टेलिफोन टावरको लागि रु ५५ लाख बजेट
-सांकेतिक तस्वीर
किमाथाङ्का । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले टेलिफोन टावरका निर्माणका लागि रु ५५ लाख विनियोजन गरेको छ । भोटखोलाले टेलिफोन टावरसम्म विद्युत् विस्तार गर्ने रु ५५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटे जानकारी दिए ।
विद्युत् सेवा नपुगेका दुर्गम भोटखोलामा राखिएका बिटिएस टावरमा सोलारपावर जडान गरिएको छ । बिटिएस टावर सोलर पावरको भरमा मात्रै चल्ने गरेका छन् । सोलारपावर जडान गरिएको भोटखोलाको टावर घाम नलाग्दा बेला बेला टेलिफोन सेवाअवरुद्ध हुने गरेको छ । बिटिएस टावरसम्म विद्युत् विस्तार गर्ने चालु आर्थिक वर्षमा रु ५५ लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । भोटखोला–२ मा रहेको माक्पालुङमा जडान टावरमा सोलारले काम नगरेपछि दुर्गम भोटखोलामा मोबाइलमा सम्पर्क बिच्छेद भइरहने मुख्य समस्या छ । भोटखोलामा सिडिएमए स्काइको रिममार्फत मोबाइल फोन सञ्चालनमा छ ।
उक्त विनियोजित बजेटमा गाउँपालिकाबाट रु २५ लाख वडा नम्बर २ बाट रु २५ लाख र वडा नम्बर ४ बाट रु पाँच लाख गरी ५५ लाख बजेट विनियोजन भएको अध्यक्ष भोटेले बताए। गाउँपालिकाले विनियोजन गरिएको सो बजेटले चेपुवामा रहेको विद्युत्लाई माक्पालुङ डाँडाको टावरसम्म लगिने पोल तारलगायतमा खर्च गरिने उनको भनाइ छ । सोलारपावरले काम नगरेपछि चेपुवाको विद्युत् टावर लग्ने तयारी भएको बताए । माक्पालुङमा विद्युत् पुगेपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट लाभान्वित हुने छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment