कोरोना तेस्रो लहरको सम्भावना नजिक !

तर्कबहादुर थापा
८ साउन २०७८ ७:५३

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको संक्रमणदर उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन उकालो लागिरहेको छ।

कोरोनाको संक्रमणदर उकालो लाग्नुले नेपालमा कोरोनाको जोखिम कायम रहेको विज्ञहरुको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रमुख डा. अनुप वास्तोला पछिल्लो समय इमरजेन्सिमा भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको बताउँछन्।

डा. वास्तोला टेकु अस्पतालको इमरजेन्सिमा दैनिक १४÷१५ जना लक्षणसहितका विरामीहरु आउने गरेको र त्यसको करिव ५० प्रतिशत अस्पताल भर्ना हुने गरेको बताउँछन्।

‘२४ बेडको आइसीयूमा २१ जना सिकिस्त कोरोनाका विरामीहरु छन्,’ डा. वास्तोलाले भने, ‘कोभिड एचडियूमा ३५ जना विरामीहरु छन्। यस्तै, स्पेसल आइसीयूमा पनि ५ जना विरामी रहेका छन्।’

आम मानिसहरुले अपनाउनु पर्ने सावधानि नअपनाएका कारण संक्रमण बढ्दै गइरहेको उनको भनाइ छ। ‘डेल्टाप्लस भेरियन्ट नेपालमा विद्यमान रहेको छ।’ डा वास्तोलाले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्यका मापदण्डहरुलाई हामीले पालना गर्न सकेनौँ र त्यसको कारण नै नेपालमा पछिल्ला समय कोरोनाको महामारी बढ्दै गएको हो।’

खोप लगाएका व्यक्तिहरु पनि अस्पताल भर्ना हुने गरेको डा. वास्तोलाको भनाइ छ। ‘खोप लगाएपछि मलाई केही हुँदैन भन्ने बुझेर मापदण्ड पालना नगरेका कारण केही दिनमा उनीहरु नै अस्पताल भर्ना हुने अवस्था आएको छ,’ डा. वास्तोलाले भने। खोप लगाएकाहरु अस्पताल आउने संख्या भने धेरै नभएको उनले बताए।

खोप अभियान चालु भएपछि पनि कोरोनाको संक्रमणदरमा कमी नआउनु लापरवाही नै भएको सिभिल अस्पतालका डा.सुमनबाबु मरहठा बताउँछन्। उनले भने, ‘कोभिडको खोप लगाउने ठाउँमा पनि मापदण्ड अपनाइएको पाइँदैन। खोपले दोस्रो डोज लगाएपछिमात्र काम गर्न थाल्छ। हामीले पहिलो डोज लगाउने बेला नै मापदण्डलाई पालना नगरेर संक्रमणदरलाई वृद्धि गराइरहेका छौं’

लक्षण भएका व्यक्तिहरु परीक्षणको दायरामा नआउनुले पनि कोरोनाको संक्रमण भित्रभित्र फैलिएको मान्न सकिने विज्ञहरुको भनाइ छ। सरकारले विभिन्न ठाउँमा कोरोनाको लक्षण भएका व्यक्तिहरुका लागि निःशुल्क परीक्षणको व्यवस्था गरे पनि व्यक्तिहरु नै परीक्षणका लागि आउने गरेका छैनन्।

पोजेटिभिटी दर बढ्दो छ : स्वास्थ्य मान्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा पोजेटिभिटीदर पनि बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयले नेपालमा कोरोना सुरुदेखि नै १९ प्रतिशत पोजेटिभिटीदर भए पनि अहिले बढेर २१ प्रतिशत पुगेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार असार ३० गतेसम्म पाँच सय सक्रिय संक्रमित रहेका जिल्लाहरुको संख्या अहिले १० पुगेको छ। साउन लागेपछि सुदूरपश्चिम प्रदेशमा दुई जनाको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको रेकर्ड मन्त्रालयसँग छ।

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजारको नजिक संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार नौं सय १८ र एन्टिजेनबाट नौ सय २० जना गरी जम्मा दुई हजार आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मापदण्ड नै प्रमुख कारण

कोरोना संक्रमणदर बढ्दै जानुमा मापदण्ड नै प्रमुख कारण भएको विज्ञहरुको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मापदण्डको उचित पालना नहुँदा पछिल्ला केहीदिनमा कोरोनाको ग्राफ उकालो लागेको बताएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार निषेधाज्ञा खुकुलो भएका कारण सर्वसाधारणले पालना गर्नु पर्ने स्वास्थ्यका मापदण्डहरु पालना नगरेका कारण संक्रमणदर बढ्दै गएको हो।

उनले भने, ‘हामी नियम पालना गर्दैनौं। खोप लगाएका के नलगाएका सबैले स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्ने हो। नगरेका कारण पछिल्लो समय कोरोनाको दर पुनः बढेको हो।

कोरोनाको संक्रमणदर बढ्दोक्रममा रहनु र डेल्टाप्लस भेरियन्ट नेपालमा मौजुदा रहेका कारण तेस्रोलहरको समेत खतरा बढ्दै गएको छ।
टेकु अस्पतालका प्रमुख डा. वास्तोला मापदण्डको पालना नगरेका कारण आउनेदिनहरु अझै कठिन हुनसक्ने बताउँछन्। उनले भने, ‘तेस्रो लहरको पनि जोखिममा पर्नसक्ने ठूलो सम्भावना अहिले देखिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *