सामाजिक सञ्जालबाट प्रसारित बगलेक क्षेत्रमा आन्तरिक पर्यटकको घुईँचो

डिसी नेपाल
६ भदौ २०७८ १५:५८

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् ।

अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा आउने गर्छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासी सुनिल विकले बताए । उनले, ‘पहिले हाम्रा गाउँमा फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बगलेकमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको छ ।’

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बगलेकसम्म सडक कालोपत्र भएका कारण यात्रामा सहज हुने भएकाले पनि पर्यटक भित्रिन थालेको बताइएको छ । आन्तरिक पर्यटक धमाधम भित्रिन थालेपछि अहिले बगलेकमा होटेल तथा पसल पनि खुल्न थालेका छन् ।

यहाँका व्यापारीलाई दैनिक स्थानीय खाद्य परिकार तथा सामग्री बिक्री गर्न भ्याइनभ्याइ भएको बगलेकमा होटेल सञ्चालन गरेकी कलाकुमारी साउँदले बताइन् । उनले भनिन्, ‘गाउँको लोकल खानेकुराको अडर गर्ने धेरै आउँछन, हामीलाई स्थानीय परिकार पकाउन र बिक्री गर्न भ्याइनभ्याइ छ ।’

पर्यटकलाई घुम्नका लागि सो क्षेत्रमा घोडाको पनि व्यवस्था छ । घोडा सफारी गर्ने भएकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइएको छ । यहाँ घुम्न आउने पर्यटकका लागि स्थानीयवासीले तीन वटा घोडाको व्यवस्था गरी घोड्चडी गराउने गरेको घोडा सञ्चालक विक्रम कामीले बताउ ।

उनका अनुसार पहिले पहिले घोडामा सरसामान मात्र बोक्ने गरिन्थ्यो भने अहिले पर्यटकको मागबमोजिम घोडचडीको पनि व्यवस्था गरिएको छ, जुन व्यवसाय अहिले राम्रो चलेको छ । उक्त व्यवसायबाट दैनिक दुइदेखि तीन हजारसम्म कमाई हुन्छ ।

घोडा चढ्नकै लागि भए पनि आन्तरिक पर्यटक बढी भित्रिन थालेकाले अरु घोडा थप्ने योजना बनाइएको अर्का घोडा सञ्चालक रमेश विकले बताए । यहाँ घोडामा चढ्न रमाउनेमा पुरुषभन्दा महिला पर्यटकको सङ्ख्या बढी भएको स्थानीयवासी बताउँछन् । बगलेकमा दिनभरि रमाउने र पिकनिक गर्ने ठाउँ भएका कारण पनि त्यहाँ आन्तरिक पर्यटक जान बढी रुचाउछन् ।

अग्लो डाँडामा भएकाले यो ठाउँ निकै रमणीय छ । यस क्षेत्रलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ । खप्तडकै जस्ता फाँट भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको र तीनै फाँटको अवलोकन गर्नका लागि भए पनि आन्तरिक पर्यटक आउने गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताए ।

बगलेकको उच्च डाँडाबाट छिमेकी मुलुक भारतको टनकपुर तथा सुर्खेत जिल्लाका विभिन्न ठाउँ पनि अवलोकन गर्न सकिने भएकाले निकै रमणीय तथा आनन्ददायी हुने गरेको स्थानीयवासीको भनाई छ ।

जिल्ला सदरमुकाम सिलगढीबाट २० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गर्छन् ।

पूर्वाधार विकास गर्ने योजना

आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेपछि पूर्वीचौकी गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्ने योजना बनाएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएपछि यहाँ पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

पिकनिक स्पटको विकास गर्ने, वनजङ्गल तथा वन्यजन्तुको संरक्षण गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *