युगान्डामा मृत्यु भएका खड्गीको परिवारलाई एनआरएनए अफ्रिकाद्वारा सहयोग

डिसी नेपाल
१५ साउन २०७८ २२:०८

काठमाडौं । गत आसार २९ गते कोरोना संक्रमण भई युगान्डाको कम्पालामा निधन भएका तनहुँ, भानुभक्त नगरपालिका सिमपानीका ४७ बर्षीय हिराबहादुर खडगीको परिवारलाई एनआरएनए अफ्रिकाले आर्थिक सहयोग पठाएको छ । एनआरएनए अफ्रिकाले नेपालमा रहेका मृतक खड्गीको परिवारलाई सहयोगस्वरुप तीन लाख १० हजार रुपैयाँ पठाएको हो ।

एनआरएए अफ्रिकाको राहत कोषको तर्फबाट आज(शुक्रबार) एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले उक्त नगद सहयोग हस्तान्तरण गरेका हुन् । कार्कीले तनहुँ, भानुभक्त– ६, सिम्पानीस्थित उनको घरमा गइ उनकी श्रीमती शुशिलामाया खड्कीसहितको परिवारलाई भेटेर रकम हस्तान्तरण गरेका थिए ।

अफ्रिकामा रहेका नेपालीहरु मिलेर उक्त सहयोग रकम जुटाएका हुन् । एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले कोष र सहयोगीहरुलाई धन्यवाद दिंदै उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहल गरिराखेको बताए ।

अफ्रिकामा कोभिडले मृत्य हुने खड्गी छैठौं नेपाली हुन् । एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघि पनि अफ्रिकामा कोरोनाले मृत्यु भएकाको परिवारलाई सहयोग गर्दै आएको छ ।

साथै, कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई खानपिन र औषधी उपचारमा सहयोग, नेपाल फिर्तीको व्यवस्था लगायतका कार्य अफ्रिकाका नेपालीहरुबाट सहयोग जुटाएर गर्दै आएको कोषका संयोजक हिक्मत थापाले बताए । उनले सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यावाद दिएका छन् ।

त्यसैगरी, दाताहरुको सहयोगमा अफ्रिकाका एनआरएनहरुले केही महिना अघि नेपालका १४ दुर्गम जिल्लाका ३५ वटा अस्पताल र स्वास्थ्य केन्द्रहरुमा करिब ६० लाख बराबरको अक्सिजन सिलिन्डरहरु सहयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *