आविष्कार केन्द्रको शाखा अमेरिकामा खोल्ने तयारी भएको छ : महावीर पुन – Dcnepal

आविष्कार केन्द्रको शाखा अमेरिकामा खोल्ने तयारी भएको छ : महावीर पुन

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा चिनिन्छिन्। विशेष गरी वायरलेस प्रविधिद्वारा मुलुकमा ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य लिएका पुनले राष्ट्रिय आविस्कार केन्द्र खोलेका छन् र त्यसमार्फत काम गरिरहेका छन्।

पुनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिनेका लागि निशुल्क पीपीई वितरण गरिरहेका छन्। उनै केही समय अगाडि अमेरिकाको भ्रमणमा गएका थिए। राष्ट्रिय आविस्कार केन्द्र र अमेरिकी भ्रमणलगायतका विषयमा पुनसँग डिसी नेपालका लागि फुर्पा शेर्पाले गरेको कुराकानीको संपादित अंश :

तपाईंको अमेरिका भ्रमण के को लागि थियो ?, त्यहाँ पुगेर के के गर्नु भयो ?

यही मे २३ मा म अमेरिका पुगेँ। मलाई अमेरिकाको विश्वविद्यालय पढ्नका लागि सहयोग गर्ने एक जना प्राध्यापक डा.लियोनर्ड स्कोव हुनु हुन्थ्यो। त्यतिबेला मलाई उहाँले सहयोग गर्नु भएको थियो। र, पढिसकेर नेपाल फर्किए पछि पनि नेपालमा विभिन्न किसिमको कामहरु गर्दै जाँदा उहाँले निरन्तर रुपमा सहयोग गर्दै जानु भएको थियो।

उहाँको मृत्यु भएको हुनाले उहाँको मेमोरियल सर्भिसमा गएको हो। त्यही कार्यक्रममा गएको बेला अमेरिकाको विभिन्न ठाउँमा बस्ने साथीहरुले मिलेर विभिन्न सिटीहरु, स्टेटहरुमा जाने कार्यकमहरु बनाउनु भयो।

त्यही कार्यक्रम अन्तर्गत सुरुमा कानसास स्टेट् त्यसपछि नेब्रास्का, साउथ डाकोटा, कोलोराडो, क्यालिफोर्निया, हुवाई गरी २९ वटा ओटा राज्यहरुको ५३ वटा सहरहरुमा जाने मौका पाएँ।

तीे ठाउँहरुमा गएर मैले राष्ट्रिय आविष्कार केन्द्रले कोरोना माहामारी अगाडि र कोरोना माहामारीको समयमा गरेका कामहरुको बारेमा जानकारी गराए। त्यहाँ छलफल गर्ने मौका पाइयो र धेरै दाजुभाइ दिदी बहिनीहरुले आविष्कार केन्द्रले गर्ने कामहरुको बारेमा जिज्ञासा लिनु भयो।

तपाईंको भ्रमण कस्तो रह्यो ?

भ्रमण यस्तो उस्तो भयो होला अर्थात् भ्रमण रमाइलो भयो होला भनेर धेरैले सोद्धछन्। र, कतिले भ्रमणको उपलब्धि के भयो, कति पैसा जम्मा भयो भन्ने हिसाबले सोध्ने गर्छन्। म त्यहाँको हरेक ठाउँमा कुनै पैसा सङ्कलन गर्न गएको होइन। किनभने हामीले कहिले पनि फन्ड् सङ्कलन गर्ने भनेर त्यस्तो किसिमको कार्यकमहरु राख्दैनौं र राखेको पनि छैन्।

आर्थिक सहयोग गर्ने मन भएकाले आफ्नो सो इच्छाले गर्ने हो र धेरैले आविष्कार केन्द्रले गरेको काम देखेर सहयोग गरिराख्नु भएको छ। राष्ट्रिय आविष्कार केन्द्रले गरेको काम देखेर चित्त बुझेर आफैले स्वइच्छाले सहयोग गरिराख्नु भएको छ। र, अमेरिकाको हरेक ठाउँमा डुल्दा पनि मैले फन्ड संकलन गर्न आएको होइन अविष्कार केन्द्रको बारेमा जानकारी दिन आएको बताएको छु।

म कुन ठाउँमा कति पैसा सङ्कलन भयो भनेर कहिले पनि सोध्ने गर्दिन। कार्यक्रमहरुमा भाग लिने अथवा कार्यकम आयोजना गर्ने आयोजक तथा सहभागिता वर्गहरुले नै त्यसको हिसाब गरेर आविष्कार केन्द्रको खातामा पैसा पठाइदिनु हुन्छ र जानकारी गराउनु हुन्छ। हामीले जानकारी पाएपछि उहाँहरुलाई रसिद उपलब्ध गराउँछौं।

त्यहाँका नेपाली समुदायको प्रतिक्रिया के आयो र के उपलब्धि भयो?

हाम्रो कार्यक्रममा सयभन्दा बढी मान्छेहरु आएर भाग लिनु भयो। कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र के हो, के काम गरिरहेको छ र कोरोना महामारीमा धेरै काम गर्यो भनेर सामाजिक सञ्जालहरुबाट सुन्यौ, भनेर उहाँहरु सोध्न बुझ्न आउनु भएको थियो। उहाँहरुको धेरै राम्रो प्रतिक्रिया थियो। र, सुझाव, सल्लाह र प्रतिबद्धताको कुराहरु पनि आए। राष्ट्रिय आविष्कार केन्द्रलाई भविष्यमा कसरी सहयोग गर्न सक्छौं ? भनेर धेरैले सोध्नु भयो।

राष्ट्रिय आविष्कार केन्द्रको एउटा शाखा अमेरिकामा पनि खोल्ने कुरा भएको छ। उक्त शाखाबाट अमेरिकामै बसेर अनुसन्धान गर्ने, अनुसन्धानकर्तादेखि लिएर अमेरिकामा बस्ने युवायुवतीहरुलाई त्यसमा समावेश गराउने बारे छलफल भएको छ।

सो क्रममा स्वास्थ्यसम्बन्धी ५५ ओटा भेन्टिलेट्र र अन्य सामागीहरु पनि उपलब्ध भयो। नेपालीहरुको लागि नगद मात्र नभएर कोरोनाविरुद्धका धेरै सामग्रीहरु पायौं। पहिला जति मान्छेहरुले आविष्कार केन्द्रको बारेमा सुनेका थिए त्यो भन्दा पनि अझ धेरै सुन्न पाए भन्ने चाहिँ मैले उपलब्धको रुपमा हेरेको छु।

आविष्कार केन्द्रले कोरोना महामारीमा के के काम गर्‍याे ?

कोरोना महामारीअघि हामीले २६ वटा प्रोजेक्ट्अनुसार काम गरिराखेका थियौं। ती प्रोजेक्ट्हरुमा जुन गतिमा काम भइरहेको थियो, त्यो गति कोरोनाले गर्दा कम भएको छ। किनकि हाम्रो ध्यान स्वास्थ्यकर्मीहरुलाई बचाउन कोरोनाविरुद्ध विभिन्न सामाग्रीहरु बनाउने तिर केन्द्रित भयो। त्यही भएर कोरोना अघिको प्रोजेक्टहरुमा त्यति ध्यान दिन पाइएको छैन। त्यही पनि अलिअलि कामहरु भइराखेको छ।

कोरोना महामारीकै लागि भनेर १३ किसिमका विभिन्न उत्पादनहरु (सामाग्रीहरु) स्वास्थ्यकर्मी तथा डाक्टरहरु कै सुझाव अनुसार बनायौं। र, ती सामाग्रीहरु बनाएर निःशुल्क विभिन्न अस्पताल, स्वास्थ्य चौकीदेखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित सबैलाई वितरण गर्दै आएका छौं। ती सामाग्री के के बन्यो भनेर हामीले विस्तारमा हाम्रो वेबसाइटमा राखेका छौं।

आविष्कार केन्द्रलाई सरकारको तर्फबाट सहयोग भएको छ ?

सरकारसँग सहयोग माग्न गएका पनि छैनौं, जाँदा पनि जादैनौं। सहयोग पाएका पनि छैनौं र लिएका पनि छैनौं। सरकारले राष्ट्रियस्तरका विभिन्न किसिमको कामहरु गर्नु पर्ने हुन्छ र हामीले गरेको सानो काम हो।

हामीलाई नेपाल र विदेशबाट गरी कोरोनाको महामारीमा २० करोड रुपैयाँ जति नगद सहयोग उपलब्ध भएको थियो। त्यही अनुसारको काम गर्‍याैं, त्यो भनेको खास ठूलो काम होइन त्यसकारणले हामीले ठूलो काम गर्‍ याैं भनेर पनि भन्दैनौं। तरपनि जे होस् आफूले सक्ने काम गर्‍याैं।

देश विदेशीबाट सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुले सहयोग नगरेको भए हामीले गरिराखेको काम गर्न पनि सक्दैन थियौं। किनभने हामी एक्लैको क्षमता पनि थिएन।

कोरोना माहामारीविरुद्धका पिपिईलगायतका सामाग्रीहरु निःशुल्क वितरण गर्नु भएको हो?

हामीले सबै सामाग्रीहरु निःशुल्क वितरण गरिराखेका छौं। कसैसँग पनि मूल्य तोकेर पैसा लिएका छैनौं। तर, यदि कसैले पैसा तिर्न चाहन्छ भने उनीहरुले दान गर्न सक्छन्।

यो महामारी भनेको व्यापार गर्ने, पैसा कमाउने समय होइन। अर्को माहामारीमा जे जति सामाग्रीहरु बनायौं त्यो हाम्रो पैसाले बनाएको पनि होइन। सबै दाताहरुको पैसाले बनाएको हो। हामीलाई संसारभरिको सहयोग आइरहेको छ। साथै, नेपालबाट पनि विभिन्न दाताहरु आएर सहयोग गरिराख्नु भएको छ।

उहाँहरुले कोरोनाविरुद्ध लड्नको लागि सहयोग होस् भनेर दिएको हो र हामीले त्यही पैसा खर्च गरेर सामाग्रीहरु बनाएका हौं। यसरी जनताको रुचि अनुसार दिइएको पैसा नै प्रयोग गरेर निःशुल्क वितरण गरेका हौं।

केन्द्रको अब भविष्यमा के के गर्ने लक्ष्य छ ?

यो केन्द्र एनजीओ आइएनजीओ होइन र यो कुनै स्थानीय सरकार जस्तो पनि होइन। म यो किन भन्दै छु भने कुनै एनजीओ आइएनजीओहरुको योजना हुन्छ, अब आगामी वर्षमा यो यो काम गर्ने भनेर सरकारको पनि योजना हुन्छ।

राष्ट्रिय अविष्कार केन्द्र भनेको त्यसरी चल्ने संस्था होइन। कुन समयमा कस्तो किसिमको विचार कसलाई आउँछ भन्ने होइन। हाम्रो योजना छोटकरीमा भन्ने हो भने भविष्यमा जो जसले एकदमै इनोभेटिभ, रचनात्मक विचार लिएर आउँछ, त्यो अनुसार काम गर्ने हो। भविष्यमा कृषि, इन्जिनियर, स्वास्थ्यको क्षेत्रमा काम गर्ने भनेर योजना बनाइँदैन।

अहिलेसम्म गरेका काममा के कस्ता अप्ठ्याराहरु छन् ?

अप्ठ्यारो केही छैन। कुनै पनि नगरेको काम सुरुमा गर्नलाई मेसो पाइँदैन भनिन्छ तर अहिले अविष्कार केन्द्रमा कहिले नगरिएको काम पनि भइराखेको छ। हामीले कामहरु सिक्दै गर्दै जानु पर्छ।

यहाँ विचार र अनुभवको कमी हो, हामीसँग खारिएका अनुभवी अनुसन्धानकर्ताहरु पनि छैनन्। साधारण काम गर्दा पनि निकै प्रयास गर्नु पर्छ। नजानेकोले गर्दा एक दुई दिन लाग्ने काम १० दिन, एक महिना, एक वर्ष लाग्न पनि सक्छ। त्यस कारणले अप्ठायारो भनेको यही हो।

यसप्रति युवाको संलग्नता र सोच कस्तो पाउनु भयो ?

हामीले यो केन्द्र खोलेको तीन वर्षमा अनुभव गरेको भनेको कुरा मान्छेहरु नेपालमा पनि केही गर्छु भन्ने रहेछन् र केही गर्न पाए हुन्थ्यो भन्ने पनि धेरै छन्। यस्तो विचारहरु लिएर मान्छेहरु आइरहेका छन् । अविष्कारसँग मिलेर कसरी काम गर्न सक्छु भनेर फोन गर्नेहरु पनि धेरै छन्। त्यस कारण मान्छेहरुमा रुची छ ।

आविष्कार केन्द्रका कामहरु विद्यालयस्तरदेखि नै सिकाउन सकिन्न?

अविष्कार, अनुसन्धानका कुरा सिकाएर सिकिने कुरा होइन, इनोभेशन भन्ने कुराहरु चाहिँ मान्छेहरुको दिमागबाट आउने कुरा हो र यो स्कूलमा पढाउने कुरा होइन अथवा कलेजमा पनि यो इनोभेशन कसरी गर्ने भने कुरा पढाएर पढिने चिज होइन।

यो मान्छेको दिमागबाट आउने कुराहरु हो। र, यो सबै मान्छेहरुलाई आउँदैन। विद्यालयस्तरमा होस् या कलेजस्तरमा या समाजमा होस् कुनै मान्छेहरुलाई इनोभेटिभ बनाउने किसिमको काम गर्ने वातावरणसम्म बनाउन चाहिँ सकिन्छ। तर पढाएर वा तालिम दिएर कसैलाई इनोभेटिभ बनाउन सकिन्न।

तपाईंको विचारमा देशका युवालाई स्वदेशमा कसरी टिकाउन सकिन्छ ?

देशमा काम गर्ने वातावरण हुनु पर्‍याे। रोजगारको सिर्जना गर्नका लागि उद्यमीहरु निकाल्नु पर्‍याे, उद्यमीहरु धेरै निकाल्नका लागि उद्यमीहरुलाई चाहिने किसिमको अनुसन्धान, इनोभेशन गर्ने मौका दिनु पर्‍याे अनि मात्र युवालाई देशमा टिकाउन सकिन्छ।

मुखले मात्र विदेशमा नजाऊ अथवा विदेशमा गएकाहरु फर्किएर नेपाल आउँ भनेर भाषण मात्र गर्दैमा उनीहरु नेपाल फर्किएर आउनेवाला छैनन्।

भिडियाे

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो