डिजिटल प्रविधिको अत्यधिक प्रयोगले मानव शरीरमा गम्भीर असर पुर्याउँदै: बच्नका लागि विज्ञहरूको यस्तो सुझाव
काठमाडौँ । मोबाइल फोन र डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले मानव मस्तिष्कमा पार्ने प्रभावका बारेमा धेरै चिन्ता व्यक्त गरिने भए पनि यसले समग्र शारीरिक संरचना र कार्यप्रणालीमा समेत गम्भीर परिवर्तन ल्याइरहेको हालैका वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।
लामो समयसम्म मोबाइल समात्दा हातको कान्छी औँलामा कडा गाँठो पर्ने, गर्धनको आकार बिग्रने, आँखामा समस्या आउने, हातको चाल प्रभावित हुने र मांसपेशीको शक्ति घट्ने जस्ता समस्याहरू बढ्दै गएका छन्।
कतिपय विज्ञहरूका अनुसार प्रविधिमा आधारित अस्वस्थ जीवनशैलीले अनुहारमा चाँडै चाउरीपना समेत बढाउन सक्छ। यी शारीरिक समस्याहरू समयमै समाधान नगरिए कालान्तरमा स्मरणशक्ति र सोच्ने-बुझ्ने क्षमतामा ह्रास आउने जस्ता गम्भीर मानसिक संकटहरू उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।
विशेष गरी, स्क्रिन हेर्नका लागि टाउकोलाई अगाडितिर झुकाउने अवस्थालाई चिकित्सा विज्ञानमा “फरवार्ड हेड पोस्चर” वा “टेक नेक” भनिन्छ। यसरी टाउको झुकाउँदा गर्धनमा २७ किलोग्रामसम्म अतिरिक्त दबाब पर्छ, जसले मेरुदण्डको डिस्कलाई नोक्सान पुर्याउनुका साथै जोर्नी र मांसपेशीलाई कमजोर बनाउँछ।
बेलायतको रोयल कलेज अफ फिजिसियन्सकी कन्सल्टेन्ट छाला रोग विशेषज्ञ जस्टिन हेक्सटालका अनुसार लगातार गर्धन झुकाउँदा छालामा चाउरीपना आउने सम्भावना रहे पनि यसबारे ठोस अनुसन्धान हुन भने बाँकी नै छ।
यसका साथै, स्मार्टवाच जस्ता उपकरणहरू निरन्तर बाँधिरहँदा ओसिलो र अँध्यारो वातावरणका कारण छालामा ‘इस्ट’ फस्टाएर एक्जिमा वा जलन हुन सक्ने र उपकरणमा प्रयोग हुने निकेल तथा रबर जस्ता पदार्थले एलर्जी बढाउन सक्ने भएकाले समय-समयमा घडी फुकाल्न र छाला सफा राख्न उनले सुझाव दिएकी छन्।
त्यसैगरी, पछिल्ला दशकहरूमा संसारभर मायोपिया (नजिकको वस्तु स्पष्ट देखिने तर टाढाको धमिलो देखिने दृष्टिदोष) का बिरामीहरू तीव्र रूपमा बढिरहेका छन्। अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अप्टोमेट्री प्राध्यापक डोनाल्ड मट्टीका अनुसार मोबाइललाई आँखाको नजिक राखेर काम गर्नु मात्र यसको मुख्य कारण होइन, बरु प्रविधिका कारण मानिसहरू घरभित्रै बढी समय बिताउनु र बाहिरी प्राकृतिक प्रकाशबाट टाढिनु यसको अप्रत्यक्ष कारण हो। बाहिरको उज्यालोले रेटिनाबाट डोपामिनको स्राव बढाउँछ, जसले आँखाको सही विकासमा मद्दत गर्छ। त्यसैले आँखाको रक्षा र राम्रो निद्राका लागि खुला र बाहिरी वातावरणमा बढी समय बिताउनु आवश्यक रहेको उनको भनाइ छ।
अर्कोतर्फ, युवा पुस्तामा हा-तको समात्ने शक्ति (ग्रिप स्ट्रेन्थ) लगातार घट्दै गइरहेको पाइएको छ, जसलाई मानवको समग्र स्वास्थ्य र दीर्घायुको महत्त्वपूर्ण सूचक मानिन्छ। जर्मनीको मेडिकल युनिभर्सिटी अफ लजिट्जका प्राध्यापक योहानेस बेलरका अनुसार कम्प्युटर र स्क्रिनमा आधारित काम तथा लामो समयसम्म बसिरहने बानीका कारण शारीरिक तन्दुरुस्तीमा ठूलो ह्रास आइरहेको छ। पकड बलियो बनाउन र शारीरिक रूपमा स्वस्थ रहन नियमित व्यायाम र जिम जानु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।
यसका साथै, प्रविधिको अत्यधिक प्रयोगले बालबालिकाको मोटर स्किल्स (शारीरिक र मानसिक सन्तुलन मिलाएर सटिक काम गर्ने क्षमता) र हात-आँखाको समन्वयलाई समेत कमजोर बनाउँदै लगेको छ। जर्मनीको युनिभर्सिटी अफ रेगेन्सबर्गका प्राध्यापक सेबेस्टियन सुगेटको अनुसन्धानले बढी स्क्रिन टाइम र कमजोर मोटर स्किल्सबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छ।
उनी भन्छन्, “यो संसारकै अन्त्य भने होइन र यसको प्रभाव अत्यन्तै सूक्ष्म छ, तर धेरै पुस्तासम्म यो क्रम जारी रहेमा समाजकै सोच्ने र व्यावहारिक क्षमतामा ठूलो गिरावट आउन सक्छ, किनकि हाम्रा हातहरू नै यो वास्तविक संसारसँग सम्पर्क स्थापित गर्ने प्रमुख माध्यम हुन्।”
यसबाट बच्नका लागि स्क्रिनको प्रयोग पूर्ण रूपमा बन्द गर्नुको साटो दैनिक जीवनमा हातको बढी प्रयोग हुने कामहरू जस्तै—खाना पकाउने, हस्तकलाका काम गर्ने वा हातले लेख्ने बानी बसाल्न विज्ञहरूले आग्रह गरेका छन्।






डिसी नेपाल





Facebook Comment