‘सभापतिमा मेरो  उम्मेदार नयाँ इतिहास रच्नको लागि हाे’

सम्भव सिंह ठकुरी
१७ भदौ २०७८ १४:३०

काठमाडौैं। कल्याण गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदायका गुरुङ नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत हुन्।

उनले अधिवेशनको कार्यतालिका सार्वजानिक हुनुभन्दा धेरै समय अघि पार्टीको अधिवेशनमा आफू केन्द्रीय सभापति पदको उम्मेदारी दिने बताउँदै आएका थिए। बुधवार भने,उनले औपचारिकरुपमै पत्रकार सम्मेलन गरेर आफूलाई सभापति पदको उम्मेदार घोषणा गरेका छन्।

प्रखर र बौद्धिक वक्ताको छवी बनाएका गुरुङ पार्टीभित्र युवा नेतृत्व र कांग्रेस रुपान्तरणको बिषयमा धेरैपटक आवाज उठाएका छन्। १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा उनै नेतासँग डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले कुराकानी गरेको सम्पादित अंश :

१४ औँ महाधिवेशनमा आफूलाई केन्द्रीय सभापति पदको उम्मेदार घोषणा गर्नु भयो। देशभरका नेता कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ?

देशभरका नेता कार्यकर्ता मेरो सभापति पदको उम्मेदारी हुने कुराले पहिलेपनि उत्साहित हुनुहुन्थ्यो। घोषणा भएपछि झनै देश विदेशका नेताकार्यकर्ता, शुभेच्छुक संस्थाहरुले राम्रो काम गर्नु भयो भन्नुभएको छ। त्यसैगरी विश्वभरी रहनुभएका जनसम्पर्क समितिका साथीहरु, नेपाली कांग्रेसका शुभेच्छुक र प्रसंशकहरुले मलाई बधाई, शुभकामना दिनुभएको छ।

मलाई सहयोग र मतदान गर्ने बचन समेत दिनुभएको छ। यसरी देशविदेशमा रहनुभएका नेताकार्यकर्ताले अकल्पनीयरुपमा जसरी साथ, सहयोग, विश्वास दिनुभएको छ, त्यो नै मेरो सभापतिमा जित सुनिश्चित भएको महसुुुस गरेको छु।

आफूलाई सभापति पदको उम्मेदारी घोषणा त गर्नुभयो। यहाँको टिमको अन्य पदाधिकारीको घोषणा कहिले हुन्छ?

म अहिले छलफल र संवाद मै छु। केन्द्रीय महाधिवेशनको नजिक म आफ्नो टिमसहित आउँछु। त्यो भन्दा पहिले म सभापतिमा निर्वाचित भएपछि गर्ने काम र कर्तव्यको दस्तावेजसहित फेरि पत्रकार सम्मेलन गर्ने छु। त्यसपछि फेरि म आफ्नो सबै टिमसहित पत्रकार सम्मेलन गर्ने छु।

तपाईंको टिममा विशेषः युवाहरु कै प्रतिनिधित्व हुन्छ कि सबै खाले पूस्ताको प्रतिनिधित्व हुन्छ?

मेरो टिममा सबै खाले पुस्ताहरुको प्रतिनिधित्व हुन्छ। त्यसैगरी सबै भूगोल र सात वटै प्रदेशका प्रतिनिधित्व हुने गरी टिम मिलाउँछु। समग्रमा पूर्ण समावेशी टिम बन्ने छ।

अहिलेसम्म शेरबहादुर देउवा, बिमलेन्द्र निधि र तपाईंले सभापति पदको उम्मेदारी घोषणा गरिसक्नु भएको छ। संस्थापन इतर समूहबाट पनि धेरै जना आकांक्षी देखिनुभएको छ। यसरी धेरै जना सभापतिको उम्मेदारी बन्नुभयो भने त वर्तमान सभापतिलाई नै नेतृत्वमा दोहोरिन सजिलो होला नि!

जति धेरै उम्मेदार बन्नुहुन्छ त्यति नै मेरो जितको सुनिश्चितता बढ्छ। र, मेरो चहाना भनेको पनि नेतृत्व गर्र्न सक्ने सामथ्र्य धेरे जनाले गर्नसक्नु पर्छ भन्ने हो। पार्टीको नेतृत्व गर्ने चहाना धेरै जनाले गर्नु भनेको पार्टीकै हित हो।

म एउटा सामान्य मानिसले पनि यो देशको नेतृत्व र कांग्रेस जस्तो पार्टीको नेतृत्व गर्न सक्छ भनेर प्रमाणित गर्नु छ। कांग्रेस र देशको नेतृत्व गर्दै गर्दा भोलि म सामान्य मानिसबाट विशेष मानिसमा परिवर्तन हुने हैन कि म सामान्य मानिस भएर नै पार्टी र देशको नेतृत्व गर्छु।

त्यसैले अधिवेशनमा धेरै जना उम्मेदारी बन्नुभयो भने मलाई नै सजिलो हुन्छ। मलाई के लाग्छ भने मेरो प्रतिस्पर्धा आदरणीय सभापति शेरबहादुर देउवासँग नै हुन्छ।

यहाँले सभापति जित्ने आधारहरु के–के छन्?

निर्वाचनमा जित्ने पहिलो आधार भनेको भोट नै हो। कांग्रेस अधिवेशनमा नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधि निर्णायक हुन्छन्। मलाई देशभरका १६५ निर्वाचन क्षेत्र र विदेशका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने सम्भावित उम्मेदारहरुले मतदान गर्छु भन्नु भएको छ। त्यसैगरी भातृसंस्था, शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधि बनेर आउने साथीहरलेपनि मलाई मतदान गर्छु भन्नुभएको छ।

त्यसैले उहाँहरु सबैले मलाई केन्द्रीय सभापतिमा मतदान गर्नुभयो भने टिमसहित विजयी हुन्छु। त्यसैले महाधिवेशन प्रतिनिधिको मत नै मेरो जीतको आधार हो।

कल्याण गुरुङकाे उम्मेदारी बार्गेनिङको लागीमात्र हो भन्नेहरुको लागि के भन्नुहुन्छ?

मैले बारम्बार भनेको छु। कसैलेपनि कुनैपनि पदको लागि बार्गेनिङ गर्नुहुँदैन। नेपाली कांग्रेसको केन्द्रीय सभापति भनेको भोलिको नेपालको प्रधानमन्त्री बन्ने व्यक्ति हो। त्यसैले कांग्रेसको सभापति पदको उम्मेदारी घोषणा गर्दै गर्दा भोलीको प्रधानमन्त्री हुन्छु भन्ने सोच राखेर उम्मेदारी घोषण गर्नुपर्छ। र सभापतिको दायीत्व भनेको कांग्रेस नेता, क्रियाशील सदस्यमा मात्र रहँदैन।

कांग्रेस सभापतिको सम्पूर्ण देश जनताको सुन्दर भविश्य बनाउने दायित्व हुन्छ। त्यसैले मैले सम्पूर्ण नेपालीहरुको सुन्दर भविश्यको बारेमा सुन्दर नेपाल निर्माण गर्ने परिकल्पना छ। त्यसैले हामी नयाँ सोच, संस्कारअनुसार हिँड्नुपर्छ। नयाँ पुस्ताले नै यो देश र संगठनको नेतृत्व गर्नुपर्छ। हामी नयाँ इतिहास निर्माण गछौँ र गर्ने क्रममा छौँ।

त्यसैले कसैलेपनि आफ्नो उम्मेदारीलाई आफ्ना लागि आफ्नो नातेदारको लागि राजनीतिक भविश्य सुरक्षित र सुनिश्चित गर्न बार्गेनिङकोरुपमा प्रयोग गर्न हुँदैन। म १४ औँ महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदार हो। उम्मेदार दिन्छु,चुनाव लड्छु र सबैले मतदान गर्नुभयो भने निर्वाचनपनि जित्छु।

तपाईं सभापति बन्नुभयो भने,पार्टीमा नेतृत्व संगै कस्तो नीति फेरिन्छ?

नेतृत्व परिवर्तन भए व्यक्ति परिवर्तन भए तर प्रविृत्तिमा परिवर्तन हुन सकेन। मेरो चाहना के हो भने व्यक्तिसँगै प्रविृत्तिको पनि परिवर्तन हो। म एउटा सामान्य मानिसले पनि यो देशको नेतृत्व र कांग्रेस जस्तो पार्टीको नेतृत्व गर्न सक्छ भनेर प्रमाणित गर्नु छ। कांग्रेस र देशको नेतृत्व गर्दै गर्दा भोलि म सामान्य मानिसबाट विशेष मानिसमा परिवर्तन हुने हैन कि म सामान्य मानिस भएर नै पार्टी र देशको नेतृत्व गर्छु।

जमर्नीका पूर्व चान्सलर एन्गेला मर्केल जस्तै समान्य जीवन बाँच्छु। सामान्य प्रवित्तिमा रमाउँछु। तर मेरो जीवन शैलीमा समान्य हुन्छ। जीवनभर असल प्रवित्ति राखेर काम गर्छु। तर मेरो सोच, लक्ष्य र सपना बिशाल हुनेछ। त्यसैले त्यो बिशाल सोचमा सुन्दर नेपालको भविश्य देख्न र बनाउन चाहन्छु।

कांग्रेस भित्र एउटा समूह धार्मिक स्वतन्त्रता सहित हिन्दुराज्यको कुरा उठाइराखेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका केही नेताहरुपनि धर्मनिरपेक्षता र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा राख्न थालेका छन्। यो अधिवेशनमा धर्मको विषयले प्रवेश पाउँछ कि पाउँदैन?

मलाई के लाग्छ भने नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको उम्मेदारीको सन्दर्भमा कुराकानी गर्दा पछि कांग्रेसको नीति तथा कार्यक्रमहरु अधिवेशनमा पास गर्नुपर्ने हुन्छ। त्योबेला यी कुराहरुकोपनि बहस होलान्। त्यहाँ महाधिवेशन प्रतिनिधिहरुले कस्तो राय राख्नु त्यसपछि मेरो धारणा सार्वजानिक गर्ने छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *