आईसीसीको भण्डाफोर गर्ने भन्दै अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीको चेतावनी

डिसी नेपाल
१५ भदौ २०७८ ८:३३

काठमाडौं। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) को निर्वाचन सम्मुखमा रहेको बेला आईसीसी सचिवालयका नेता र धेरै सदस्य हुने तीन देशका राष्ट्रिय समन्वय परिषद्(एनसीसी) का बीच चर्को द्वन्द उत्पन्न भएको छ।

अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीहरुले आफूहरुलाई दुख दिए आईसीसीको भण्डाफोर गरेर अघि बढ्ने बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को दसौँ विश्व सम्मेलनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) को नाममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र बढी सदस्य हुने राष्ट्रिय समन्वय परिषद्हरू बीच चर्को द्वन्द देखिएको हो।

अगष्ट २६ तारिख तीन देशका एनसीसी अध्यक्षहरुले पत्रकारहरुसँग कुरा गर्दै विधि, विधान र प्रक्रियागत ढङ्गले पठाएका प्रतिनिधिको नाम कुनै पनि वहानामा अस्वीकृत गर्ने वा तलमाथि गर्ने काम भएमा संयुक्तरूपमा प्रतिवाद गर्ने बताएका थिए।

संस्थापनइतर पक्षका राष्ट्रिय समन्वय परिषद्हरू अमेरिका, बेलायत र अष्ट्रेलियाका प्रतिनिधिहरूको सूचीमा वैधानिकबारे आइसीसीको सचिवालयबाट पदाधिकारीहरूले प्रश्न उठाएका हुन्।

एनसीसीहरुले विधिवत प्रतिनिधि छनौट गरी आइसीसीमा नामावली पठाइसकेको दावी गर्दै आएका छन् भने आइसीसीका महासचिव हेमराज शर्माले कतिपय एनसीसीहरुलाई पुनः निर्वाचन गरी प्रतिनिधि पठाउन पत्राचार गरेका छन्। उनले एनसीसीहरुले पठाएका नामावली मान्य नहुने प्रस्ताव आइसीसीको पदाधिकारी बैठकमा राखेका थिए।

समाचारअनुसार, महासचिव शर्मा र सचिव गौरी जोशीले एनसीसीहरुको नामै तोकेर अमेरिका, बेलायत र अष्ट्रेलियाले पठाएको सूची स्वीकार गर्न नसकिने बताएपछि गत साता बसेको आइसीसी पदाधिकारी बैठकमा पदाधिकारीहरु बीच नै भनाभन चलेको थियो।

एनआरएनएको संशोधित विधानअनुसार नै चयन गरिएको दावी पेश गर्दै आफूले छानेका प्रतिनिधिहरुलाई समेत आइसीसीले मान्यता नदिने भन्दै पुन निर्वाचन गर्न र प्रमाण पेस गर्न पत्राचार गरेकोमा अमेरिका, बेलायत र अष्ट्रलियाका एनसीसीहरु केन्द्रसँग रुष्ट भएपछि द्वन्द चर्किएको छ।

अमेरिका, अस्ट्रेलिया र बेलायत सबैभन्दा बढी सदस्यहरू भएका एनसीसी हुन्। आईसीसीको नेतृत्व र महत्वपूर्ण पदका लागि अगाडि बढिरहेका यी देशमा डेलिगेट्सको विषयमा आफूहरुबीच अन्तरद्वन्द चर्काउन आईसीसीले प्रयोजित ढङ्गले यस्तो विवाद ल्याएको तीन देशका एनसीसी अध्यक्षहरुको आरोप रहेको छ।

संशोधित विधानअनुसार अघिल्ला कार्य समितिमा रही काम गरिसकेकाहरूबाट ६५ प्रतिशत, पञ्जीकृत सदस्यहरूमध्येबाट २५ प्रतिशत र योगदान दिएका तर, छुटेकाहरू मध्येबाट १० महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्छ।

सोही प्रावधान अनुसार चयन गरिएकामध्ये २५ र १० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको नाममा किचलो उठेको हो। यी देशका एनसीसी अध्यक्षहरु प्रक्रिया पुर्‍याएर पठाइएको नामावली संशोधन गर्न नसकिने अडानमा छन् भने आइसीसीका महासचिव शर्माले नाम संशोधन गर्नै पर्ने निर्देशन जारी गर्दै आएका छन्।

एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीका अनुसार एनसीसी अमेरिकाले २५ प्रतिशत अन्तर्गत ४७ जना पठाउन पाउँछ। सोही अनुसार निर्वाचन आयोगमार्फत निर्वाचन प्रक्रिया पुर्‍याएर ४७ जनाको नामावली आइसीसीलाई पठाइसकेपछि आइसीसीका महासचिव शर्माले एनसीसीका महासचिवलाई इमेल गरेर पुनः निर्वाचन वा निर्वाचन प्रक्रियाको पूर्ण विवरण पठाउन परिपत्र गरेकोमा असन्तुष्टि प्रकट गरे।  उनले भने, ‘हामीले आईसीसी र एनसीसीको ‘बाइ लज’ अनुसार नै गरेका हौं। यो भन्दा बेटर उपाय हामीसँग केही पनि छैन।’

यता, बेलायतले पनि विधानअनुसार नयाँ कार्यसमिति आइसकेपछि नयाँ समितिले पठाएका प्रतिनिधिहरू नै आधिकारिक हुने जवाफ आइसीसीलाई दिएको छ। अघिल्लो समितिले पठाएको ६५ प्रतिशत अन्तर्गतको नामावली मापदण्ड मिलाएर परिमार्जन गरिएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए।

‘सरोकार नै नभएका व्यक्तिहरूले समेत एनसीसीको लेटरप्याड प्रयोग गरेर नामावली पठाएका रहेछन्,’ गाहा मगरले भने, ‘हामीले त्यसलाई करेक्सन गरेका छौँ, विधानमा तोकिएको मापदण्डअनुसार नै हामीले नामावली पठाएका छौँ।’

बेलायतमा निर्वाचन समितिको नाममा पनि अनधिकृत चलखेल गर्न खोजिएको एनसीसी यूकेका उपाध्यक्ष नारायण कंडेलले बताए । ‘निर्वाचन समितिको काम निर्वाचन गराउने हो। प्रतिनिधि छनोट गर्ने होइन,’ उनले भने। आईसीसीका केही नेताले आफूलाई मन परेका व्यक्तिहरूलाई जिताउनका लागि मात्रै किचलो झिकेको बताउँदै आइसीसीको रवैया यस्तै रहे कानुनी उपचार खोज्ने उनले चेतावनी दिए।

अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले १६ हजार मतदातामध्येबाट प्रतिनिधि चयन गरी तिनै प्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको दावी गरे। ‘अस्ट्रेलियामा १६ हजार मतदाता रहेका छन् उनीहरूले ४५ जना छान्न गाह्रो हुने भएकाले हामीले निर्वाचित प्रतिनिधिहरूले मात्रै मतदान गरेर छानेका हौँ,’ उनले भने। ‘यो विषयमा हामीले निर्वाचन समितिसँग सल्लाह गरेका थियौँ । यसमा हामीले १४ जनाको सिट पहिला नै रिजर्भ गरेका थियौँ भने ३१ जनाको चुनाव गरेका हौँ।’

विधानमा के छ ?

गैर आवासीय नेपाली सङ्घको विधान २००३ को संशोधन २०२१ को धारा १३ को उपधारा ७ मा प्रतिनिधि चयनसम्बन्धी व्यवस्था गरिएको छ।
त्यसको ९ (क) मा राष्ट्रिय महाधिवेशन, एनसीसीको महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधिहरू निर्वाचित हुने व्यवस्था छ।

त्यसै गरी ९ (ख) मा त्यो निर्वाचनबाट यदि महिला, युवाहरू र गैर आवासीय नेपाली सङ्घमा विशेष योगदान गरेकाहरु छुटेका छन् भने गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय परिषदले सिफारिस गरेर पठाउने १० प्रतिशत प्रतिनिधिहरूको व्यवस्था गरेको छ।

यसरी ३५ प्रतिशतको छनोट हुनुपूर्व यही विधानको अनुसूची ६ (क) अनुसार गैर आवासीय नेपाली सङ्घको विभिन्न समितिमा रहेर काम गरिसकेका व्यक्तिहरू राष्ट्रिय समन्व्य परिषदले छनोट गरेर पठाउनु पर्ने व्यवस्था छ।

अनुसूची ६ का अनुसार राष्ट्रिय महाधिवेशन हुनुभन्दा अगाडि नै आईसीसीमा पठाइसकिएको हुनुपर्छ । २५ प्रतिशत राष्ट्रिय महाधिवेशनमार्फत पठाउनु पर्छ। १० प्रतिशत कार्यसमितिले पछाडि पठाउने हो।

एनसीसीहरुले यही प्रावधान अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको नामावली पठाए पनि आइसीसीका पदाधिकारीहरूले विवाद झिकेको एनसीसी यूकेका उपाध्यक्ष नारायण कँडेलको दाबी छ।

युकेको निर्वाचनका विषयमा आईसीसीमा रहेका व्यक्तिहरूले सोँचे भन्दा फरक नतिजा देखेपछि विवाद झिकेको कँडेलले बताए । आइसीसीकै पदाधिकारीहरूले केही विश्वासपात्रमार्फत छुट्टै नामावली मगाएकाले विवाद बढाएको आरोप पनि उनले लगाए।

तीनै देशका एनसीसी अध्यक्षहरुले प्रतिनिधि चयनका नाममा आईसीसीले प्रायोजित रूपमा विवाद गरेको भन्दै एक भएर सामना गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा एनआरएनए अमेरिका र अष्ट्रेलियाका महासचिव द्वय अन्जन कुमार चौलागाई र राजु अधिकारीले एनसीसीले पठाएको डेलिगेट्स लिष्ट तलमाथि वा अस्वीकृत गरिएमा आईसीसीको नाजायज हस्तक्षेपको भण्डाफोर गर्दै संसारभरका सबै एनसीसी एकजुट भएर अगाडि बढ्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *