अदुवाखेतीबाट आम्दानी बढ्दै

डिसी नेपाल
१६ साउन २०७८ १२:००
104
Shares

सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।

कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ।”

कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन्। आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।” उनले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए।

सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ। यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन्। गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ। “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ।”

अदुवाको सुठो (चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ। कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन्। सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ। काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ।

उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ। तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ। काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ। चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ।

“यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भने, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन्।”

जैविक अदुवा जर्मनी निर्यात हुँदै

सो क्षेत्रमा उत्पादन हुने जैविक (अग्र्यानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो (चना) जर्मनी निर्यात हुने गरेको छ। चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरिद गरेर अग्र्यानिक अदुवाबाट सुठो (चना) तयार पार्ने गरेको छ। प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करिब २० टन अदुवा प्रशोधनका लागि खरिद गरिने बताए।

“सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ”, खडायतले भने, “प्रशोधनअघि अदुवाको प्रयोगशालामा परीक्षण गरिन्छ।”

छिञ्चुको मुख्य प्रशोधन केन्द्रअन्तर्गत सहजपुरमा शाखा प्रशोधन केन्द्र सञ्चालनमा छ। केन्द्र सञ्चालन भएको जग्गा आसपासमा भइरहेको सडक निर्माणको कामले केन्द्रसम्म पुग्ने बाटोलगायतको असुविधा देखिएकाले यो प्रशोधन केन्द्रमा प्रशोधनको काम एक वर्षदेखि हुन नसकेको बताइएको छ।

खडायतले कैलाली र डोटीमा उत्पादित अदुवा खरिद गरेर प्रशोधनका लागि छिन्चु मुख्य प्रशोधन केन्द्रमा पठाउने गरिएको बताए। यो खेतीमा लागेका किसानलाई अदुवाखेती गर्ने प्रविधि, आवश्यक तालिमलगायत सहयोग गरिँदै आएको छ। अदुवाको बजार मूल्यका आधारमा किसानसँग अदुवा खरिद गर्ने गरिएको छ।

प्रशोधन केन्द्र स्थापना गरिएसँगै कृषकलाई यो खेतीतर्फ आकर्षित गर्न थप टेवा पुगेको छ। यो क्षेत्रमा उत्पादित अदुवाको माग भारतीय बजारमा समेत बढ्दै गएको बताइएको छ। भारतीय र नेपाली व्यापारी अदुवा खरिद गर्न घरमै आइपुग्ने गरेका छन्।

स्वादिलो सुन्तला उत्पादनका लागि पनि चर्चित चुरे गाउँपालिकाका स्थानीय कृषक पछिल्ला वर्षमा आफ्नो एउटै खेतबारीमा सुन्तला र अदुवाखेती सँगसँगै गर्न पनि सिकेका छन्। सुन्तलाको रुखमुनिको जग्गामा अदुवाखेती गर्दा सुन्तला र अदुवा दुवैको उत्पादन राम्रै हुने गरेको अनुभव कृषकको छ।

कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन्। यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ। सिद्धराज भट्ट/ रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *