पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

डिसी नेपाल
२० साउन २०७८ २१:३५

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न साहना प्रधान स्मृति प्रतिष्ठान र कालीदल गणले पशुपति क्षेत्र विकास कोषलाई १०० वटा डष्टविन हस्तान्तरण गरेको छ ।

कोषको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानको अध्यक्षसमेत रहेकी सांसद रामकुमारी झाँक्री र गणका प्रमुख सेनानी जीतेन्द्र बानियाँ क्षत्रीले कोष सञ्चालक परिषद्का सदस्यद्वय आशा पाण्डे र उद्धव बडाल एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई डष्टविन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद झाँक्रीले कोभिडका कारण आफन्त एवं साथीभाइ गुमाएर पशुपति क्षेत्रमा फूल चढाउन आउँदा मास्क फाल्ने स्थानसमेत नभेटेपछि कोषलाई डष्टविन सहयोग गर्ने सोच आएको बताइन् । कोरोना सङ्क्रमण उच्च भएर दिनमा १०० वटासम्म शव व्यवस्थापन नेपाली सेनाले गर्नुपरेकाले यसअघि ट्रलीसमेत दिइसकेको उनले सुनाइन् ।

सांसद झाँक्रीले पशुपति क्षेत्रमा प्रविधियुक्त शवदाह गृह निर्माणका लागि पनि सहयोग जुटाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई बृहत् अन्तर्राष्ट्रिय गन्तव्यस्थलका रुपमा विकास गर्न मन्त्रालयले सहयोग गर्ने बताए । धार्मिक, सांस्कृतिक पहिचान बोकेको पशुपति क्षेत्रको विकासका लागि आर्थिक एवं भौतिक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सधैँ सफा, स्वच्छ र हराभरा राख्न सफाइ सामग्री हस्तान्तरण गरिएको बताए । कार्यक्रममा कार्यकारी निर्देशक खतिवडाले चार÷पाँच सय बाँदर, ४० हजार परेवा, सयौँको सङ्ख्यामा गाई र कुकुर, १७० मृगलगायत पशुहरु रहेकाले फोहर राख्ने डष्टविनजस्ता सामग्री सुरक्षित राख्नसमेत चुनौती रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *