अहिलेको उपलब्धीलाई शतप्रतिशत बनाउन काम गर्नुपर्नेछ:प्रमुख शाक्य

डिसी नेपाल
२२ भदौ २०७८ ९:०४

काठमाडौं । काठमाडौं महानगरलाई साक्षर नगर घोषणा गरिएको छ। साेमबार पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनी मार्गमा आयोजना गरिएको एक औपचारिक समारोहबीच महानगरलाई ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको हो।

स्थायी बसोबास भएका १५ बर्षदेखि ६० बर्ष उमेर ९५ प्रतिशतभन्दा धेरै व्यक्ति भएपछि त्यस्ता क्षेत्रलाई साक्षर घोषणा गरिन्छ। महानगरमा साक्षरता प्रतिशत ९६.६० छ। केन्द्रीय तथ्याङ्क विभागअनुसार ०६८ सालमा काठमाडौँ महानगरमा ८८.५२ प्रतिशत साक्षर थिए।

घोषणापछि कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, साक्षरतालाई शतप्रतिशत बनाउन आफ्नो जोड रहेको बताए। महानगरलाई गएको बर्ष फागुनमा साक्षर नगर घोषणा गर्ने हाम्रो कार्यक्रम थियो। विश्वव्यापी महामारी कोविडका कारण केही पछि आउनु प¥यो । शाक्यले भने, ‘अहिलेको प्रगतिलाई हामी बढाउँदै लैजान्छौँ । सामुदायिक सिकाइ केन्द्रको संख्या थपेर निरक्षरलाई साक्षर बनाउँदै लैजान हामीले नीति र बजेटको व्यवस्था गरेका छौँ । कतिपय कार्यक्रमको प्रतिफलपछि आउँछ।’ अहिले हामीले शिक्षामा गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल प्राप्त हुनेमा आशावादी छौँ प्रमुख शाक्यले भने।

०७७ को चैत मसान्तभित्र बागमती प्रदेशलाई साक्षर प्रदेश बनाउने योजना थियो। कोविडका कारण लक्ष्य राखिएको समयमा घोषणा गर्न सकिएन। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले, अहिले अन्य पालिकाहरु पनि साक्षर घोषणा गर्ने अभियानमा रहेको उल्लेख गरे।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गीले साक्षरतामा प्रगति भएपछि सहरी विकासको सूचकमा एक फड्को पूरा भएको उल्लेख गरिन्। साक्षर हुनेलाई साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु पर्छ । यसका लागि महानगरले काम गर्छ । खड्गी श्रेष्ठको भनाइ थियो।

कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद सुवेदी, शिक्षा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेल, शिक्षा अधिकृत मोती भट्टराईलगायत वक्ताले साक्षर व्यक्तिहरुले स्तरीय जीवन व्यतीत गर्नुलाई यसको थप प्रगतिको सूचकका रुपमा हेर्नुपर्ने उल्लेख गरे।

महानगरको वडा १८ लाई यसअघि नै साक्षर वडा घोषणा गरिसकिएको थियो । वडा २४ मा निरक्षर नरहेको शिक्षा अधिकृत भट्टराईले जानकारी दिए। ३२ वटा वडामध्ये १०, २८ र ३० मा साक्षरताको प्रतिशत ९९ छ। यिनीहरु सबैभन्दा धेरै साक्षरता भएका वडा हुन् । सबैभन्दा कम साक्षरता भएको वडा १४ हो । यस वडामा साक्षरताको प्रतिशत ९० छ।

शिक्षा विभागकाअनुसार वडा २, ७, ११ र २७ गरी ४ वटा वडामा ९८ प्रतिशत, वडा ३ र १६ गरेर २ वटा वडामा ९७ प्रतिशत साक्षर छन् । वडा १३ मा ९७.४६ प्रतिशत साक्षर छन् । वडा १, ५, ६, १५, १७, १९ र २४ गरी ७ वटा वडामा ९६ प्रतिशत साक्षर छन् । वडा ८, ९, २१, २६, २९ र ३१ गरी ६ वटा वडाको साक्षरता प्रतिशत ९५ प्रतिशत हो । वडा २० मा ९५.२५ प्रतिशत र वडा ३२ मा ९५.५ प्रतिशत साक्षर छन् । वडा ४ र १२ गरी २ वटा वडामा ९४ प्रतिशत साक्षर छन्।

साक्षरता अभियानमा सहयोग पु¥याउने सामुदायिक सिकाइ केन्द्रलाई घोषणा कार्यक्रममा सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *