‘मापदण्ड पु्र्‍याएर चलचित्र उद्योग खोलौँ’

कमल साउद
२६ साउन २०७८ १०:०२

काठमाडौं। चलचित्र उद्योग यतिबेला धरासायी भएको छ। कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प बनेको छ। धेरेजसो सिनेमा घरहरु अब कहिल्यै नखुल्ने गरी बन्द भइसकेका छन्। चलचित्र क्षेत्रका यी विविध विषयमा लामो समयदेखि चलचित्र पत्रकारितामा संलग्न तथा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्षसमेत रहेका जीवन पराजुलीसँग हामीले कुराकानी गरेका छौँ। पराजुलीसँग डिसी नेपालका लागि कमल साउदले गरेको कुराकानीको सम्पादित अंश :

कोभिडका कारण चलचित्र उद्योग ठप्प छ, कतिपय सिनेमा घरहरु पनि बन्द भइरहेका छन्, चलचित्र पत्रकारितामा चाहिँ कस्तो असर परेको छ?

चलचित्र र चलचित्र पत्रकारिता एक अर्कामा परिपुरक छन्। अब अहिले चलचित्र क्षेत्र पुरै ठप्प छ। यसको प्रभाव चलचित्र पत्रकारहरुमा पनि परेको छ। यो चलचित्र वा मनोरञ्जन बिटमा काम गर्ने पत्रकारलाई मात्रै समस्या हुन्छ भन्ने पनि होइन।

जब कुनै बिटमा रहेर काम गर्ने पत्रकार छ भने त्यो क्षेत्रमा समस्या पर्ने वित्तिकै त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ पर्छ नै। यस्तोमा चलचित्र पत्रकारिता गर्ने पत्रकारहरुको व्यस्तता कम अथवा उनीहरुमा जोखिम बढी भन्ने त त्यो स्वभाविक नै हो।

जसको प्रत्यक्ष मारमाचाहिँ चलचित्र क्षेत्र मनोरञ्जन क्षेत्र समग्रमा परेको छ जुन नेपालको मात्रै प्रसंग होइन। यो संसार भरकै कुरा हो। यद्यपी पत्रकारिता बन्द भएको भने होइन।

चलचित्र क्षेत्रका गतिविधि भएनन् जसका कारण समाचारजन्य सामग्रीहरु कम प्रकाशित वा प्रशारण भएका होलान्। तर, ठप्प भने भएको होइन। त्यसमा कतिपय चलचित्र पत्रकारहरुले जागिरबाट निष्काशित हुनु परेको पनि छ।

ठूला मिडिया हाउसहरुले ठूलो संख्यामा मनोरञ्जन बिट हेर्नको लागि राखिएका पत्रकारहरुको काम कम भइसकेपछि कतिपयको रोजगार खोसिएको छ।स्वभाविक रुपमा कुनै क्षेत्रको गतिविधि कमहँुदा अथवा ठप्प हुँदा असर त परिहाल्छ। यो समस्या यतिबेला चलचित्र बिटमा मात्र होइन अन्य पत्रकारिताको बिटमा पनि देखा परिरहेको छ।

समस्या सबैमा देखिएको छ तर, चलचित्र क्षेत्र चाँहि अलि बढी प्रभावित चाहिँ हो। किनभने सबैभन्दा पहिले चलचित्र क्षेत्र बन्द भएको हो र सबैभन्दा ढिला खुल्ने पनि सम्भवतः चलचित्र क्षेत्र नै हुन्छ। यद्यपी मापदण्ड पुर्‍याएर चलचित्र उद्योग खोलौँ र चलायमान गरौँभनेर हामी पत्रकारिताको तर्फबाट लागिरहेका छौँ। दवाव दिइरहेका छौँ। तर, राज्य कमजोर भइसकेपछि यो समस्या आउँछ।

हामीले भ्याक्सिन लगाउन पाइरहेका छैनौँ। राज्य आफूले अनुसन्धान तथा उत्पादनको क्षमता राख्दैन। विविध कारणहरुले गर्दा चलचित्र क्षेत्र ढिला खुल्ने अवस्था अझै पनि विद्यमान छ। चलचित्रका गतिविधि नहुँदा कला क्षेत्र शत प्रतिशत बन्द भएको होइन। कलासम्बन्धी गतिविधिहरु भइरहेका छन्।

तपाईँ आफू पनि चलचित्रपत्रकार संघ नेपालको उपाध्यक्ष हुनुहुन्छ चलचित्र र कला क्षेत्रमा देखिएका समस्या समाधानको लागि संघले के गरिरहेको छ ?

हामीले निरन्तर राज्यलाई खबरदारी गरिरहेका छौँ। सबैभन्दा पहिला हामी भनेको फ्रन्टलाइनर हौँ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनर हौँ। हामीले सबै कुरा छोडेर फिल्डमा खटिनुपर्छ। जो फिल्डमा खटिन्छ उ कोरोनाको जोखिममा छ।

त्यसैले राज्यले सबैभन्दा पहिले खोप लगाउनेहरुमा पत्रकारहरुलाई पनि राखेको हो। त्यसमा हाम्रो पनि माग थियो र हाम्रा साथीहरु केही जो फिल्डमा खटिनुहुनछ उहाँहरुले पनि खोप पाउनुभयो। हामीले त्यो पहल गर्‍यौं।

त्यस्तै, चलचित्र पत्रकार संघले पहल गरेर समस्यामा परेका पत्रकारहरुलाई राहत दियौँ। उनीहरुको चुलो निभ्न दिएनौँ। जो बेरोजगार हुनुभयो उनीहरुलाई पनि सहयोग ग¥यौँ। चलचित्र क्षेत्रलाई चलायमान बनाउन हामी राज्यलाई निरन्तर खबरदारी गरिरहेका छौँ ।

चलचित्र क्षेत्र खुलाउन सक्ने योजनाहरु हामीले सरकार समक्ष पेश गरेका छौँ। कसरी मापदण्ड अपनाएर हामीले चलचित्र क्षेत्र खोल्न सक्छौँ ? कसरी छायांकनमा जान सक्छौँ ? कसरी रोकिएका सिनेमा रिलिज गर्न सक्छौँ ? रोकिएका र कोरोनाका मारमा परेका चलचित्रका लागि राज्यले के गर्नुपर्छ ? चलचित्रमा आश्रित श्रमजिवीलाई कसरी राज्यले सम्बोधन गर्नुपर्छ? लगायतका कुराहरुको खबरदारी अन्य संघ संस्थाहरुसँग मिलेर हामीले गरिरहेका छौँ।

तपाईँ अहिले चलचित्र पत्रकार संघ नेपालमा उपाध्यक्षको भूमिकामा त हुनुहुन्छ। त्यसका अलावा अहिले पनि तपाईँ एक सक्रिय पत्रकार र मिडिया हाउस संचालकको रुपमा पनि काम गरिरहनुभएको छ।

तपाईँ आफूलाई चाहिँ यो समयले कत्तिको अप्ठेरोमा पार्‍यो ?

अब यस्तो छ, चलचित्र क्षेत्र चलायमान नहुँदा चलचित्र क्षेत्रसँग जोडिएका हर कोहीलाई समस्या त पर्ने नै भयो। तर, मैले चाहिँ संस्थाको उपाध्यक्ष भएको नाताले आफ्ना समस्या भन्दा पनि बढी संघका साथीहरुको अथवा चलचित्र पत्रकार साथीहरुको समस्यालाई सम्बोधन गर्नुपर्ने हुन्छ।

त्यसकारणले आफ्नो समस्या त एकातिर राख्नुपर्छ। म पनि कर्पोरेट बजारबाट बाँचिरहेको छु अहिले। मेरो मिडिया हाउसले पनि कर्पोरेटबाट नै जीविका चलाइरहेको छ। चलचित्रका गतिविधि नहुँदा अलि–अलि समस्या त हुने नै भयो तर पनि आफू पलायन हुने अवस्थाचाहिँ छैन।

अब मुख्य समस्या भनेको पारिवारिक छ। यस्तो महामारीका बेला सकेसम्म परिवारले बाहिर नगइदिए हुन्थ्यो, घरमै बसिदिए हुन्थ्यो। घरबाटै काम गरे हुन्थ्यो, भन्ने सोच्छन्। त्यो स्वभाविक पनि हो। तर, हामीहरु हामी फिल्डमा खट्नैपर्छ।

चलचित्र पत्रकारीता क्षेत्रमा अहिले कस्तो खालको रिपोर्टिङ भइरहेको छ ?

अहिले एउटा रिपोर्टिङ भनेको राज्यलाई ध्यानाकर्षण गराउने हो। राज्यमाथि खबरदारी, ध्यानाकर्षण मुख्य कुरा हो। चलचित्र क्षेत्र पनि छ र चलचित्र पत्रकारिता पनि छ भनेर राज्यलाई हामीले सम्झाइरहनुपर्छ।

अर्को चाहिँ भावी योजना चलचित्र कसरी आउनु पर्छ त अब। अगाडि के थियो समीक्षा भइरहेको छ। वर्तमानमा कसरी सहनशीलता राख्ने त्यसको बारेमा रिपोर्टिङ भइरहेको छ। र भविष्य के हुनुपर्छ भन्ने विभिन्न विज्ञहरुबाट राय लिने, सुझाव लिने, भविष्यमा कस्तो बनाउने चलचित्र क्षेत्रलाई भन्ने विषयमा पनि रिपोर्टिङहरु भइरहेको छ।

तपाईँले पत्रकारिता सुरु गर्दा र अहिलेको चलचित्र पत्रकारितामा के भिन्नता पाउनुभएको छ ?

पहिला चलचित्र क्षेत्र सानो थियो, कर्पोरेटले विश्वास गर्दैनथ्यो। शत प्रतिशत चलचित्रमा आश्रित हुन्थ्यो चलचित्र पत्रकारिता। अहिले त्यो हटेको छ। अहिले मिडिया हाउस पनि संख्यात्मक रुपमा निकै वृद्धि भएको छ। पहिला एकदम सीमित थिए।

चलचित्र क्षेत्रमा अथवा मनोरञ्जन बिटमा रहेर पत्रकारिता गर्नका लागि खोलिएका मिडिया हाउसहरुको पनि संख्या एकदमै वृद्धि भएको छ। चलचित्र बजार पनि अलि बढेको छ। मानिसहरु प्रविधिमैत्री बनिरहेका छन्। चलचित्रको गुणस्तरदेखि लिएर सबै कुरामा परिवर्तन पनि आइसकेको छ।

यसमा संख्यामात्र वृद्धि भएको हो की, गुणस्तरमा पनि सुधार भएको छ ?

संख्यात्मक मात्र होइन। चलचित्र पत्रकारिताको गुणस्तर पनि बढेको छ। कस्तो भने पहिले एकदम बासी समाचार पढ्नका लागि दैनिक पत्रिका कुर्नुपथ्र्यो। ढिलो गरी समाचार सम्प्रेषण हुन्थे। रेडियो, टेलिभिजनलगायतका माध्यममा यी विषयको प्राथमिकता कम हुन्थ्यो।

यसको मतलब त्यहाँ आउने सामग्री गुणस्तरीय थिएनन् भन्न खोजेको होइन। तर, कस्तो भने त्यो पर्खिनु पर्ने बाध्यता अहिले हटेको छ। अहिले तत्काल अपडेट हुन्छ।ताजा समाचार पढ्न पाइन्छ। यो त भयो प्राविधिक प्रगति।

गुणात्मक कुरा गर्ने हो भने चाहिँ संख्या वृद्धि भएपछि त्यसमा राम्रो र नराम्रो दुवै विषयले स्थान पाउँछ। विकृति पनि नभएको होइन। विकृतिहटाउन हामीले विभिन्न नियमन निकाय पनि छन्। प्रेस काउन्सिलले पनि अनुगमन गरिरहेको छ।

पत्रकार महासंघले पनि अनुगमनगरिरहेको छ। चलचित्र पत्रकार संघले अनुगमन र खबरादारी गरिरहेको छ। हामीले पनि अनुशासित समिति बनाएका छौँ।स्वअनुसान हुनुपर्छ पत्रकारमा भनेर।

निरन्तर हामीले ती सामग्रीहरुमा चाहि नियमन गरिहेका छौँ र कतिलाई चेतावनी दिएका छौँ। कतिलाई सच्याउन लगाएका छौँ। समाजमा सकारात्मक कुरा जाओस्। तर, त्यो विकृतिको तुलनाका विकास अथवा गुणस्तर बढी छ।

कहिलेकाहीँ केही कलाकार र पत्रकार विवादमा आउँछन्। कलाकार र पत्रकार एकले अर्कालाई दोषारोपण गर्छन्। यसलाई कसरी हेर्नुभएको छ ?

एउटा उखान छ नि‘सँगै सुतेपछि गोडा लाग्छ।’ भनेपछि त अब त्यो गोडा लाग्दाखेरि पनि कहिलेकाहिँ मनमुटाव हुन्छ। हो, यस्तै हो कलाकार र पत्रकारबीच।हामी सँगै छौँ।कहिलेकाही‘मिस अन्डरस्ट्याण्डिङ’ हुन्छ।

त्यसको समाधान पनि छ। कुनै तुरुन्तै समाधान हुन्छन्।कोही कलाकार वा चलचित्रकर्मीहरुले चाहि आफ्नो इगोको कारणले प्रहरीकहाँ जाने कोसिस गर्नुहुन्छ तर, पत्रकारिता सम्बन्धी समस्या प्रहरीकहाँ गएर समाधान हुँदैन।

त्यसका लागि प्रेस काउन्सिल छ। प्रेस काउन्सिलमा कुनै कुरा चित्त बुझेन भने उजुरी दिन सकिन्छ। कलाकार र पत्रकारबीचको यो मिस अन्डरस्ट्यान्डिङ हो। भोलि फेरि सँगै हुन्छन्। भोलि फेरि पत्रकारिता गर्नुपर्छ र कलाकारिता पनि।

प्रायः जुनसुकै समाचार माध्यममा पनि चलेका कलाकारहरुको मात्र समाचार सुन्न र पढ्न पाइन्छ। पर्दा पछाडिका व्यक्ति जसको कलाकार सफल हुनुमा ठूलो हात हुन्छ। उनीहरुको विषयमा चाहीँ चलचित्र पत्रकार, संघलगायतको भूमिका पर्याप्त देखिँदैन नि ?

यो अलिकति खड्केको विषय हो। यो शो बिजनेश भएकाले अलि बढी बिक्ने कन्टेन्टहरु फ्रन्टमा आउने र अलि बढी चर्चित हुने गर्छन्। हरेक मिडिया हाउसले सेलिङ न्यूजलाई प्राथमिकता त दिन्छ नै। तर, त्यसको मतलब अरुलाई प्राथमिकता दिनु हुन्नभन्ने होइन।

लागेको के हुनसक्छ भने जुन न्यूज बिक्री बढी भइराछ, जुन न्यूजको चर्चा बढी भइरहेको छ त्यो मात्र आएको जस्तो पनि लाग्छ। तर, सबैले त्यसो गर्दैनन् र सँधै त्यसो पनि गर्दैनन्।

मेरो उदाहरण हेर्नुहुन्छ भने, मैले नेपाल टेलिभिजनमा एक वर्षसम्म ५२ एपिसोड चित्रपट नामक कार्यक्रमसंचालन गरेको थिए। जसमा ५२ वटै एपिसोडमा पर्दा पछाडिका व्यक्तिहरुको अन्तर्वार्ता लिएको छु।

जसमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिक, किचनमा काम गर्नेदेखि लिएर, छायांकन गर्ने सेट डिजाइनरदेखि लिएर, आर्ट डिजाइनरदेखि लिएर, कोरियोग्राफदेखि लिएर, ब्याकस्टेजमा रहेर काम गर्ने जति पनि हुनुहुन्छ सबैलाई समेटेको थिएँ। त्यो एउटा प्रयास थियो मेरो।त्यसपछि अरुले पनि त्यो चिजहरु गरे।

अहिलेपनि अनलाइन पोर्टलहरुमा पत्रिकाहरुमा पर्दा पछाडि रहेर काम गर्ने व्यक्तिहरुको स्टोरी आउँछ। त्यस्तो पर्दापछाडि रहेर काम गर्ने व्यत्तिको पनि कदर हुनुपर्छ। र उनीहरुको योगदान सबैलाई थाहा दिनुपर्छ। त्यो काम भनेको हामी चलचित्र पत्रकारहरुको हो।

चलचित्र पत्रकारहरुको सीपमुलक अभिवृद्धिका लागि चाहिँ संघले कत्तिको योगदान गरेको छ ?

यसका लागि हामीले विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ।केही समय अगाडि मात्र चलचित्र विकास बार्डमा नै हामीले फोटो र भिडियो पत्रकारिताको विषयमा हामीले कार्यशाला चलायौँ। एकदमै सफल र फलदायी पनि भयो त्यो।

त्यस्तै, त्यो भन्दा अगाडि हामीले कास्की पोखरामा १०० जना भन्दा बढी पत्रकारहरुलाई नेपाली चलचित्रको इतिहासदेखि लिएर वर्तमानका कुरा, समाचार कसरी बनाउने, कसरी पत्रकारितामार्फत समाजका लागि सकारात्मक भूमिका खेल्ने, गलत कुराहरुलाई कसरी रोक्ने, मल्टिमिडिया पत्रकारितालगायतका विविध विषयमा तालिम दिएका थियौँ।

त्यस्तै कोभिडकै बीचमा हामीले ‘आर्टिकल राइटिङ कम्पिटिसन’ गर्‍यौँ।विजेता घोषित गरेर पुरस्कृत पनि गर्‍यौं।देशभरका पत्रकारहरुले पठाएका सयौं आर्टिकलहरु आए। कोभिडले चलचित्र क्षेत्रमा पारेको प्रभावको विषयमा हामीले आर्टिकल राखेका थियौँ। त्यसले पनि एकदमै शिथिल भइरहेको चलचित्र उद्योग र पत्रकारितालाई त्यसले अझै बढी इनर्जी दियो।

अझै बढी जोस जाँगर दिलायौँ। त्यसरी काम गर्‍यौँ। यसका अलावा बेला बेलामा विभिन्न संघ संस्थाहरुसँग मिलेर यस्ता खाले कार्यक्रमहरु गरिरहेका छौँ र विशेषगरी चलचित्र पत्रकारितामा नयाँ आउने साथी लक्षित गरेर यस्ता कार्यशालाहरु निरन्तर गरिरहनेछौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *