नेपाली कांग्रेसमा ‘भाँडभैलो’ : कहिले धर्ना, कहिले रिले अनसन

तर्कबहादुर थापा
९ भदौ २०७८ १०:५१

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरु क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै रिले अनशन घोषणा गरेका छन्। उनीहरू पार्टी मुख्यालय सानेपामा बुधबार ११ बजेबाट २४ घण्टे रिले अनशन बस्ने भएका हुन्।

मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीका जिल्ला सभापतिहरु धर्नामा थिए। पूर्वतर्फ फर्किएको विपी स्मृतिभवनको मुख्य ढोकाका दुबैतर्फ व्यानर टाँसिएका थिए। दाइने तर्फ कैलाली क्षेत्र नं. १ र देब्रेतर्फ बारा जिल्लाको क्रियाशील सदस्यतामा भएको धर्नाको व्यानर थियो।

दुबै व्यानरलाई छेक्ने गरी ४० बढी जिल्लाहरुका सभापतिले दुई घण्टा धर्ना दिएको व्यानर थियो। जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नु पर्ने, सभापति हुने दोहोरो मापदण्डलाई हटाउनु पर्नेलगायतका मागहरु लेखिएका थिए।

मंगलबार साँझसम्म मागहरुको बारेमा कुनै सुनुवाई नभए बुधबारदेखि रिले अनसन बस्ने उनिहरुको चेतावनी थियो। रिले अनसनस २४ घण्टा नै बस्ने र विभिन्न जिल्लाका सभापतिहरुले अनसनको नेतृत्व गर्ने उनिहरु बताउँदै थिए।

माग पूरा नभएसम्म रिले अनसनमा छौं : केसी

मंगलबार बेलुकीसम्म सम्झौता नभएपछि बुधबार ११ बजेदेखि रिले अनसनको घोषणा गरेका छन्। नुवाकोटका कांग्रेस सभापति जगदिश नरसिंह केसीले आफूहरु रिले अनसनमा बसेको पुष्टि गरे। पहिलोदिन नुवाकोट सभापतिका जगदीश्वरनरसिंह केसी, काभ्रेका मधु आचार्य र धादिङका रमेश धमला रिले अनसनमा बस्ने भएका छन्।

नुवाकोटका सभापति केसीले भने, ‘हाम्रो माग पुरा नभए बुधबारबाट रिले अनसन बस्ने छौं। मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन् भनेर बुझ्न पाउँने नेपाली कांग्रेसको विधानसम्मत अधिकार हो।’

उनले भने, ‘महाधिवेशन प्रतिनिधिबाट जिल्ला सभापति हुनु पर्ने प्रावधान विधानमा छ, तर निर्वाचन निर्देशिकामा एक निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्रबाट आएको व्यक्ति जिल्ला सभापति लड्न पाउने प्रावधान राख्नु भयो जिल्ला सभापति महासमितिको सदस्य हुनबाट बञ्चित भयो। ३५ वटा जिल्ला तेस्तो छ।

७७ वटै जिल्लामा महाधिवेशन प्रतिनिधिबाट मात्रै जिल्ला सभापतिको उम्मेदवार हुनु पर्छभन्ने माग ८ लाख ५० हजार क्रियाशील सदस्य, ५० लाख भन्दा बढी साधारण सदस्यहरुको साझा माग हो।’

सभापतिहरु नै धर्नामा बस्दा दुःख लागेको छ : लामा

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले आफू सभापति भएर धर्नामा बस्दा दुःख लागेको बताए। उनले भने, ‘क्रियाशील सदस्यतामा जालझेल भएको छ। संस्थापन इतरपक्षका व्यक्तिहरुलाई क्रियाशील सदस्यबाट निकाल्ने काम भएको छ। नेपाली कांग्रेसको इतिहासमा कालो धब्बा लाग्यो।’

क्रियाशील सदस्यता सार्वजनिक गरेपछि महाधिवेसनका लागि तयार रहेको हामी सभापतिहरुको क्रिायशील सदस्यता छ कि छैन भन्ने बारे अनविज्ञ भएको उनको भनाइ थियो। ‘अधिवेसन हुन सक्ने सम्भावन छैन। सभापतिहरुले नै अधिवेसन गरेन भने कसले गर्छ। अहिलेको महाधिवेशन सेडुअलले वैधानिकता जोगाउन सक्दैन भदौ २३ गते नै महाधिवेसन गरेर निर्वाचन आयोगलाई बुझाउनु पर्नेमा मंसिरमा महाधिवेशन भनिएको छ,’ लामाले भने।

कांग्रेस कार्यकर्ता अपमानित हुनु परेको छ : धमला

यस्तै, नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले आन्तरिक लोकतन्त्रको दृष्टिकोणबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु यो भन्दा ठूलो अपमानित हुनु परेको बताए।

उनले भने‘ आन्तरिक लोकतन्त्रको दृष्टिकोणबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु यो भन्दा ठूलो अपमानित कहिलै पनि भएका थिएनन्। आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको कुराको अनुभूति भयो। कहिलै पदाधिकारी, कहिलै पूर्व पदाधिकारी गरी अनेकौं बाहानामा विधानको धारा मिच्ने काम भयो। पार्टीको केन्द्रीय कार्यलयमा सभापतिविरुद्ध आन्दोलन गर्नु परेको तितो अनभूतिमा छौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *