इटहरीका गाउँ गाउँमा कालोपत्रे सडक (फोटोफिचर)

डिसी नेपाल
२ भदौ २०७८ २३:३३

इटहरी । इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगर भएपछिका जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हुनेछ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका बाटोहरु पिच भएका छन्, धेरै बाटोहरु धमाधम बन्दैछन् । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजनाहरु सम्पन्न हुने चरणमा छन् । अघिल्लो बर्ष सुरु भएका ११ बहुवर्षे सडक मध्ये ७ वटा निर्माण सम्पन्न भएका छन् । चारवटा लामा सडक दशैँअघिनै निर्माण सक्ने गरी काम भइरहेको छ ।

आर्थिक बर्ष ०७७‐७८ का ४० वटा बहुबर्षे योजनामा पनि धमाधम काम भइरहेको छ । बरिष्ठ इन्जिनियर घिमिरेले सबै प्राविधिक जनशक्ति यी निर्माणमा केन्द्रित गरिएकाले दशैँअघिनै काम सम्पन्न हुने विश्वास ब्यक्त गरे । गत आर्थिक बर्षमा कोरोनाका कारण बेलैमा ती योजना सुरु हुन सकेका थिएनन् । गाँउलाई शहरसँग जोडने गरी इटहरीका सबै मुलबाटोहरु कालोपत्रे हुने चरणमा छन् ।

चार बर्षको अवधिमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन वटा ठूला पूल निर्माण सुरु भएको छ । वडाका आफनै भवन निर्माण भइरहेका छन् । अबको एक बर्षभित्रमा १६ वटा वडा आफनै कार्यालयमा हुने छन् । इटहरीका प्रत्येक वडाबाटै वडाबासीले सेवा पाउने छन् ।

प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सँचालन हुदैछन् । आधारभूत स्वास्थ्य सेवाका लागि अब इटहरीबासीले टाढा धाउनु नपर्ने भएको छ । साविकको खनार, एकम्वा, पकली, हाँसपोसाका वासिन्दाले उपमहानगरबासी भएको अनुभूति गर्न थालेका छन् । यति चाँडै आफनो झुपडी अगाडिवाट पिच बाटो हुँदै बजार पुग्न पाइएला भन्ने सोच्दै नसोचेको त्यहाँका बासिन्दाको भनाइ छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनीति बाटै सन्यास लिने बताइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *