एमालेमा नयाँ अध्याय

तर्कबहादुर थापा
९ भदौ २०७८ १४:४२

काठमाडौं। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले वरियता अनुसार आफ्नो दायाँबाँया उपाध्यक्ष, महासचिव, सचिवसहित स्थायी कमिटी सदस्यलाई राखेर पत्रकारसँग खुलेर प्रस्तुत भए।

सुरुमा पत्रकारको प्रश्न सुनेका ओलीले क्रमश सबै प्रश्नको पालैपालो जवाफ दिए। सुरुमा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशबाट जवाफ दिन थालेका ओलीले अन्तिममा एमाले विभाजन गरेर अगल पार्टी निर्माण गरेका माधव नेपालप्रति टिप्पणी गर्दै मन्तव्य टुंग्याए।

आफू सरकारमा हुँदा र सरकार बाहिर हुँदासमेत आफ्नो भावभंगीमा परिवर्तन नदेखाउने ओलीले बुधबारको प्रत्रकारसम्मेलनमा पनि निश्चिन्त भावमा प्रस्तुत भए। कतिपय सन्दर्भमा ठट्यौली पाराले प्रश्नको जवाफ पनि दिए।

लामो विवादकाबीच अन्ततः नेकपा एमाले विभाजित बनेको छ। संस्थापन पक्षले यसलाई एक समूह चोइटिएर गएको भनेको छ भने विभाजित गर्ने समूहले नयाँ पार्टी गठन गर्दै कम्युनिष्ट पार्टीबीच वृहत एकता गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेपालको वृहत कम्युनिष्ट पार्टी भनेको एमाले मात्रै भएको दाबी गर्दै एमाले मुलुकको मुलप्रवाह भएको जिकिर गरे।

ओलीले आफ्ना कुरा खुलस्त रुपमा पत्रकारसामु राखिरहँदा एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेकोे माधवन नेपाल समूह भने सनाखतका लागि निर्वाचन आयोगमा पुगेका थिए। सनाखतपछि अब नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) ले चाँडै दलको मान्यता पाउँदैछ।

पार्टी विभाजन र सरकारबाट बाहिरिनु परेको पीडा ओलीले कतै पनि देखाएनन्। बरु उनले आफू चिन्ता लिने मानिस नभएको भन्दै अरु रिसोर्टमा घेरेर निदाउने मलाइ किन निद्रा नलाग्नु भन्दै ठट्याैली जवाफ दिए।

लामो समयसम्म माधव नेपाललाई साथ दिएका तर पार्टी विभाजनलाई साथ नदिइ मुल पार्टीमा रहेका नेताहरुलाई दायाँबायाँ राखेर ओलीले अब एमाले एक भएर जाने प्रतिवद्धता पनि जनाए।

अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि रिसोर्टमा एमालेका नेताहरुलाई माधव कुमार नेपालले बन्धक बनाएको आरोप लगाए। उनले भने, ‘सुनको बनाए पनि पिँजडा पिँजडानै हुने गर्छ। त्यहाँ भित्र पर्नु भनेको बन्धक हुनु नै हो। यहाँ केही नेता तथा कार्यकर्तालाई टाकुरोको होटलमा बन्धक बनाइएको छ। त्यहाँबाट सिधै निर्वाचन आयोगमा ल्याएर खोलिने छ।’

नेता झलनाथ खनालले भारतबाट निर्वाचन आयोगमा माधव कुमार नेपालको पक्षमा गरेको सनाखतलाई अवैधानिक ठहर ओलीले गरेका छन्। उनले भने, ‘अहिलेसम्म पत्रबाट, टेलिफोनबाट वा अन्य कुनै माध्यामबाट गरिएको मतदानलाई मान्यता दिइएको छैन। निर्वाचन आयोगको कार्यलय नभएर गरिएका भोट अवैधानिक हुन्छन्। तर, अहिले त्यो प्रक्रिया मिचिएको छ। जसले जहाँबाट जसरी पनि भोट गरेको अवस्थामा मान्ने गराइएको छ।’

नवौं महाधिवेशनमा प्रतिस्पर्धी रहेका माधवकुमार नेपाल ओलीले सत्ता सम्हलेपछि आलोचक भएर निस्किए। चुनावी तालमेल गरेको माओवादी केन्द्रसँग २०७५ जेठ ३ गते एकता गरे पनि ओलीसँग नेपाल खुसी भएका थिएनन्। बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको सोही कमजोरीमा दरिलो खुट्टा टेके र पार्टीभित्र विवादको सिर्जना भयो।

ओलीले २०७७ को पुष ५ गते प्रतिनिधिसभा विघटन गरे। सर्वोच्च अदालतले फागुनमा पुनस्र्थापना गरिदियो। सर्वोच्चले प्रतिनिधिसभाको पुनस्र्थापनामात्र गरेन २३ फागुनमा एमाले र माओवादीलाई अलगअलग पनि गरिदियो।

एमाले र माओवादी केन्द्र अलग भएपछि खुलेरै बरिष्ठ नेतासमेत रहेको नेपालले एमालेभित्र विद्रोहको सुरुवात गरे। ओलीलाई प्रतिगमनको मतियारदेखि अनेकौं आरोप लगाए। उता ओलीले भने माओवादी केन्द्रका केही नेताहरुलाई स्थायी कमिटी सदस्य बनाए। आरोप प्रत्यारोपको शिलशीला कायम रह्यो।

जेठमा आएपछि पुनः दोस्रो पटक ओलीले प्रतिनिधिसभा विघटन गरे। ओलीको विकल्पमा लागेको एमालेकै नेताहरुले तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादीसँग मिलेर सरकार ढलाउने प्रयास गरे। अन्ततः अदालतको परमादेशबाट ओली सरकार ढल्यो र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयो।

माधव कुमार नेपालले सरकार ढलाउन र बनाउन ठूलो सहयोग गरेको भन्दै गठबन्धनको देउवा सरकारले पार्टी फुटाउने अध्यादेश जारी गर्यो। माधव नेपालले एमालेका सांसद र केही केन्द्रीय सदस्यहरु लिएर अलग पार्टी दर्ता गरेका छन्।

माधव कुमार नेपालसँग मिलेर ओलीको विकल्प खोजेका धेरै जसो प्रभावशाली नेताहरु एमालेमै सामेल भएका छन्। ओलीको सरकारमा मन्त्री बनेका केही नेताहरु माधव कुमार नेपालले दर्ता गरेको नयाँ पार्टीमा प्रवेश गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *