एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा भट्टराईको उम्मेदवारी

डिसी नेपाल
१८ भदौ २०७८ १२:५८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय उप संयोजक पदमा हरिप्रसाद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि सो पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष भट्टराईले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् । एनआरएनएको १०औँ महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ ।

सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिकमैत्री एनआरएन सरोकार भन्ने मूल मन्त्रका साथ उनले आफूलाई अगाडि बढाएको बताएका छन् । एसिया प्रशान्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका समस्या समाधानका लागि सक्दो खटेको बताउँदै थप सक्रिय रुपमा लाग्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा उनले १५ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरी अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेका थिए । उनकै पहलमा कस्टकर जेल जीवन बिताइरहेका ७० भन्दाबढी नेपालीलाई स्वदेश फर्काइएको थियो ।

त्यसैगरी, महामारीका कारण जोखिममा परेका ६ हजार ३ सय बढीलाई सहयोग पुर्याएको बताउँदै उनले आफ्ना सबै कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनका प्रतिवद्धता :

१. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधि श्रमिकमैत्री बनाउने ।

२. नेपाल र एसिया प्यासिफिकको सम्बन्धमार्फत व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने ।

३. कोभिडका कारण रोजगार गुमाएका, समस्यामा परेका, बिरामी तथा जेलमा रहेका नेपालीलाई नि:शुल्क स्वदेश पठाउन अथवा रोजगार दिलाउन पहल गर्ने ।

४. नेपालीका प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायत मुलुकमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराउने ।

५. विदेशस्थित नेपाली नियोगहरुसँग एनआरएनएको सहकार्य मजबुद बनाउने ।

६. कोभिड १९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असर न्यूनीकरणका लागि स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने ।

७. नेपाली कला तथा सस्कृतिलाई विश्वमा चिनाउन पहल गर्ने ।

८. श्रमिक गन्तब्य देशमा आवतजावत गर्ने हवाई शुल्क सहुलियत बनाउने ।

९.एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने तथा विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान सुरु गर्ने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *