क्राइम ब्रान्च अधिकारीहरुसँग घर आएका राजलाई देख्नासाथ शिल्पाले चिच्याउँदै गाली गरिन्

डिसी नेपाल
१२ साउन २०७८ १०:३९

काठमाडौं। पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्राको कठिनाइ बढ्दो देखिएको छ । उनका ह्वाट्सएप च्याट, फोन, प्रत्यक्षदर्शीहरुको बयान सबै राजको विपक्षमा गएका छन् । यही विषयमा २३ जुलाइका दिन राजकी पत्नी शिल्पा शेट्टीसँग सोधपुछ गरिएको थियो । क्राइम ब्रान्चका अधिकारीहरु शिल्पाको घरमै गएर यस विषयमा सोधपुछ गरेका थिए । उनीहरुले सोधपुछका लागि राजलाई पनि साथमै लिएर गएका थिए र राजलाई अगाडि राखेर शिल्पासँग सोधपुछ गरिएको थियो ।

भारतीय मिडियाका अनुसार २३ जुलाइ शुक्रबारका दिन क्राइम ब्रान्चका अधिकारीहरु राजलाई लिएर उनको घर पुग्दा राजलाई देख्नासाथ शिल्पाले रिसले चिच्याएकी थिइन् । उनले चिच्याउँदै राजलाई उनको यो केसले परिवारको बदनामी गरेको भन्दै गाली गरेकी थिइन् । शिल्पाले यो केसका कारण कैयौं एन्डोर्समेन्ट र व्यवसायिक डिल गुमाउनुपरेको भन्दै राजसँग आक्रोश पोखेकी थिइन् ।

त्यस दिन शिल्पासँग ६ घण्टा सोधपुछ गरिएको थियो र उनको बयान रेकर्ड गरिएको छ । क्राइम ब्रान्चका अधिकारीहरुले यो केसमा शिल्पा शेट्टीको कुनै भूमिका नभएको बताएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म यो केसमा शिल्पाको संलग्नता भेटिएको छैन । त्यसैले उनीसँग फेरि प्रश्न गरिने छैन । राज पक्राउ परेसँगै शिल्पा निकै निराश भएकी थिइन् । उनको रिस, आश्चर्य, हडबडी सबै राजलाई देख्नासाथ पोखिएको थियो ।

त्यस दिन राजलाई देख्नासाथ उनले आफ्नो नियन्त्रण गुमाइन् । अधिकारीहरुका अनुसार त्यस दिन उनी निकै चिच्याएकी थिइन् र त्यसपछि रोएकी थिइन् । शिल्पाले यो केसका कारण परिवारको बदनामीका साथै कैयौं व्यवसायिक डीलहरु रद्द भएको बताएकी थिइन् । यस क्रममा राजले पनि शिल्पासँग आफू निर्दोष भएको र आफूविरुद्ध बनाइएको यो केसको कुनै आधार नभएको बताएका थिए । राजले आफूले पोर्न नभइ इरोटिक फिल्म बनाएको बताएका थिए ।

सोधपुछका क्रममा पहिले शिल्पा निकै रिसाएको भए पनि पछि उनले राजको पक्ष लिएकी थिइन् । शिल्पाले हटशट्स एपसँग आफ्नो कुनै सम्बन्ध नभएको बताइन् । उनले राजको ओटिटी प्लेटफर्ममा भएका भन्दा अन्य ओटिटी प्लेटफर्ममा भएका फिल्म धेरै अश्लील भएको दावी पनि गरेकी थिइन् । राजलाई १९ जुलाइमा पक्राउ गरिएको थियो । त्यसपछि अदालतले उनलाई २३ जुलाइसम्म हिरासतमा राख्न भनेकोमा २३ जुलाइमा उनलाई न्यायिक हिरासतमा राख्न जेल पठाइएको थियो । उनको अर्को सुनुवाइ आज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *