भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा खसेका हुन् जयसिंह ?

डिसी नेपाल
१५ साउन २०७८ १८:१८

काठमाडौं। दार्चुलामा शुक्रबार एक युवक तुइनबाट खसेर महाकाली नदीमा वेपत्ता भएका छन्। ब्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन्। शुक्रबार बिहान बेपत्ता भएका उनको अवस्था साँझसम्म अज्ञात छ।

उनी कसरी नदीमा खसे भन्ने विषय भने विवादित बनेको छ। स्थानीयहरुले भारतीय सीमा सुरक्षा बलका जवानहरुले जयसिंह धामी तुइन चढिरहेकै बेला डोरी काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएको बताएका छन्।

सत्तारुढ दल नेपाली काँग्रेसले पनि भारतीय एसएसबीले तुइनको डोरी काट्दा जयसिंह नदीमा खसेको रिपोर्टिङ भएको जनाएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस दार्चुलाका सभापति ललितसिंह बोहोराले एसएसबीले तुइन काटिदिएको रिर्पोटिङ गरेको बताएका छन्।

तर, जिल्ला प्रशासन कार्यालय दार्चुलाको भनाइ भने फरक छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी जोयत्सना भट्ट जोशीले डिसी नेपालसँग फोनमा भनिन्, ‘एसएसबीले तुइन काटेको भन्ने कुरा अफवाह हो। त्यस्तो भएको होइन। यो घटनाका प्रत्येक्षदर्शी कोही पनि छैन। तर, हामीले यो विषयमा एसएसबीलाई पनि पत्र लेखेर जानकारी मागेका छौं।’ उनका अनुसार एसएसबीले आफूहरुले तुइन नकाटेको तर धामी नदी तरेर तुइनबाट ओर्लिदा आत्तिर नदीमा खसेको बताएको छ।

जिल्ला प्रशासन दार्चुलाले यो प्रकरणबारे गृहमन्त्रालयलाई जानकारी गराइसकेको छ। प्रशासनले तुइन काटिएको हल्ला र भारतीय एसएसबीसँग भएको छलफलका विषयमा गृहलाई जानकारी गराएको हो। अहिले पनि घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली रहेको छ।

यता सत्तारुढ दल नेपाली काँग्रेसले भने एसएसबीले तुइन काटिदिएकाले धामी महाकाली नदीमा बेपत्ता भएको जानकारी प्राप्त भएको भन्दै यो विषयमा सत्यतथ्य अनुसन्धान गर्न माग गरेको छ। प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सम्पूर्ण वास्ताविकता सार्वजनिक गर्न, यसबारे भारतीय पक्षसँग संवाद गर्न, आफ्नो नागरिकलाई न्याया दिलाउन, सम्बन्धित परिवारलाई राहत दिन÷दिलाउन माग गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *