इजरायल राेजगारी : ‘हिब्रु भाषा त आउँछ, तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु’

रिता बस्नेत
१५ साउन २०७८ १२:५५

काठमाडौं। वैदेशिक रोजगार विभागमा बुधबार भेटिएकी सप्तरीकी इन्दिरा दाहाल इजरायल रोजगारीबारे बुझ्न त्यहाँ पुगेकी रहेछिन्। उनले पहिलादेखि नै इजरायल जान इच्छुक भएकाले चार वर्ष अगाडि धेरै मेहनत गरेर हिब्रु भाषा पढेकी रहेछिन्। किन आउनु भएको विभागमा भन्ने जिज्ञासामा उनले भनिन्, ‘इजरायल जाने भएपछि फारम भर्न आउनु परेन त अनि।’

उनी जस्तै इजरायलको लागि खुलाइएको आवेदन फारम भर्न र बुझ्न विभागमा धेरै युवाहरु आएका थिए। विभागको बाहिरपट्टि भित्तामा टाँसेको आवेदनलाई पढ्ने, फोटो खिच्ने, एकअर्कामा के कसरी फारम भर्ने अर्थात् यसमा भनेबमोजिम उमेरमा अलिकति तलमाथि हुँदा सेलेक्ट गर्छ कि गर्दैन इत्यादि बारे कुराकानी गर्ने र नबुझेको कुरा विभाग भित्र पसेर कर्मचारीलाई सोध्ने क्रम यतिबेला विभागमा दैनिकी जस्तै छ।

इजरायल जाने युवाहरुको भिडमा भेटिएकी उनै दाहाल भन्छिन्, ‘पहिल्यै ५ सय जनाको कोटा खोल्ने भनेर सरकारले हिब्रु भाषा सिक्न र तालिम लिनु भनेर ११ वटा इन्स्टिच्यूट तोक्यो। अनि हत्तनपत्त कोटेश्वरको एउटा इन्स्टिच्यूटमा गएर पहिल्यै १० हजार रुपैयाँ दिएर, ठाउँ रोकेर बल्खुदेखि दिनको ४० रुपैयाँ भाडा तिरेर ३ महिनासम्म धाएर दुःख गरेर भाषा सिकेँ। त्यसबेला मलाई हिब्रु भाषा फररै आउँथ्यो, अहिले अलि बिर्से । फेरि इजरायल खुल्छ रे भनेकाले केहि दिन अघिदेखि हेर्न थालेको छु।’

फारम भरेर इजरायल जान इच्छुक उनी सरकारी तबरबाटै इजरायल जाने भएपनि निष्पक्ष होला नहोला भन्नेमा आशंका लागेको बताउँछिन्। उनी भन्छिन्, ‘सरकारीस्तरमा पनि परीक्षामा पास गरेपनि यहाँको मान्छे (विभागलाई देखाउँदै) ले भित्रभित्रै हाम्रो नाम कटाएर उसको मान्छे राख्छ रे, त्यस्तो गरेको हामीलाई थाहै हुँदैन । पहिला पहिला पनि त्यस्तो हुन्थ्यो रे।’

उनी अगाडि थप्छिन्, ‘हाम्रो मार्का बुझ्ने कोही हुँदैन, पीडा भएरै वास्तवमा विदेश जान लागेको हो नि। हामी नहुनेलाई २–४ हजार पुलिस रिपोर्ट आदिमा खर्च गर्न पनि ऋण गर्नु पर्ने हुन्छ। त्यत्रो खर्च गरेर फारम भरिसकेपछि र आफ्नो नाम आएपछि त जान पाउनु पर्‍याे नि। इजरायल नगई नछोड्ने भनेर रहरले पढेको हुँ। हिब्रु भाषा फररै आउँछ तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु।’

इजरायल खुल्छ भनेर हिब्रु भाषा र कियर गिभर तालिमको सर्टिफिकेट लिएर बसेको बताउने उनी भन्छिन्, ‘इजरायल खुल्छ भनेर चार वर्ष अगाडि पढेर कियर गिभरको सर्टिफिकेट लिएर बसेको, त्यसबेला खुलाएन, भर्खर खुलायो। अब हेरौं के हुन्छ। कस्तो रहर गरेर पढेको थिए, त्यतिबेला सर्टिफिकेटको मात्रै ४० हजार खर्च गरेको थिएँ।’

त्यस्तै, विभागमा भेटिएकी रोल्पाकी तनुजा महरा (क्षेत्री)  हाल बस्दै आएको ठाउँ बुढानिलकण्ठबाट त्यहाँ आएकी रहेछिन्। प्लस टु पास गरेकी उनले इजरायल खुल्छ भनेर केयर गिभरको तालिम लिएर बसेकी रहेछिन्।

इजरायलको आवदेन फारम अनलाइनमार्फत भर्ने हो भन्ने थाहा हुँदाहुँदै पनि समाचारमा विवाहित र अविवाहितको सर्टिफिकेट पनि चाहिन्छ भनेकाले के रहेछ भनेर विभाग बुझ्न आएको उनले सुनाइन्।

त्यसो भए अविवाहितको सर्टिफिकेट चाहिन्छ भनेको सुनेर आउनु भएको हो?, भन्ने प्रश्नमा महराले भनिन्, ‘सुनेर भन्दा पनि समाचारमै हालेको थियो। विवाह गरेकोलाई विवाह गरेको सर्टिफिकट र विवाह नगरेकोलाई अविवाहित सर्टिफिकेट चाहिन्छ भनेर न्यूजमा आएको थियो। त्यही कन्फ्युज भयो र कहाँ बाट ल्याउनु अविवाहित सर्टिफिकेट भन्ने भएर पनि यहाँ सोध्न आएको। तर, सोधेको त्यस्तो सर्टिफिकेट चाहिँदैन रे।’

पहिलो पटक विदेश जान लागेको बताउने उनी जस्तै अन्य युवायुवतीहरु पनि इजरायल रोजगारीको आवेदन फारम भर्नेबारे थाहा नपाएर र भ्रामक समाचार सम्प्रेषणले गर्दा दोधारमा परेर विभाग धाउने गर्दा रहेछन्। प्राय विभागमा कति पढेको र कस्तो प्रकारको ट्रेनिङ्गको सर्टिफिकेट चाहिने हो भनेर बढी बुझ्न आएको देखिन्थ्यो।

भित्तामा टाँसिएको सूचनामध्ये विशेषत ‘कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लस टु गरेकाले भने नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने’ कुरालाई विभागमा भेटिएका प्रायले विशेष ध्यान दिने गरेको देखिन्थ्यो।

अन्ततः उनीहरुको जिज्ञासाको पूर्ति विभागका कर्मचारीमार्फत प्राप्त गरेपछि अनलाइन फारम घरबाटै भर्ने भनेर आफ्नो बाटो लाग्ने गर्दा रहेछन्।

इजरायल जान चाहने जिज्ञासुहरुको लागि इजरायल आवेदन मागसम्बन्धी सूचनाको तल विभागका शाखा अधिकृत मातृका सापकोटाको मोबाइल नम्बरलगायतका नम्बरहरु राखिएको छ। तपाईंको फोन त धेरै व्यस्त हुँदो रहेछ नि?, भन्ने डिसी नेपालको जिज्ञासामा सापकोटाले इजरायल रोजगारीबारे धेरै मात्रै होइन, अचम्मै गरी, बिरामी नै बनाउने गरी फोन आउने गरेको सुनाए।

उनले भने, ‘हामीलाई म्यानपावरको दलाल जस्तो गरी फोन गर्छन्। सूचना पढ्दै पढ्दैनन्। विज्ञापनमा सबै प्रष्टै खुलाइएको छ। यूटुबेले यूटुबमा कहाँ बाट के के भनेर हालिदिएका रहेछन्। अनि प्रायले हामीलाई फोन गर्छन्। हैरान हुन्छ नि, फेरि मेरो व्यक्तिगत नम्बर हो।’

फोन गरेर दिक्क पारेको बताउने उनी थप्छन्, ‘हाम्रो वेवसाइडमा विज्ञापन मै सबै प्रष्ट छ। विज्ञापन पढेर पनि नबुझेको विषयमा सोध्लान भनेर फोन नम्बर राखिदिएको तर राति १२ बजे पनि फोन गर्छन्। त्यो त अमानवीय व्यवहार भयो नि।’

शाखा अधिकृत सापकोटाले प्राय उनलाई आउने फोनमा इजरायल खुलेको छ रे हो?, साच्चै हो कि होइन?, अनि के मा खुलेको?, कति कोटा छन्, के के कामको लागि खुलको?, भन्ने जिज्ञासा राखेको बताए। सोही कुरालाई लिएर उनले भने, ‘त्यो भनेको त जिरो(शून्य) विज्ञापन नै नहेरिकन कताबाट नम्बर पायो अनि फोन ठोक्यो गर्ने गर्दा रहेछन्। आम्मामा, बिरामी हुइदो रहेछ नि यसरी फोन उठाएपछि त। मेरो व्यक्तिगत नम्बर हो, घरबाट बुबा, आमा लगायतले केही परेर फोन गर्नु पर्यो भने समस्या हुन्छ। इजरायलको बारेमा सोध्नेले गर्दा अहिले मेरो फोन लाग्न गाह्रो हुन्छ।’

उनले अगाडि भने, ‘कमसेकम विज्ञापन त पढ्नु पर्छ नि। कतिलाई त सरकारले खुलाएको हो भन्ने पनि थाहा छैन। इजरायल खुलेको भन्ने पढ्छ र फोन नम्बर हेर्छ अनि फोन गरिहाल्दा रहेछन्। सूचनाको बीचमा के लेखेको छ भन्ने कुरा पढ्दै पढ्दा रहेनछ। अचाक्ली फोन आएर हैरान भइसके। अफिसमा पुगेपछि अर्कैलाई फोन रिसिभ गर्न दिएको छु । उठाएर साध्ये हुँदैन, फेरि आफू अफिसमा अरु पनि काम गर्नु पर्‍याे’

इजरायल रोजगारीको बारेमा उनले विज्ञापन नै नहेरि सानो सानो कुरालाई लिएर फोन गरेर हैरान पारेको बताउँदै उनले भने, ‘तपाईहरुले सूचना सम्प्रेषण गरिदिनु पर्‍याे, यो कुनै म्यानपावर जस्तो प्राइभेट कम्पनीहरुले लानको लागि डिमाण्ड ल्याएको होइन । यो सबै सरकारी हो । सूचना यहाँ छ, यसरी हेर्ने र यसरी भर्ने भनेर सूचनामा विस्तृत खुलाइएको छ भनेर सम्प्रेषण गरिदिनु पर्‍याे।’

साथै, उनले यहि साउन १२ गतेको गोरखापत्र दैनिक र विभागको वेवसाइडमा सूचना हेरेर पढे सबै कुरा प्रष्ट हुने भन्दै यससम्बन्धमा समाचारमार्फत अझ प्रष्ट्याइदिन उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *