बधाई पनि लिन सक्दैन परराष्ट्र !

डिसी नेपाल
१५ साउन २०७८ २२:५३

काठमाडाौं। शुक्रबार साँझ नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे र पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पाकिस्तानका तर्फबाट बधाई ज्ञापन गरे। प्रधानमन्त्री देउवासँग पाकिस्तानका राजदूतले शुक्रबार शिष्टाचार भेट गरेर आफ्ना प्रधानमन्त्रीका तर्फबाट सो बधाई ज्ञापन गरेका थिए।

राजदूत सैयदले प्रधानमन्त्री देउवासँग भेट गरेको जानकारी परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा पनि राखेको छ। तर त्यहाँ बधाईको कुनै प्रसंग नै छैन। नेपालको परराष्ट्र मन्त्रालयको सो विज्ञिप्तमा भनिएको छ– पाकिस्तानी राजदूत सैयद हैदर शाहले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो र त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भयो।

नेपाल सरकार पराराष्ट मन्त्रालयले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पठाएको वधाई सन्देश किन उल्लेख गर्न चाहेन त्यसबारे कसैले आधिकारिक धारणा सार्वजानिक नगरे पनि पाकिस्तानी दूतावासका तर्फबाट जारी भएको विज्ञप्तिपछि मात्र इमरान खानले बधाई सन्देश पठाएको कुरा खुलासा भएको थियो। (हेर्नुहोस् विज्ञप्ति)

सत्य कुरा के हो भने यतिखेर प्रधानमन्त्री देउवालाई भेट्न जाने विदेशी राजदूतहरु ती देशका सरकारका तर्फबाट व्यक्त भएको बधाइ सन्देश लिएरै जाने गरेका छन्। जस्तो कि शुक्रबारै दक्षिण कोरियाली राजदूत गए भने दुई दिनअघि चिनियाँ राजदूतले पनि प्रधानमन्त्रीलाई भेटिन्।

आज र अस्तिका यी दुवै भेटपछि परराष्ट्रले प्रेस नोट नै जारी गर्यो र चिनियाँ प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिले बधाई दिएका भनी यथोचित प्रचार पनि भयो।
तर रमाइलो कुरा त के छ भने आज पाकिस्तानी राजदूतले गरेको यसै प्रकृति र प्रयोजनको भेटको भने परराष्ट्रले प्रेस नोट प्रकाशन गर्न जरुरी पनि ठानेन, निकालेन। मन्त्रालयको ट्वीटमै सीमित रह्यो।

तर यो विषयको गाम्भीर्यता यता पाकिस्तानी दूताबासले प्रकाशन गरेको विज्ञप्तिबाट मात्र खुल्न आउँछ। दूताबासको विज्ञप्तिमा ‘नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई आज पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिनुभएको बधाई सन्देश राजदूत हैदरले पुर्याउनुभएको’ भनिएको छ।

नेपालको परराष्ट्र मन्त्रालयको ट्वीट र यता पाकिस्तानी दूताबासको प्रेस विज्ञप्ति हेर्दा पाकिस्तानका तर्फबाट नेपालका प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन भएको कुरा नेपाल सरकारले किन उल्लेख नगरेको होला भन्ने प्रश्नले कुटनीतिक बृत्तमा चर्चा पाएको छ।

अर्को रमाइलो कुरा के छ भने सबै विदेशी राजदूतहरुसँगको भेटबारे प्रधानमन्त्री देउवा स्वयंले फेसबुक पेजबाट जानकारी दिंदै आएका थिए। तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाईको सन्दर्भ र पाकिस्तानी राजदूत हैदरको भेटबारे भने यो समाचार तयार पर्दासम्म प्रधानमन्त्री देउवाले आफ्नो सामाजिक सन्जालमा कुनै कुरा उल्लेख गरेका छैैनन्। भारत र पाकिस्तानबीचको दुश्मनीपूर्ण सम्बन्धको बाछिटा नेपालमा परेको हो त ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *