संकटमा रावलः सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो

डिसी नेपाल
२१ भदौ २०७८ ६:२३
260
Shares

धनगढी। आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो ।

सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि तोड्न नसक्ने तर एमाले विभाजनपछि उनको शक्ति अब पहिलाको जस्तो रहेन । एमाले विभाजनपछि माधव नेपाल समूह छाडेर संस्थापनतर्फको राजनीति थालेका उनको यही बिन्दुबाट राजनीतिक क्षयीकरण सुरु भयो । कुरा र कामको तालमेल फरक हुँदा उनीसँग राजनीतिक सम्बन्ध तोड्न कस्सिए उनलाई साथ दिनेहरू ।

राष्ट्रिय राजनीतिमा समेत अब्बल ठहरिएका एमाले नेता रावलको शक्ति अहिले दिनप्रतिदिन क्षयीकरण बन्दै छ । वर्षाैंदेखि आफूलाई साथ दिँदै आएका सहकर्मीबाट उनी अहिले टाढिएका छन् । उनी संलग्न दल एमाले अहिले सुदूरपश्चिम प्रदेशमा तेस्रो दल बन्न पुगेको छ । एमालेबाटै फुटेको नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा ठूलो दल बन्दा उनको राजनीतिक भविष्य नै चौपट हुने दिशामा अघि बढिरहेको छ । एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट सांसदहरूलाई नयाँ पार्टी जानबाट रोक्न नसक्दा उनको यो हविगत भएको हो ।

निर्वाचन आयोगले दल विभाजनपछि आफूले रोजेको दल छान्न जनप्रतिनिधिहरूलाई आज २२ गतेसम्मको समयसीमा तोकेको छ । सुदूरपश्चिममा अहिलेसम्म १३ जना प्रदेश सांसदहरूले एकीकृत समाजवादी रोजिसकेका छन् । १३ जनाले समाजवादी छान्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीको सांसद संख्या बराबर छ । कथंकदाचित आज थप एक जनाले एमाले परित्याग गरेको अवस्थामा संघीय समाजवादी सुदूरपश्चिमकै सबैभन्दा ठूलो दल बन्नेछ । एमाले उपाध्यक्ष रावलको राजनीतिक जीवनमा योभन्दा नमज्जा अरू के नै हुन सक्छ र ?

त्यसो त, आफ्ना सांसदहरू र अन्य जनप्रतिनिधि एकीकृत समाजवादीमा नजाउन् भनेर उनी सुदूरपश्चिम प्रदेशमा अड्डा नै जमाएर बसेका थिए । तर, त्यसको केही अर्थ रहेन । विसबास पात्रहरूले एक÷एक गरेर साथ छाड्दा उनको राजनीतिक जीवन नै धर्मराइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट संघीय राजधानी काठमाडौं आइपुग्दा उनको राजनीतिमा थप क्षति पुगिसकेको हुनेछ ।

सुदूरपश्चिमका एमालेको तत्कालीन माधव नेपाल समूहका १७ सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि रावल कमजोर भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली समूहका ७ सांसदसहित एमालेमा अहिले १२ सांसद छन् । ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

माधव समूहनिकट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरू तारा लामा तामाङ र प्रकाश रावलले आइतबार मात्र एकीकृत समाजवादीमा सनाखत गरेपछि एमाले तेस्रो दलमा खुम्चिएको हो । यसअघि १५ भदौमा १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, एमाले संसदीय दलका नेता प्रकाश शाह, हर्कबहादुर कुँवर (गोविन्द), कृष्ण सुवेदी एमालेमै छन् ।

यो त भयो, सुदूर प्रदेशको अंकगणितीय अवस्था । गृहजिल्ला अछाममै पनि उनले नराम्रो झट्का बेहोर्नुपरेको छ । क्षेत्र नम्बर १ बाट संघीय संसद्मा निर्वाचित रावल आफ्नै निर्वाचन क्षेत्रमा एक्लिएका छन् । उनकै निर्वाचन क्षेत्रका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले रावललाई छाडेर एकीकृत समाजवादीको यात्रा थालेका छन् ।

यस्तै, अछामका तीन जना प्रदेश सांसदले रावलको साथ छोडेका छन् । सुदूरपश्चिम प्रदेश सभामा अछामबाट समानुपातिकसहित एमालेका चार जना सांसद छन् । चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नम्बर १ (क)मा एमालेबाट हर्कबहादुर कुँवर (गोविन्द), निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट बलबहादुर सोडारी विजयी भएका थिए । एमालेबाट विजयी सोडारी एकीकृत समाजवादीमा गएका छन् । यस्तै, समानुपातिक सांसद दुर्गा कुमारी कामी र मीना कुमारी साउद एकीकृत समाजवादीमा गएका छन् ।

यस्तै, अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवरले पनि एमाले छोडेका छन् । राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *