डा. तुल्सी धरेल सगुनको मार्केटिङ एडभाइजरका रूपमा आबद्ध

डिसी नेपाल
३० साउन २०७८ १४:४४

अमेरिका । सामाजिक संजालमा आधारित इ–कमर्स कम्पनी सगुनले डा. तुल्सी धरेललाई मार्केटिङ एडभाइजरका रूपमा संलग्न गराएको छ । विगत दुई दशकदेखि सपरिवार क्यानडामा रहँदै आएका धरेलले एमबीए र मार्केटिंगमा पीएचडी गरेका छन् । डाक्टर धरेलसँग व्यवसाय विकास तथा सामाजिक समावेशितामा अढाई दशक भन्दा बढीको अनुभव छ । उनले नयाँ उद्यमीहरुलाई व्यवसायिक सफलताका लागि आवश्यक दक्षता र ज्ञान प्रदान गर्दै आएका छन् ।

डाक्टर धरेल सन् १९८७ देखि प्राध्यापन पेशामा संलग्न हुँदै आएका छन् । डाक्टर धरेलका विज्ञताहरूमध्ये अन्तर्राष्ट्रिय बजार व्यवस्थापन, बजार अनुसन्धान, बिक्री तथा प्रवर्द्धन आदि प्रमुख हुन् । प्राध्यापन बाहेक धरेलले परामर्शदाता, उद्यमी र प्रशिक्षकको रुपमा पनि काम गर्दै आएका छन् ।

मार्केटिङमा विद्यावारिधि डा. धरेललाई क्यानेडियन मार्केटिङ एसोसिएसनले चार्टड मार्केटरको उपाधि दिएको छ । धरेल यो उपाधी प्राप्त गर्ने एकमात्र नेपाली मूलका व्यक्ति हुन् । डाक्टर धरेललाई क्यानेडियन मार्केटिङ एसोसिएसनले काउन्सिल मेम्बर र हरेक बर्ष हुने कम्पनीहरूको उत्कृष्ट मार्केटिङको निर्णायक समूहमा पनि मनोनित गरेको छ ।


समाजसेवामा पनि सक्रिय डाक्टर धरेललाई लायन्स क्लब इन्टरन्याशनल, युएसएले सन् १९९२ मा ‘इन्टरनेशनल लियो युथ अफ दि इयर’ सम्मान प्रदान गरेको थियो। मंगोलिया सरकारले सार्वजनिक उद्यमहरूको बजार प्रवर्धनमा सहयोग गरेकोमा विदेशी नागरिकहरुलाई प्रदान गरिने उच्च पदक प्रदान गरेको थियो। त्यस्तै सन २०१७ मा डा. धरेललाई क्यानेडियन मल्टिकल्चरल काउन्सिलले ‘उत्कृष्ट एशियन क्यानेडियन’ सम्मान र सन् २०१९ मा इमिग्रेशन क्यानडाले ‘टप २५ क्यानडियन इम्मिग्रेंट अवार्ड’ बाट सम्मान गरेको थियो ।

सन् २००७ देखि टोरन्टोस्थित सेंटेनियल कलेजमा मार्केटिंङ विषयको प्राध्यापकका रुपमा कार्यरत डा. धरेलले सगुनसँग जोडिन पाउँदा आफू निकै हर्षित भएको बताए । ‘प्रवासी नेपालीहरुद्वारा स्थापना गरिएको र सामाजिक इ–कमर्शको क्षेत्रमा नवप्रवर्तकको रूपमा जन्मिएको हो सगुन । सगुन जस्तो कम्पनीसँग जोडिन पाउँदा म हर्षित छु,’ डा. धरेलले भने ‘विश्वव्यापी ट्रेन्डको आधारमा स्टार्ट–अप कम्पनीहरुलाई कसरी विश्व बजारमा स्थापित गर्ने भन्ने बारेमा मैले मेरो अनुभव र सीप सगुनको लक्ष्य प्राप्त गर्नमा लगाउने छु ।’

डा. धरेललाई सगुन टिममा स्वागत गर्दै सगुनका संस्थापक गोविन्द गिरीले भने ‘हामीले भर्खरै एउटा अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिंगसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीतिक सहकार्य सम्बन्धी सम्झौता गरेका छौं । डाक्टर धरेलजस्ता अनुभवी व्यक्तित्वको संलग्नताबाट सगुनलाई आफ्नो मिशनमा ठूलो सहयोग पुग्ने हाम्रो विश्वास छ ।’ ‘सगुनले विभिन्न क्षेत्रका विज्ञहरूलाई सगुनको अभियानमा सरिक हुन प्रोत्साहन गरिरहने छ’ संस्थापक गिरीले भने

त्यस्तै सगुन कम्पनीका सहसंस्थापक कबिन सिटौलाले अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा लामो अनुभव सम्हालेका डा. धरेलजस्तो व्यक्तित्वलाई सगुनमा जोड्न पाउँदा निकै खुसी लागेको बताए । ‘सगुन आफ्नो यात्राको एउटा महत्वपूर्ण चरणमा रहेको बेला उहाँको अनुभव, ज्ञान, सीप, र सम्पर्क हाम्रा लागि निकै उपयोगी हुने हामीले विश्वास लिएका छौं,’ सिटौलाले भने ।

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोड भन्दा बढी ‘स्मार्ट कोइन’हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ‘स्मार्ट कोइन’हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकिएको छ।

अहिलेसम्म सगुनले सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड च्याट्स, सोसियल स्मार्ट कार्डहरु विकास गरेर बजारमा ल्याइसकेको छ। अव छिट्टै ‘शप’ तथा ‘भ्वाइस स्टोरी’ नामक फिचरहरु पनि बजारमा उपलब्ध गराउने तयारीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *