निर्मला पन्त हत्या प्रकरणः तीन वर्षसम्म दोषी पत्ता नलागेको एक रहस्यमयी केस

डिसी नेपाल
१० साउन २०७८ १८:३९

काठमाडौं । कञ्चनपुर भीमदत्त नगपालिकाकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष वितिसक्दा पनि हत्यरा पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, कञ्चनपुर प्रहरी तथा दर्जनौ अनुसन्धान समिति बन्दा समेत पन्तको हत्यरा पक्राउ परेका छैनन्। १० साउन २०७५ सालमा साथी घरमा गृहकार्य गर्न गएकी निर्मला भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन्। भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलालाई बलात्कारपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनको हत्या भएको पनि तीन वर्ष वितिसकेको छ। तीन वर्षसम्म प्रहरीले दर्जनौ पटक अनुसन्धान समिति बनाएर काम गर्यो, सो प्रकरणमा प्रहरी अधिकारीहरुलाई प्रमण नष्ट गरेको आरोपमा कारवाही गरियो तर पनि हत्यरा भने अझै फेला परेनन्। हत्या प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको २३ दिनपछि भदौ २ गते भिमदत्त १९, बाँगफाँटाका ३९ वर्षीय दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो।

सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँगको बयानमा आफैले हत्या गरेको स्वीकारेका छन्। पछिल्ला केही भिडियोमा पनि उनले निर्मलाको हत्या गरेको स्वीकारेका छन्। तर उनको डिएनए परीक्षण गर्ने क्रममा नमिलेपछि उन्मुक्ति पाएदेखिनै प्रहरीले घट्नाको अनुसन्धानमा असफल देखिएको छ।

उनले साविती बयान दिएको भएपनि प्रहरीले उनलाई पछिल्लो समय पक्राउ गर्ने आँट गरेको छैन। विभिन्न नागरिक समाजको नाममा आन्दोलन हुँदा हत्या प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्याउने भन्दा पनि विथाल्ने काम भएपछि अहिलेसम्म प्रहरीले कोही कसैलाई पक्राउ गर्न सकेको छैन। तर पनि नेपाल प्रहरीले चाडै अपराधी पक्राउ पर्ने दावी गरिरहेको छ। ‘हामीले अधितम प्रयास गरिरहेका छैन चाँडै नै निर्मला पन्तको हत्यरा पक्राउ पर्छन’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने।

तत्कालिन समयमा सिआइबीका डिएसपी अंगुर जिसीको टोलीले अनुसन्धान गर्ने क्रममा ०७५ भदौ ४ गते घटना स्थलमा कपडाको टुक्रा फेला पारेको थियो सोही टुक्रा विष्टको सर्टसँग मिलेको र विष्टले दिएको बयान समेत मिलेपछि उसलाई नै पक्राउ गरेर सार्वजनिक गरेको थियो। विष्टको घरमा प्रहरीले वडाध्यक्षसहितलाई राखेर बरामद सर्ट, कट्टु सहितका सामानको मुचुल्का गरेको थियो। विष्टको आफ्नो बयानमा बलात्कार गरेर हत्या गरेको बताएका थिए।

तर, उनको डिएनए नमिलेपछि विष्ट उन्मुक्त भए। साथै पक्राउ परेका उनी मानसिक रुपमा असन्तुलन भएको प्रमाणित गरियो र योसँगै मानव अधिकारकर्मी र अभियान्ताहरूको दबाबमा बयान दिन लगाइएको समेत अफवाहा फैलाएर निर्मलाको हत्यारालाई उम्काइएको थियो।े

निर्मलाको हत्या भएपछि देशभर उनको न्यायका लागि एक प्रकारको आन्दोलननै भएको थियो। त्यसपछि गृहमन्त्रालयले ०७५ भदौ ७ मा गृह तत्कालीन कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। सो समितिको सिफारिसको आधारमा भदौ २८ गते एसपी दिल्लीराज विष्ट, उनका छोरा र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिज आयुष विष्टको डिएनए परीक्षण गरेको थियो।

तर, उनीहरूको तिनै जनाको रिपोर्ट मिलेन । मैनालीको नेतृत्वमा गठन गरिएको समितिले ३० भदौमा गृह मन्त्रीलाई बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा कञ्चनपुरका तत्कालीन एसपी दिल्ली राज विष्टसहित ५ जना प्रहरीहरू निलम्बनमा परेका थिए । ३१ भदौमा प्रहरी प्रधान कार्यालयले एसपी उत्तम सुवेदीको नेतृत्वमा रहेको समितिलाई विस्तार गरी डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ समिति बनाएर अनुसन्थान सुरु गरिएको थियो। २२ असोजमा प्रमाण नष्ट गरेको आरोपमा प्रहरी प्रधान कार्यालयद्वारा घटना स्थल अनुसन्धान अधिकृत रहेका प्रहरी नायव निरीक्षक हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बन गरियो। प्रहरीले आफ्ना कर्मचारीलाई निलम्बन गर्ने तर हत्यारा भने उम्कने अवस्था आइरह्यो । जसको परिणम अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेनन्।

०७६ साल १५ माघमा डिआइजी सुरज केसीको नेतृत्वमा निर्मला पन्त घटनाबारे यसअघि गरिएका अनुसन्धानको पुनरावलोकन गर्न ०७५ साल ७ भदौमा गठन गरेको सदस्यीय समिति ब्यूउँतियो। डिआइजी केसी नेतृत्वको पुनरावलोकनको प्रतिवेदन प्रहरी प्रधान कार्यालयद्वारा स्वीकार गरेर एआइजी धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै खारेज गरेर प्रहरी कर्मचारीलाई उन्मुक्ति दियो । तर निर्मलाको हत्या गरेको साविती बयान गर्ने विष्ट भने अहिलेसम्म प्रहरीको मिसनभन्दा बाहिर रहेका छन्।

निर्मला पन्तको हत्या भएपछि हालसम्म ३–३ जना गृहमन्त्री र प्रहरी महानिरीक्षक फेरबदल भए, तर पनि नयाँ कुरा पत्ता लागेको छैन। प्रहरीले आफुहरु अनुसन्धानमै रहेको र अनुसन्धानको दायरामा साँघुरिएको बताएका छन्। ‘सिआइबीको एउटा टोली अहिलेपनि अनुसन्धानमै छ हामी हत्याराको नजिक नजिक पुगेका छौ’, केन्द्रीय प्रवक्ता कुँवरले भने।

प्रहरीले निर्मला हत्या प्रकरणमा मात्रै असफल भएको देखिन्छ। यसअघि रानीवारी हत्याकाण्डदेखि ठूला अपराधको पनि कुशलतापूर्वक अनुसन्धान गरेको प्रहरीलाई निर्मलाको हत्यारा पक्राउ गर्न कसले रोकेको छ वा यसलाई यत्तिकै टार्न चाहेको छ भन्ने प्रश्न यतिबेला उब्जेको छ।

धेरैतिरको दबाबका बाबजुत प्रहरीको अनुसन्धानले सकारात्मक मोड लिएमा अभियुक्त पक्राउ पर्न सक्ने भएपनि प्रहरीको माथिल्लो नेतृत्व नै यसबारेमा मौन रहेको छ। घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएपनि यसको कुनै निचोड ननिस्कनुमा पुरानो अनुसन्धान नै सही हो भन्ने बाटोमा फर्किन प्रहरीलाई अप्ठेरो भएको होकि भन्ने शंका पनि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *