फेकोफनले सामुदायिक वन दिवसमा साताव्यापी कार्यक्रम गर्दै

डिसी नेपाल
२० साउन २०७८ २२:३३

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ले यस वर्षको सामुदायिक वन दिवस ‘सामुदायिक वनको सम्पत्ति ः समृद्धि, प्रकृति र सस्ंकृति’ भन्ने नाराका साथ साताव्यापी विभिन्न कार्यक्रम गरी मनाउन लागेको जनाएको छ ।

विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधारमानी उक्त दिनलाई सामुदायिक वन दिवसको रुपमा मनाइँदै आएको छ । यस वर्ष यही साउन २० देखि २६ गतेसम्म स्वस्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै विभिन्न कार्यक्रम गरी सप्ताहव्यापीरुपमा सामुदायिक वन दिवस मनाउन लागेको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिइन् ।

फेकोफनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगत पाँच दशकको अवधिमा सामुदायिक वन अभियानबाट फेकोफनले नेपालको वन व्यवस्थापनमा एक जिम्मेवार, सशक्त, समावेशी, सुशासनयुक्त र लोकतान्त्रिक नागरिक समाजको रुपमा आफूलाई स्थापित गराउन र वनको दिगो व्यवस्थापनमा प्रमुख स्थान ओगटन सफल भएको बताइन् । हाल देशभर २२ हजार ४४५ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार ६७० हेक्टर सामुदायिक वन व्यवस्थापन गर्दै आएका छन् । त्यसमा २९ लाख सात हजार ८७१ घरधुरी संलग्न छन् ।

सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएका योगदानबाट सामुदायिक वन उपभोक्ता समूह गठन र वन हस्तान्तरण अभियान, वन विनास नियन्त्रण र वन क्षेत्रको विस्तार, समृद्धिमा योगदान, दिगो विकास लक्ष्यमा सामुदायिक वनको योगदान रहेको अध्यक्ष पाठकले बताइन् । त्यस्तै सामुदायिक वन अभियानबाट प्रकोप तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, लैंगिक समानता, सामाजिक समावेशीकरण र सुशासन, सङ्गठन निर्माण र नेतृत्व विकासलगायत उपलब्धि हासिल भएको छ ।

यसबाहेक सामुदायिक वनका कार्ययोजना परिमार्जनमा कठिनाइ, वनको दिगो व्यवस्थापन, संरक्षित क्षेत्रको विस्तार र मानव अधिकार उल्लङ्घन, तेहोरो कर, उद्यम स्थापना र सञ्चालनका अवरोधलगायत चुनौती यस क्षेत्रमा रहेको फेकोफनले जनाएको छ ।

वन ऐन २०७६ लागु भएको दुई वर्षसम्म पनि वन नियमावली नबन्दा सामुदायिक वनमा काम गर्न असहज भएको र समुदायमैत्री वन नियमावली बन्दैन की भन्ने शङ्का समुदाय तथा सरोकारवालामा रहेको उनले बताइन् । वन ऐन निर्माण गर्दा समावेश गर्न नसकिएको नियमावलीमा व्यवस्था गरी समुदायलाई अधिकार सम्पन्न बनाउने वन नियमावली जनसहभागिताबाट तयार गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने फेकोफनको माग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *