एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा जोन अर्यालको उम्मेदवारी

डिसी नेपाल
१६ भदौ २०७८ १३:२९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमार्फत चुनिने नयाँ कार्यसमितिका लागि मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्याल (जोन)ले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा रहेका अर्यालले ५ बुँदे घोषणापत्रसहित सन् २०२१–२०२३ कार्यकालका लागि संयोजकमा उम्मेदवारी दिएका हुन् ।

अहिलेसम्म मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको मात्र एकल उम्मेदवारी परेको छ । पाल्पा निवासी अर्याल आफू ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर सामाजिक अभियानमा जोडिएको बताउँछन् ।
उनी साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि श्रमिकका समस्या समाधानमा सक्रिय थिए । मध्यपूर्वका श्रमिकहरुको हकहित तथा समस्या समाधानमा सदैव अग्रपंक्तिमा देखिने अर्यालले कोभिड–१९ महामारीको समयमा राहत तथा उद्धार कार्यमा उल्लेख्य भूमिका खेलेका थिए । आगामी कार्यकालमा पनि आफ्नो पहिलो प्राथामिकतामा श्रमिकका रहने उनले बताएका छन् ।

सन् २०१३ देखि एनआरएन अभियानमा जोडिएका अर्याल एनआरएन साउदी अरबको एनसीसी सदस्य, आइसीसी सदस्य, मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुँदै आगामी कार्यकालका लागि क्षेत्रीय संयोजकको जिम्मेवारी वहनका लागि अघि बढेका छन् ।

लामो समयदेखिको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सही सदुपयोग गर्दै प्रवासी नेपाली श्रमिकको हितमा काम गर्ने अठोटसहित मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

विदेशमा बस्ने नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको भएको भन्दै उनले यसको समाधानका लागि वैदेशिक रोजगारका नीतिगत सुधारको पहलदेखि विदेशमा रहेका नेपाली कुटनैतिक निकायमार्फत रोजगारदाता मुलुकका सम्वन्धित निकायसँग समन्वय तथा विदेशमा रहेका नेपाली संघ–संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै प्रवासमा रहेका नेपालीलाई स्वदेशमा लगानीको क्षेत्रमा जोड्ने आफ्नो अर्को लक्ष्य रहेको अर्यालको भनाई छ । साउदी अरबमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका अर्याल मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *