एनआरएनए सचिव र सहकोषाध्यक्षमा जापानबाट क्रमशः गुरुङ र श्रेष्ठको उम्मेदवारी

डिसी नेपाल
१३ भदौ २०७८ ११:२१

काठमाडौं । जापानमा व्यवसाय गर्दै आएका ओम गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने भएका छन् भने सहकोषाध्यक्ष पदका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द)ले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिमा जापानलाई कर्मथलो बनाउँदै आएका गुरुङ र श्रेष्ठ क्रमशःसचिव र सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किएका गुरुङ विगत २० वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् । हाल उनी नेपालको चितवनमा बसोबास गर्छन् । गुरुङसँग एनआरएनए अभियानमा बसेर काम गरेको लामो अनुभव छ । सन् २००८ देखि नै उनी एनआरएनए अभियानमा सक्रिय छन् । उनी यो वर्ष एनसीसी जापानको उपाध्यक्ष नियुक्त भएका थिए ।

उनले २०११–१३ सम्म जापान शाखाको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी २०१३ देखि २०१९ सम्म एनआरएनए आइसीसीको सदस्य निर्वाचित भएका थिए । उनले तीन कार्यकाल सदस्य भएर काम गरे । तमुधी जापानको सल्लाहकार, चितवन समाज जापानको सल्लाहकार, पर्वत समाज जापानको सल्लाहकार, पर्वत समाज जापान एवं अन्तर्राष्ट्रिय पर्वत समाज उप–संयोजक भएर काम गरिसकेका छन् ।

त्यसैगरी, जापानलाई कर्मथलो बनाएका गोबिन्द श्रेष्ठले व्यवसायिक तथा सामाजिक जीवनलाई सफल बनाएका छन् । एसिया प्यासिफिक संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका श्रेष्ठले आगामी कार्यकाल २०२१–२३ का लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

एनआरएन अभियानमा लामो समयदेखि लागेर प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र निरन्तर एनआरएन अभियानमा लाग्ने चाहना अनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको श्रेष्ठको भनाई छ । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका श्रेष्ठले एनआरएनए अभियानमा फड्को नमारी क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *