अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित)

डिसी नेपाल
१७ भदौ २०७८ ८:०७

काठमाडौं। अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति दुख्यो होला।

त्यसमा पनि अमेरिकाबासी नेपालीहरुले गाँस काटेर सहयोग गरेको स्वस्थ्य सामाग्रीहरु नेपाली भूमिमा पुगेपछि पनि घृणित राजनीतिको शिकार भयो भन्ने खबरले पीडाबोध नहुने कुरै हुँदैन।

अगष्ट २७ तारिक अमेरिकाको युटा विमानास्थलबाट अमेरिकी एयर फोर्सको जहाज उडेर अगष्ट ३१ तारिक नेपाल पुगेको थियो। सो जहाजमा झण्डै १० हजार पाउण्ड अर्थात् ४ टन अत्याबश्यक स्वास्थ्य सामाग्री पठाइएको थियो।

अमेरिकामा भएका नेपालीहरुले दान गरेको रकम, सामान, विभिन्न सामाजिक संघ संस्थाहरुले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु गैरआवासीय नेपाली संघ, एनआरएनए अमेरिकाले संयोजन गरेर नेपाल पठाइएको थियो। र, हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौं पुगेका थिए।

अमेरिकाबाट नेपाली र परोपकारी संघ संस्थाका सहायता स्वास्थ्य सामग्रीहरु लिएर नेपाललाई हस्तान्तरण गर्न पाएकोमा नेपालस्थित अमेरिकी दूतावास, राजदूत र्याण्डी वेरी, अमेरिकाको युटास्थित युटा नेशनल गार्डसमेतले ट्वीट गरेर गर्व महसुस गरेका थिए, खुसी व्यक्त गरेका थिए। (हेर्नुहोस् ट्वीट) ।

युटा नेशनल गार्डले सामान नेपाल पुगेपछि खुसी व्यक्त गर्दै गरेको ट्वीटमा नेपाली जनतालाई सहयोग गर्ने मिसनको एउटा भाग हुन पाएकोमा युटा नेशनल गार्ड र युटा एयर गार्डले सम्मानित महसुस भएको उल्लेख गरेको छ।

त्यसैगरी सामान नेपालमा पुगेकै दिन नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले हालसम्म अमेरिकी जनताका तर्फबाट ९० मिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग कोभिड १९ विरुद्ध लड्न दिइएको उल्लेख गर्दै गैर सरकारी संस्थाहरुले दिएको जीवन बचाउने सामग्रीहरु ल्याउन पाएकोमा खुसी व्यक्त गरेका थिए।

तर, समस्यामा परेका नेपालीका लागि प्रवासमा बसेर पनि सहयोग पुर्‍याएकोमा अमेरिकाबासी नेपालीहरुले गौरव गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा ती सामग्रीहरु हस्तान्तरमै राजनीति गर्नु, भाँजो हाल्न खोज्नु र त्यसका लागि पत्रै लेख्नु ज्यादै दुखको कुरा हो।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गौरीराज जोशीले यसरी पत्रै लेखेर ती स्वास्थ्य सामग्री हस्तन्तरण कार्यक्रम रोक्न भनेका छन्। उनले आईसीसीका अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै हस्तान्तरण कार्यक्रम रोक्न आईसीसीको आपतकालीन बैठक नै बोलाउनु पर्ने पनि उनले माग गरेका छन्।(हेर्नुहोस पत्र) ।

आईसीसीको आगामी चुनावमा उम्मेद्वारलाई प्रमोट गर्ने नियतले हस्तान्तरण कार्यक्रम आयोजना गरेको देखिएको उनको पत्रमा आरोप लगाएका छन् । उनी आगामी अक्टोवरमा हुन लागेको आईसीसीको निर्वाचनमा महासचिवमा उम्मेद्वारी पनि घोषणा गरेका व्यक्ति हुन्।

उनले आईसीसीको आसन्न निर्वाचनको प्रसंग जोडेर यस्तो कार्यक्रमले उम्मेद्वारको प्रचार प्रमोसन हुने भएकाले सो कार्यक्रम हुनु नहुने जिकिर गरेका छन्। एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्षलाई लेखिएको यस्तो पत्र पुगेपछि केही व्यक्तिहरु हस्तान्तरण कार्यक्रम रोक्ने प्रयासमा पनि लागेका थिए।

एनआरएनएकै केही नेताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई कार्यक्रममा सहभागी नहुन वा कुनै हस्तान्तरण नै नगर्न लविङ गरेका थिए । तर, अमेरिकाबासी नेपालीहरु र संघ संस्थाले मातृभूमि र नेपाली जनतालाई साथ दिएको कुरालाई वेवास्ता गर्नु नहुने धारणा राख्दै मन्त्री श्रेष्ठले मन्त्रलायमै सेप्टेम्बर एक तारिमा एक कार्यक्रमको आयोजना गर्न लगाएका थिए।

हस्तान्तरण कार्यक्रममा एनआरएनए आईसीसीका अमेरिकाबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष सोनाम लामा तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा.केशव पौडेल र एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीसहितको उपस्थिति थियो। यीमध्ये डा.केशव पौडेल आगामी आईसीसी निर्वाचनमा महासचिवका उम्मेद्वार हुन्।

‘सामान हस्तान्तरण रोक्न खोजेको होइन’, गौरी जोशीले डिसी नेपालसंग भने, ‘सामान हस्तान्तरण गर्दा कुनै उम्मेद्वारलाई प्रमोट गर्न खोजेकोले सहायता सामाग्रीमा राजनीति मात्र रोक्न खोजेको हुँ।’ उम्मेद्वारलाई प्रमुख अतिथि बनाउनु उचित होइन,’ उनले थपे। सो कार्यक्रमको अतिथि आईसीसी उपाध्यक्ष सोनाम लामा थिए। उनले हालसम्म कुनै पदमा उम्मेद्वारी घोषणा गरेका छैनन्।

आईसीसी सचिवालय स्रोतका अनुसार,हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि आईसीसीका पदाधिकारीहरुलाई निमन्त्रणा पनि गरिएको थियो। पदाधिकारीमा आईसीसी सचिवका हिसावले जोशी पनि पर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *