डेलिगेटको अर्को चुनाव नगर्ने भन्दै एनआरएन अमेरिकाले आईसीसीलाई पत्र पठायो

डिसी नेपाल
१५ भदौ २०७८ ०:४०

वासिंगटन डिसी । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिकाले डेलिगेट निर्वाचन पुन गरिरहनु नपर्ने र नगर्ने भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) लाई पत्र पठाएको छ।

अगष्ट २८ तारिकमा आईसीसी पठाएको पत्रमा यसअघि नै सबै प्रक्रियाहरु पूरा गरेर एनआरएनए अमेरिकाले निर्वाचन गरेकोले नयां निर्वाचन गरिरहनु नपर्ने भन्दै पत्र लेखको हो।

उसले पत्रमा आफूले अगष्ट १३ तारिकमै सम्पन्न गरेको निर्वाचन आईसीसीको विधान र एनसीसीको विधान र अमेरिकाको कानुनसम्मत भएको दावी पनि आईसीसी समक्ष बुंदागतरुपमा प्रस्तुत गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)को आगामी अक्टोबरमा हुने निर्वाचनका लागि २५ प्रतिशत अर्थात् ४७ जना मतदाता प्रतिनिधि छान्ने क्रममा अमेरिकामा विवाद भएको थियो।

विवादका कारण एकपटक आईसीसीले निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर, निर्वाचन गर्न अगष्ट १० मा आईसीसीले पुन पत्राचार गरेपछि एनसीसीले पुरानै प्रक्रियालाई निरन्तरता दिंदै २९ वटा राज्यबाट २९ जना मनोनित गरी बाँकी १८ जनाको १८ जनाको निर्वाचन गराएको थियो।

यो निर्वाचनलाई आईसीसी अस्वीकार गर्दै विधिसम्मत प्रतिनिधि पठाउन फेरि पत्राचार गरेको थियो। यही पत्रको जवाफ दिँदै एनआरएनए अमेरिकाले आफूले सबै विधि र प्रक्रिया पूरा गरी निर्वाचन सम्पन्न गरेकोले अर्को निर्वाचन गराइरहनु नपर्ने र निर्वाचित व्यक्तिहरु नै आईसीसीको लागि अमेरिकाका डेलिगेट भएको दावी गरेर पत्रचार गरेको हो।

समाचारअनुसार, अगष्ट १३ कै निर्वाचनलाई सदर गर्नेबारे एनसीसी अमेरिकाको बोर्ड बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले प्रस्ताव पेश गरेका थिए। जम्मा ३१ सदस्यीय बोर्डमा उनको प्रस्तावलाई सदर गर्ने पक्षमा २० जनाले समर्थन गरेका थिए भने विधिसम्मत पुन निर्वाचन गर्नुपर्ने पक्षमा बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित ६ जनाले फरक मत राखेका थिए।

पन्थसहित विकास उप्रेती, दीक्षा बस्नेत,सुनिता कंडेल, आशीष संग्रौला र ज्ञानेन्द्र गुरुङ्गले पुन निर्वाचन हुनुपर्ने अडान राख्दै फरक मत राखेका थिए। कार्यसमितिको अगष्ट २५ तारिक सम्पन्न सो बैठकमा बोर्ड सदस्य बालाराज घिमिरेले अर्को प्रस्ताव पेश गरेका थिए।

आईसीसीका अध्यक्ष र एनसीसीका अध्यक्षले मिलेर यो समस्याको समाधान गर्नुपर्ने भन्ने उनको प्रस्ताव थियो। यो प्रस्तावका पक्षमा घिमिरे, शान्ति पौडेल वाग्ले र किरण बस्नेतसमेत ३ जनाले समर्थन गरेका थिए।

एनसीसी अमेरिकाको बोर्डको बहुमतले निर्णय गरेको भन्दै अगष्ट १३ कै डेलिगेट निर्णय विधिसम्मत भएको विवरण खुलाएर आईसीसीलाई पत्र पठाइएको एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले डिसी नेपाललाई बताए। उनले भने,‘यसबारे आईसीसीलाई एनसीसीको तर्फबाट पत्र  पठाइसकिएको छ।’

२५ प्रतिशत डेलिगेट विवादमा असन्तुष्ट समूहले डा.राजन पन्तको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाई छुट्टै निर्विरोध छनौट गरेको भन्दै ४७ जनाको नाम सार्वजानिक गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *