दार्चुला प्रकरणः छानबिन टोली पीडितको घरमा पुग्यो

डिसी नेपाल
२२ साउन २०७८ १७:०३
2.0k
Shares

दार्चुला। दार्चुलाको ब्यास गाउँपालिकाका एक युवा महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएको भन्ने विषयमा छानबिन गर्न गठन गरिएको उच्चस्तरीय छानबिन टोलीका सदस्यहरु शुक्रबार दार्चुलाको ब्यासस्थित पीडितको घरमा पुगेका छन्। ब्यास गाउँपालिका २ स्थित बेपत्ता युवक जयसिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोली पुगेको हो।

टोली धामीको घर पुगेर सदरमुकाम फर्किएको छ। छानबिन टोलीले पीडित परिवारलाई भेटेर घट्नाबारे छलफल गरेको छ। सेनाको हेलिकोप्टरबाट छानबिन टोली ब्यास पुगेको थियो। पीडित परिवारसँग छलफलपछि टोली हेलिकोप्टरबाटै फर्किएको हो।

छानबनि टोलीले घटनस्थलकोसमेत अनुगमन गरेको छ। शुरुमा भारतीय भूमि हुँदै छानबिन टोली एसएसबीसहित मालघाट पुगेको थियो। घटनास्थल पुग्न नेपाली भूमिबाट बाटो नभएपछि टोली भारतीय भूमि हुँदै पुगेको थियो। त्यसपछि हेलिकोप्टरबाट शुक्रबार टोली पीडितको घरमा पुगेको हो। टोलीले स्थानीय, प्रत्यक्षदर्शीलगायतसँग सो घटनाबारे सोधपुछ गरेको छ।

१० दिन भित्र प्रतिवेदन दिने गरी गठन गरिएको छानबनि समिति गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छ। समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको डोरी काटिदिँदा धामी बेपत्ता भएको बताइन्छ। भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नभएको दावी गरेको छ। तर, प्रत्येक्षदर्शीहरुले एसएसबीले तुइन काटेको बताउने गरेका छन्। बेपत्ता धामी हालसम्म फेला परेका छैनन्। तर, उनका आफन्तहरुले भने कुशको पुतला बनाएर सद्गद् गरिसकेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *