले सकेमा पूर्ण र नसकेमा अधिकतम लगानी रहने गरी अघि बढ्ने हो। मुख्य कुरा कम्पनीका मूल्य र मान्यताहरुलाई संस्थागत गरेर सार्वजनिक संस्थान जस्तो हर समय राजनीतिक हस्तक्षेप नहुने गरी, कम्पनीको नियम कानुन अनुसार चल्ने गरी यही सेवा, यिनै कर्मचारी मार्फत यिनै सेवा सुविधाका साथ नयाँ कम्पनी मोडेलमा हामी जान खोजेको हौँ।

पटक पटक वार्तामा बोलाए पनि कर्मचारीहरुले बेवास्ता गरेर यो विषयलाई अतिरञ्जित गर्न खोजेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *