वैदेशिक रोजगारीमा एक वर्षमा १२ सयबढी नेपालीले गुमाए ज्यान

डिसी नेपाल
१७ साउन २०७८ १४:५१

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा १२ सय १३ जना पुरुष र २९ जना महिला गरी १२ सय ४२ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार रोजगार गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकका अनुसार साउदी गएका २ महिला र ३ सय ६० पुरुष गरी कूल ३ सय ६२ जानको मृत्यु भएको छ । साउदी पछि रोजगारीमा गएर ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा धेरै रहेको छ । मलेसियामा १ जना महिलासहित २ सय ८० जना नेपालीको मृत्यु भएको तथ्यांक छ ।

त्यस्तै, नेपालीको अर्को रोजगार गन्तव्य मुलुक कतारमा २ महिलासहित २ सय ३९ जनाको मृत्यु भएको छ । युएईमा १ सय ९६ पुरुष र १२ जना महिला गरी २ सय ८ जना नेपालीको मृत्यु भएको छ । कुवेतमा ५५ जना, बहराइनमा ३१ जना र ओमानमा ७ जना नेपालीले ज्यान गुमाएका छन्।

त्यसैगरी, जापानमा ९, जोर्डनमा ६ र मकाउ, रोमानिया, टर्कीमा ३–३ जनाको मृत्यु भएको छ । अफगानस्थान, अल्जेरिया, चीन, साइप्रस र सेसेल्समा २–२ जनाको मृत्यु भएको छ भने युगान्डा, सिंगापुर, पोर्चुगल, पोल्यान्ड, माल्दिभ्स, लेवनान, इजराय र ब्रुनाईमा १–१ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

त्यसैगरी, रोजगारीका लागि विदेश गएर ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी मोरङ जिल्लाका रहेका छन् । मोरङबाट विदेश गएका ५८ जनाले ज्यान गुमाएका छन् भने धनुषा र सिराहका ५७–५७ जनाको मृत्यु भएको छ ।

महोत्तरीका ५५ जना, झापाका ५३ जना, स्याङ्जाका ४६, सप्तरी र सुनसरीका ४४–४४ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ४० जना, चितवनका ३६ जना, दाङ र कास्कीका ३३–३३ जनाको मृत्यु भएको छ । गोरखाका २९, तनहुँका २९, मकवानपुरका २०, पाँचथर र पाल्पाका २३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, विदेशमा मृत्यु भएका १२ सय ४३ जनाका परिवारलाई बोर्डले ७३ करोड ७७ लाख १५ हजार रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ भने अंगभंग, गम्भीर बिरामी भएर फर्किएका १ सय ४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रूपैयाँ आर्थिक सहायता प्रदान गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । रोजगारीका लागि विदेश गएका १ सय ४३ जना नेपाली अंगभंग भएका छन् ।

त्यसैगरी, मृतक कामदारको शव विमानस्थलदेखि घरसम्म पुर्याउनका लागि १७ लाख ९४ हजार ९ सय ७६ रूपैयाँ खर्च भएको जनाइएको छ । यो रकम ७ सय ७० मृतकको शव घरसम्म पुर्याउन खर्च भएको हो ।

त्यस्तै वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा गम्भीर घाइते भएका परिवारका बालबच्चालाई २ करोड ८ लाख ८२ हजार रूपैयाँको छात्रवृत्ति प्रदान गरिएको बोर्डले जनाएका छ भने ४ सय १३ जना अलपत्र परेककाको उद्धारमा करोड ६६ लाख ७२ हजार ८ सय रूपैयाँ खर्च भएको जनाएको छ ।

१ सय २२ शव झिकाउन समन्वय र सहयोगको लागि मात्रै बोर्डको ९० लाख ६७ हजार ८ सय १० रूपैयाँ खर्च भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *